पूर्वाधार तयार भएको गेटालाई बेवास्ता, डडेल्धुरामा नयाँ मेडिकल कलेज – Nepal Press
देउवाको ‘जिल्लामोह’

 पूर्वाधार तयार भएको गेटालाई बेवास्ता, डडेल्धुरामा नयाँ मेडिकल कलेज

सरकारी योजनाप्रति कैलालीबासी आन्दोलित

कैलाली । सरकारले संसदमा प्रस्तुत गरेको आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रममा गेटा मेडिकल कलेजबारे केही उल्लेख नभएपछि कैलालीमा विरोध सुरु भएको छ । सरकारले पूर्वाधार करिब तयार भएको गेटालाई व्यवास्ता गर्दै डडेल्धुरामा अर्काे मेडिकल कलेज स्थापनको घोषणा गरेको छ ।

दोधरा चाँदनीमा सहरी पूर्वाधारको निर्माण गरी आर्थिक केन्द्रको विकास गर्ने योजना ल्याएको सरकार गेटाका विषयमा भने मौन रहेको देखिएको हो । बरु ‘सुदूरपश्चिम विश्वविद्यालयको सहकार्यमा डडेल्धुरामा मेडिकल कलेज सञ्चालनमा ल्याइने छ’ मंगलबार सरकारले प्रस्तुत गरेको नीति तथा कार्यक्रममा उल्लेख छ ।

सरकारले २०६६ सालमा कैलालीको गेटामा मेडिकल कलेज स्थापनाको घोषणा गरेको थियो । भौतिक संरचना निर्माणको काम भने २०७४ सालदेखि मात्र सुरु भएको थियो । यो कलेज ६०० शैय्याको निर्माण गर्ने लक्ष्य छ ।

कलेज निर्माणका लागि सरकारले छुट्याएको ५१ दशमलव आठ हेक्टर जग्गामा रहेका रुख कटानीका लागि भएको ढिलाइलगायतका कारण सुरुको अवस्थामा कलेज निर्माणसम्बन्धी पूर्वाधार निर्माणको काम अघि बढाउन ढिलाइ भएको थियो । तर, अहिले करिब ९० प्रतिशत काम सम्पन्न भइसकेको छ ।

मेडिकल कलेज निर्माण सुरु गरिँदा आठ अर्ब ३४ करोड रुपैयाँ लागत अनुमान रहेको थियो ।

यो आयोजनाको गुरुयोजना अद्यावधिक हुँदा निर्माणको लागत अनुमान बढ्ने जनाइएको छ । अहिलेसम्म भौतिक संरचना निर्माणमा चार अर्ब ५० करोड रुपैयाँ खर्च भइसकेको छ ।

कलेज र अस्पताल सञ्चालनका लागि आवश्यक संरचना गत वर्ष नै सम्पन्न भएका छन् । अस्पताल, कलेज, छात्रावास, आवासलगायत भवनहरू तयार भइसकेका छन् । गेटा मेडिकल कलेज पूर्वाधार विकास समितिका कार्यकारी निर्देशक हेमराज पुजाराका अनुसार अहिले विद्युत्, खानेपानी र फोहोर मैला व्यवस्थापनको काम अगाडि बढेको छ ।

मेडिकल कलेज सञ्चालनमा भइरहेको ढिलाइले साढे चार अर्ब लगाएर बनाइएका संरचना जीर्ण बन्ने जोखिम छ । यस्तो अवस्थामा नीति तथा कार्यक्रममा मेडिकल कलेजको विषय नसमेटिएपछि स्थानीय आक्रोशित भएका छन् ।

एक वर्षअघि नै न्यूनतम पूर्वाधार तयार भइसकेको मेडिकल कलेज सञ्चालनबारे सरकार आफ्नो नीतिमा मौन रहनु दुर्भाग्य भएको नागरिक अगुवा प्राडा हेमराज पन्तले बताए ।

वर्षौदेखि मेडिकल कलेज सञ्चालन हुने आशामा रहेका नागरिकलाई यसले निराश बनाएको उनको भनाइ छ । ‘नीति तथा कार्यक्रमले केही सम्बोधन गर्ला कि भन्ने यहाँका नागरिकको आशा थियो, तर समेटिएन,’ पन्तले भने, ‘पूर्वाधार तयार भइसकेको ठाउँ प्राथमिकतामा नपर्नु दुःखद हो । यसले यहाँका जनतालाई निराश बनाएको छ ।’
भौतिक पूर्वाधार तीव्र गतिमा भइरहे पनि अहिलेसम्म यसको सञ्चालन मोडालिटीबारे अन्यौलता कायमै छ ।

मेडिकल कलेजका नाममा संरचना तयार भए पनि कुन मेडिकल कलेज, स्वास्थ्य विज्ञान प्रतिष्ठान वा मेडिकल विश्वविद्यालय कुन मोडेलमा सञ्चालन गर्ने भन्ने तय भएको छैन । मेडिकल कलेज, मेडिकल विश्वविद्यालय वा प्रतिष्ठान के बनाउने भन्ने टुंगो नलाग्दा सञ्चालनमा अन्योल छ । पछिल्लो समय मेडिकल विश्वविद्यालय वा स्वास्थ्य विज्ञान प्रतिष्ठान बनाउनुपर्ने यहाँका सरोकारवालाले सरकारसँग माग गर्दै आएका छन् ।

सेती प्रादेशिक अस्पतालका पूर्वमेडिकल सुपरिटेन्डेन्ट डा. गणेशबहादुर सिंहले पूर्वाधार अन्तिम चरणमा पुगे पनि सञ्चालनको नीतिगत तयारी नदेखिएको बताए । ‘कुन मोडेलमा सञ्चालन गर्ने भनेर सरकारले अहिलेसम्म नीति बनाइसक्नुपर्थ्यो, तर नीति निर्माणको कुनै तयारी देखिएन,’ उनले भने, ‘सञ्चालनमा भइरहेको ढिलाइले जनतामा निराशा पैदा गरेको छ ।’

मेडिकल कलेज, प्रतिष्ठान वा विश्वविद्यालय जुनसुकै मोडेलमा सञ्चालन गरे पनि त्यसले सुदूरपश्चिमको स्वास्थ्य उपचारको क्षेत्रमा आमूल परिवर्तन गर्ने डा. सिंहले बताए ।

चरणबद्ध आन्दोलनकाे तयारी

नीति तथा कार्यक्रममा गेटा मेडिकल कलेजको विषय उल्लेख नभएपछि स्थानीय आन्दोलित भएका हुन् । अहिले विभिन्न सरोकार समूह बनाएर आन्दोलन गरिरहेका छन् ।
बिहीबार मात्रै धनगढीमा हस्ताक्षर अभियान सुरु भएको थियो । १२ गते दिउसो १ बजे प्रधानमन्त्रीलाई ज्ञापन पत्र बुझाउने, ४ बजे एलएन चोकमा पत्रकार सम्मेलन आयोजना गर्ने कार्यक्रम तय भएको छ ।

जेठ १३ गते बिहान ८ बजे गेटा मेडिकल कलेजमा सांकेतिक विरोध स्वरूप नागरिक स्तरबाट स्वास्थ्य सेवा परीक्षण गर्ने कार्यक्रम रहेको दबाब समूहले जनाएको छ ।
यसैबीच कैलालीको गोदावरी नगरपालिकाका मेयर वीरेन्द्र भट्ट र प्रधानमन्त्री शेरबहादुर देउवाबीच भेटवार्ता भएको छ । भेटका क्रममा भट्टले प्रधानमन्त्रीसमक्ष गेटा मेडिकल कलेज छिटो सञ्चालन गरिदिन आग्रह गरेका थिए ।

प्रधानमन्त्री देउवाले आगामी संघीय सरकारको बजेट मार्फत कलेज सञ्चालन हुने बताएका छन । प्रधानमन्त्री देउवाले कलेज सञ्चालनको वातावरण सृजना गर्नेसमेत बताएका छन् ।

सञ्चालनको प्रारूप तय गर्ने

कैलालीको गेटा मेडिकल कलेज पूर्वाधार निर्माण विकास समितिको बैठकले सरकारलाई सञ्चालनको प्रारूप तत्काल तय गर्न लेखेर पठाउने निर्णय गरेको छ ।
मेडिकल कलेज पूर्वाधार निर्माण विकास समितिका कार्यकारी निर्देशक हेमराज पुजाराका अनुसार बैठकले शिक्षा मन्त्रालयलाई तत्काल प्रारूप तय गर्न लेखेर पठाउने निर्णय गरेको हो । ‘अहिले व्यापक रूपमा जनदबाब पनि सृजना भइरहेको छ,’ पुजाराले भने, ‘कानूनी प्रक्रिया टुंगो लगाएर मोडालिटी तय गर्न शुक्रबार शिक्षा मन्त्रालयलाई लिखितरूपमा आग्रह गर्नेछौं ।’

गेटामा मेडिकल कलेज सञ्चालनका लागि पूर्वाधार तयार गरिएको छ । तर सरकारले अहिलेसम्म सञ्चालनको प्रारूप भने टुंगो लगाएको छैन ।

तर, अहिलेसम्म पनि कुनै विश्वविद्यालयको सम्बन्धनमा वा छुट्टै प्रतिष्ठानको रूपमा सञ्चालन गर्ने भन्ने निक्र्यौल भएको छैन । ०६६ मा तत्कालीन सरकारले गेटा मेडिकल कलेज निर्माणको घोषणा गर्दै बजेट विनियोजन गरेको थियो । तर, आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रम मेडिकल कलेज नसमेटिएपछि थप अन्यौलता सृजना भएको हो ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर