पाल्पामा पाण्डेको ओझेलबाट उम्केपछि देखियो गैरेको ‘पावर’ – Nepal Press

पाल्पामा पाण्डेको ओझेलबाट उम्केपछि देखियो गैरेको ‘पावर’

रुपन्देही । पाल्पाका दशै स्थानीय तहमा प्रमुख प्रतिपक्षी दल नेकपा एमालेविरुद्ध पाँचदलीय बन्यो । एमालेलाई हराउन वडा तहसम्मै पाँच दलबीच गठबन्धन भएको थियो । तर, अघिल्लोपटक भन्दा यसपालि पाल्पामा एमालेले झन् धेरै मत ल्याएको छ र अघिल्लोपटक जितेका ६ वटै स्थानीय तह जोगाउन सफल भएको छ । कठिन परिस्थितिबीच पनि पाल्पामा एमालेले पाएको यो सफलताको जस पाएका छन्, युवा नेता ठाकुर गैरेले ।

ठाकुर गैरेको क्षमता अनेरास्ववियुको नेतृत्वम रहँदादेखि नै एमालेवृत्तमा बहस हुने गर्दथ्यो । अनेरास्ववियुको नेतृत्वपछि पार्टीको जिम्मेवारीमा लागेका गैरे सुरुवातदेखि नै सोमप्रसाद पाण्डेको समूहमा थिए ।

विद्यार्थी संगठनमा गैरेले देखाएको क्षमता पार्टीको नेतृत्व तथा संसदीय फाँटमा नजाँदासम्म परीक्षण नै हुन पाएको छैन । यसको मूल कारण हो, उनले सधै ‘टेको समाएका’ सोमप्रसाद पाण्डेको पछाडि लाग्नु ।

पार्टीको आठौं महाधिवेशनबाट एमालेको केन्द्रीय कमिटीमा निरन्तर रहेका उनले अहिलेसम्म कुनै संसदीय फाँटमा जिम्मेवारी पाएका छैनन् । यति लामो समय एमालेभित्र माधव नेपाल समूहमा रहेका पाण्डेको पक्षमा रहँदा सधैं गैरे अवसरबाट बन्चित भएको कतिपय एमाले कार्यकर्ताको विश्लेषण छ । पार्टीको जिम्मेवारी र संसदीय फाँटमा अग्रज भएका कारण पाण्डेलाई छोड्नुपर्ने बाध्यता हटेसँगै गैरले आफूलाई झन् सशक्तरुपमा प्रस्तुत गरिरहेका छन् ।

नेकपा एसमा लागेका सोमप्रसाद पाण्डेसँगै नगएर ठाकुर एमालेमै रहका छन् । पाण्डेको आझेलबाट मुक्त भएपछि गैरे चम्किएका छन् । नेता पाण्डे नेकपा एसका अध्यक्ष माधवकुमार नेपालका सम्धी भएका कारण पहिला एमालेमै हुँदा पनि अवसरहरुबाट गैरे बञ्चित हुनपथ्र्यो । त्यतिबेला गैरेका समर्थकहरु भनेका थिए– सोमप्रसादको तप्केनीबाट मुक्त भएका गैरेले अब आफ्नो क्षमता देखाउन पाउनेछन् । आफ्ना समर्थकहरुले गरेको विश्लेषण अहिले ठाकुरले सत्य सावित गरेका छन् ।

गैरे अहिले पार्टीको पोलिब्युरो सदस्य तथा पाल्पाको जिल्ला इन्चार्जको जिम्मेवारीमा छन् । केन्द्र, प्रदेश तथा जिल्लाको नेतृत्वमा समन्वय गरेर अगाडि बढेका उनी जिल्लाभर पाँच दलले गरेको बलियो गठबन्धन भत्काएर एमालेलाई पहिलो शक्ति बनाउन सफल भएका छन् । तर गैरेले यो जस आफ्नो मात्रै नहुने बताउँछन् ।

‘पाल्पामा पोलिटब्युरो सदस्य तथा प्रदेश सहइन्चार्ज दलबहादुर राना, प्रदेश अध्यक्ष राधाकृष्ण कँडेल, जिल्ला इन्चार्ज धनेन्द्रराज घिमिरेसहितको सिंगो टीमले काम गरेको हो, मैले इन्चार्जको हैसियतमा समन्वय गरेको हुँ, टिमवर्कका कारण यो नतिजा आएको हो’, गैरेले भने ।

अघिल्लो स्थानीय तहको निर्वाचनमा पाल्पामा एमालेले ६ पालिकामा जितेको थियो । अहिलेको कठिन परिस्थितिमा पनि त्यो संख्या घटेन, एमालेबाहेकका सबै शक्ति वडा तहसम्म लिखित घोषणा गरेर गठबन्धन गरेको अवस्था थियो तर कठिन मेहनतले नतिजा हाम्रो पक्षमा आयो, केही पालिकामा अझै हामीले पाउने संभावना थियो, झिनो मतान्तरले नेतृत्व गुमाएका छौं’, उनले भने ।

गैरेका अनुसार पाल्पामा एमालेको बलियो संगठनात्मक जनाधार, गठबन्धनविरोधी स्थानीयको मत र यसअघि एमाले नेतृत्वमा रहेका स्थानीय सरकारले गरेका सकारात्मक काम नै अहिले जितका मुख्य आधार हुन् ।

कहाँ कहाँ कसले जित्यो ?

सत्तासाझेदार दलहरुले गठबन्धन गरेर जिल्लाका १० मध्ये नेपाली कांग्रेसले ६, नेकपा माओवादी केन्द्रले २ र नेकपा एकीकृत समाजवादीले २ स्थानीय तहमा प्रमुख पदको भागबण्डा गरेका थिए ।

रामपुर र तानसेन नगरपालिका, रैनादेवी छहरा, बगनासकाली, माथागढी र निस्दी गाउँपालिकाको प्रमुखमा कांग्रेस, तिनाउ र रिब्दीकोट गाउँपालिकामा माओवादी केन्द्र र पूर्वखोला र रम्भा गाउँपालिकामा एकीकृत समाजवादीबाट प्रमुख पदको उम्मेदवार थिए । तर बगनासकाली, माथागढी, निस्दी, तिनाउमा एमालेले जितेको छ ।

पूर्वखोला र निस्दी गाउँपालिकामा त एमालेले सत्ता गठबन्धनलाई क्लिनस्वीप नै गरेको छ । पाल्पामा एमालेका तत्कालीन नेता एवं पूर्वमन्त्री सोमप्रसाद पाण्डे एकीकृत समाजवादीमा गएको र सत्तागठबन्धनले साझा उम्मेदवार उठाएकाले गठबन्धनका उम्मेदारले एमाले हराउनसक्ने आंकलन गरिएको थियो । दलहरुले एमालेलाई रोक्न २०७४ को नतिजा र वर्तमान संगठनात्मक अवस्था हेरेरै भागबण्डा गरेका थिए ।

गठबन्धनबाट एकीकृत समाजवादीले मीनप्रसाद गिरीलाई अध्यक्ष उठाएको पूर्वखोला गाउँपालिकामा एमालेले क्लिनस्वीप गरेको छ ।

गठबन्धनका गिरीले एक हजार २५७ मत पाउँदा झण्डै पाँच गुणा बढी मतसहित एमालेका नुनबहादुर थापाले जिते । अध्यक्ष दोहोरिएका थापाले गठबन्धनका उम्मेदवारविरुद्ध ६ हजार ३९ मत ल्याए । उपाध्यक्षमा पनि एमालेका भागिरथी शर्माले फराकिलो अन्तरले जितिन् ।

शर्माले पाँच हजार ८९४ मत ल्याएर जित्दा कांग्रेसका विष्णुकुमारी आचार्यले दुई हजार २५० मत मात्रै ल्याइन् । थापा र शर्माले ०७४ मा जित्दा ल्याएको भन्दा धेरै मत ल्याए । मतान्तर बढ्दा पूर्वखोला गाउँपालिकाका ६ वटै वडामा एमालेका उम्मेदवार मात्रै विजयी भए ।

पूर्वखोलापछि निस्दी गाउँपालिकामा पनि एमालेले गठबन्धनलाई क्लिनस्वीप गरेको छ । यो पालिकामा भने गठबन्धनबाट कांग्रेसका गोविन्दप्रसाद अर्याल उम्मेदवार थिए । तर अर्यालले तीन हजार ४६६ मत पाउँदा एमालेका मुक्तबहादुर सारुले ६ हजार ६५२ मत ल्याएर अध्यक्ष जिते ।

२०७४ मा पनि एमालेबाट मुक्तबहादुर नैैै उम्मेदवार थिए । त्यसबेला कांग्रेसका शालिकराम पाण्डेले दुई हजार ९२३ मत पाउँदा उनले पाँच हजार ३२० मत ल्याएर जितेका थिए । यसपटक गठबन्धन हुँदा पनि कांग्रेसले एमालेलाई रोक्न सकेन ।

उपाध्यक्षमा त माओवादी केन्द्रका रामप्रसाद खत्रीभन्दा एमालेकी तीरनकुमारी श्रेष्ठले झण्डै आठ गुणा बढी मत ल्याएर जितिन् । गठबन्धनका उम्मेदवार खत्रीले ८३० मत पाउँदा एमालेकी श्रेष्ठले ६ हजार ६३८ मत ल्याइन् । यो पालिकामा पनि गठबन्धनका कोही उम्मेदवारले जित्न सकेन ।

त्यसैगरी अन्य पालिकामा पनि एमालेले यसपटक मत बढाएको छ । २०७४ मा कांग्रेसले जितेको माथागढी गाउँपालिकामा यसपटक एमालेका यमबहादुर चिदीले जितेका छन् । गठबन्धनले २०७४ मा अध्यक्ष जितेका सन्तोषकुमार थापालाई नै उम्मेदवार बनाएको थियो । तर कांग्रेसका थापाले पाँच हजार ५५४ मत ल्याउँदा एमालेका चिदीले ६ हजार १०९ मत ल्याएर नतिजा आफ्नो पक्षमा पारे ।

२०७४ मा कांग्रेस एक्लै चुनावी प्रतिस्पर्धामा उत्रँदा थापाले एमालेका विमलप्रसाद काफ्लेभन्दा दुई हजारभन्दा बढी मत ल्याएर अध्यक्ष जितेका थिए । त्यसबेला थापाले ६,७९९ मतसहित अध्यक्ष जित्दा एमालेका काफ्लेले तीन हजार ८०६ मत ल्याएका थिए । यसपटक भने गठबन्धन हुँदा पनि एमालेले यो पालिका जित्यो ।

तिनाउ गाउँपालिकामा गठबन्धनबाट माओवादी केन्द्रका नेता राजेश श्रेष्ठलाई हराउँदै पनि एमालेले जितेको छ । माओवादी केन्द्रका राजेशले चार हजार ४६६ मत पाउँदा एमालेका प्रेम श्रेष्ठले पाँच हजार ९० मत ल्याएर जितेका हुन् । यसअघि पनि यहाँ एमालेले जितेको थियो ।

२०७४ मा कांग्रेसले जितेको रामपुर नगरपालिकामा निवर्तमान मेयर रमणबहादुर थापा विजय भएका छन् । गठबन्धनको तर्फबाट नेपाली कांग्रेसबाट उनी उम्मेदार बनेका थिए ।

२०७४ मा कांग्रेसले जितेको अर्को गाउँपालिका बगनासकालीमा पनि एमालेकै सरस्वती दर्लामीले जितेकी छन् । यसअघि एमालेले नै जितेको रम्भा गाउँपालिकामा पनि एमालेले जितेको छ । रम्भा गाउँपालिका प्रमुखमा एमालेका उम्मेदवार विष्णुप्रसाद भण्डारी ५,५८६ मत ल्याई विजयी भएका छन् । उनले निकटतम प्रतिद्वन्द्वी गठबन्धनबाट नेकपा एसका उम्मेदवार दुर्गाप्रसाद अधिकारीलाई १,०४४ मतान्तरले पराजित गरेका हुन् । पराजित दुर्गाप्रसाद अधिकारीले ४,५४२ मत ल्याएका छन् ।

यस्तै उपाध्यक्षमा नेपाल कम्युनिष्ट पार्टी (एमाले)की उम्मेदवार राधाकुमारी श्रेष्ठ ५,७१९ मत सहित विजयी भएकी छन् । उनका निकटतम प्रतिद्वन्द्वी नेपाली कांग्रेसका उम्मेदवार विष्णुकुमार थापाले ५,०५८ मत ल्याएका छन् । तर यसअघि एमालेले जितेको तानसेन नगरपालिका एमालेले गुमाएको छ । रैनादेवी छहरा गाउँपालिकामा कांग्रेससँग र रिब्दीकोट गाउँपालिका माओवादी केन्द्रसँग एमाले पराजित भएको छ । ०७४ मा रैनादेवीमा कांग्रेस र रिब्दीकोटमा एमालेले जितेको थियो ।

योसँगै पाल्पामा एमालेको एकल जिल्ला समन्वय समिति बन्ने भएको छ । १० पालिकाका २० पदमा ११ र ८१ वडामध्ये ४३ वटामा एमालेले जितेको छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर