जनस्वास्थ्यमा स्नातकाेत्तर बम वडा सदस्यमा निर्वाचित,  भन्छन्- राजनीतिलाई ट्रयाकमा ल्याउन शिक्षित युवा अघि बढ्नु पर्छ – Nepal Press

जनस्वास्थ्यमा स्नातकाेत्तर बम वडा सदस्यमा निर्वाचित,  भन्छन्- राजनीतिलाई ट्रयाकमा ल्याउन शिक्षित युवा अघि बढ्नु पर्छ

कैलाली । राजनीति गर्न शैक्षिक योग्यता आवश्यक पर्छ र ? सबैको उत्तर हुन्छ, पर्दैन । तर, कैलालीकाे घाेडाघाेडी नगरपालिका वडा नं १० मा जनस्वास्थ्यमा स्नातकाेत्तर गरेका राेहित बमले वडा सदस्यमा उम्मेदवारी दिएका छन् । मत परिणाममा उनी विजयी पनि भए । एसएलसीसमेत पास नगर्ने व्यक्ति प्रधानमन्त्री हुने नेपालमा स्नातकाेत्तर गरेका बमले वडा सदस्य निर्वाचित भएपछि राजनीति गर्न शैक्षिक योग्यता आवश्यक पर्नेमा जाेड दिन्छन् । शिक्षित व्यक्ति राजनीतिमा नहुँदा नेपालकाे राजनीति सही बाटोमा नगइरहेको उनको बुझाइ छ ।

घोडाघोडी नगरपालिका वडा नम्बर १० को वडा सदस्यमा निर्वाचित भएपछि बमलाई अहिले सबैले प्राज्ञिक जनप्रतिनिधि भन्न थालेका छन् । उनले भारतको गुजरातस्थित पारुल विश्वविद्यालयबाट जनस्वास्थ्यमा स्नातकोत्तर गरेका छन् । वडामा खसेको क्ल २ हजार ९१४ मतमध्ये उनले खुला सदस्य दोस्रोतर्फ ९०२ मत पाएका थिए ।

निर्वाचन प्रचारका क्रममा पनि उनलाई प्राज्ञिक उम्मेदवारको रूपमा सबैले लिने गरेका थिए । उनले धनगढीस्थित शैल्यश्वरी फारवेस्ट स्कुल अफ हेल्थ साइन्स एन्ड टेक्नोलोजीमा अध्यापन गर्दै आएका थिए । स्थानीय तह निर्वाचनमा उम्मेदवार बन्ने भएपछि उनले विद्यालयबाट राजीनामा दिएका थिए ।

३० वर्ष उमेर नपुगेका उनी समाजसेवा गर्ने रहरका कारण आफू उम्मेदवार बनेको बताउँछन् । ‘अहिले नेता बन्न शैक्षिक योग्यता चाहिँदैन । प्रायः शिक्षित व्यक्तिहरु जागिरमा र अशिक्षितहरू जति राजनीतिमा लागिरहेका छन् । यो अवस्थामा परिवर्तन गर्न मैले उम्मेदवारी दिएको हुँ’, उनले भने, ‘शिक्षित व्यक्तिहरू पनि राजनीतिमा आउनु पर्छ । अनिमात्रै राजनीतिले सही दिशा लिन्छ ।’

राजनीतिलाई सही ट्रयाकमा ल्याउन शिक्षित युवाहरु राजनीतिमा आउनैपर्ने उनी बताउँछन् । यस पटक वडा सदस्यमा निर्वाचित भएका बमले अर्को पटक वडाध्यक्षमा उम्मेदवारी दिने बताए ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर