तुलसीपुर मेयरका एमाले उम्मेदवारसँगको कुराकानी, भन्छन्- चुनौती सामना गर्नुको मजै बेग्लै छ – Nepal Press

तुलसीपुर मेयरका एमाले उम्मेदवारसँगको कुराकानी, भन्छन्- चुनौती सामना गर्नुको मजै बेग्लै छ

टीकाराम खड्का तुलसीपुर १८ अक्कासेका भूमिहीन सुकुम्बासी हुन् । १२ वर्षको उमेरदेखि कम्युनिष्ट राजनीतिमा लागेका खड्का सादगी नेताका रुपमा परिचित छन् । खड्कालाई नेकपा एमालेले महासचिव शंकर पोखरेलको घर भएको तुलसीपुर उपमहानगरपालिकाको मेयर उम्मेदवार बनाएर चुनावी मैदानमा पठाएको छ । प्रस्तुत छ मेयर उम्मेदवार टीकाराम खड्कासँग नेपाल प्रेसले गरेको कुराकानी नेपाल टकमा ।

तपाईंको उम्मेदवारी किन ?

तुलसीपुरको समग्र विकास गर्दै उपमहानगरको मुहार फेर्ने जिम्मेवारी बहन गर्न मेरो उम्मेदवारी हो । तुलसीपुरलाई शिक्षा र स्वास्थ्यको हबका रुपमा विकास गरिएको छ । प्राविधिक धारका युग सुहाउँदा पर्याप्त शैक्षिक कार्यक्रम सुरु भइसकेका छन् । यसलाई थप प्रभावकारी बनाउँदै बाँकी जनपक्षीय काम गर्न हाम्रो उम्मेदवारी हो ।

तपाईं विजयी हुनुभयो भने के के काम गर्नुहुन्छ ?

पहिलो काम सुकुम्बासीलाई जग्गाधनी लालपुर्जा उपलब्ध गराउने हो । किसान र भूमिहीनलाई जग्गाको मालिक बनाउने एमालेको अभियानमा अवरोध सिर्जना गरिएको छ ।

२०५१ सालमै जग्गाधनी पुर्जा दिएर एमालेले काम गरेरै देखाएको छ । सुकुम्बासी, भूमिहीन किसानलाई पुर्जा दिने काम गर्नेछौं किनभने म स्वयं सुकुम्बासी हुँ । त्यसको पीडा मलाई अझै धेरै थाहा छ । त्यो समस्या समाधान गर्ने पहिलो प्राथमिकता हो ।

अर्को एक घर एक धारा पुर्याउने र त्यसका लागि खानेपानी आयोजना निर्माण, व्यवस्थापनको काम गर्ने, तार केबलका कारण तुलसीपुर अस्तव्यस्त देखिन्छ ।

भूमिगत रुपमा केबल विस्तार गरेर हराभरा सहर निर्माण गर्ने, सार्वजनिक जमिनको संरक्षण गर्दै कृषिलाई आधुनिकीकरण गर्ने, कृषिलाई यान्त्रिकीकरण, व्यवसायीकरण गर्दै कृषिजन्य उत्पादनको बजारीकरण गर्ने, चिस्यान केन्द्र निर्माण, कृषिमा अनुदानको व्यवस्थापन, ज्येष्ठ नागरिकलाई घरमै स्वास्थ्य सेवा, युवा जनशक्तिको सदुपयोग गर्ने र उनीहरुलाई स्वरोजगारमा जोड्ने, गरिब र विपन्न परिवारलाई निःशुल्क उपचार सेवा, तुलसीपुरमै सञ्चालित मेट्रो अस्पतालबाटै विशेषज्ञ सेवा दिएर उपचारका लागि बाहिर जानुपर्ने अवस्थाको अन्त्य गर्नेछौं ।

यसैगरी आईटीको जमाना छ । विभिन्न प्रविधिलाई सदुपयोग गर्दै उपमहानगरलाई डिजिटलाइज्ड गर्ने, ज्येष्ठ नागरिकलाई घरमै सामाजिक सुरक्षा भत्ता पु¥याउने, संघ, प्रदेश र स्थानीय तहबाट निर्माण भएका कच्ची सडकलाई कालोपत्रे गर्ने, सुकौराकोट, छिल्लीकोट जस्ता पर्यटकीय क्षेत्र र मन्दिर, गुम्बा, मस्जिद, चर्चहरुको संरक्षण गर्दै तुलसीपुरलाई सबै जाति, भाषा, धर्मको साझा फूलबारीको रुपमा स्थापित गर्ने काम हामीले गर्नेछौं ।

तपाईंको पार्टीविरुद्ध सत्तागठबन्धन छ । कसरी सामना गर्नुहुन्छ ?

राजनीति भनेकै चुनौतीपूर्ण हुन्छ । मैले जन्मेदेखि नै ठूल्ठूला चुनौतीको सामना गर्दै यहाँसम्म आइपुगेको छु । डेढ वर्ष हुँदा आमा गुमाएँ । १४ वर्ष हुँदा बुवा गुमाएर एक्लो बनेको म आज संघर्ष, चुनौतीको सामना गर्दै यहाँसम्म आइपुगेको छु । हरेक प्रतिकूलतामा रमाउन जानेरै यहाँ आइपुगेको हुँ । हरेक अप्ठेरोमा उभिनसक्छु । म गठबन्धनसँगै लडेर पहिलो बन्नेछु । गठबन्धन जतिसुकै होऊन्, तुलसीपुरका जनता टीकारामकै पक्षमा हुनुहुन्छ ।

गठबन्धनलाई परास्त गरेर तपाईंले जित्ने आधार के के हुन् ?

आधार भनेको जनताको विश्वास हो । पहिलो कुरा म जमिनदारसँग चुनाव लड्दैछु । नेपाली कांग्रेसका नेता, जसले आफ्नै जमिन बाँझो राखेर अस्तव्यस्त राख्नुभएको छ । म सुकुम्बासी, भूमिहीन मान्छे हुँ । म पञ्चायतको विरुद्ध लडेँ । लोकतन्त्रको पक्षमा लडेँ । गणतन्त्र प्राप्तिका लागि लडेँ ।

४३ वर्षको मेरो संघर्ष आम मतदाताले चिन्नु भएको छ, देख्नु भएको छ । मैले चिनाउनै पर्दैन । समाजका हरेक वर्ग, समुदायले मेरो व्यवहार महसुस गर्नुभएको छ । मैले कसैसँग रिसाउन जानेको छैन, यो फरक विचारको भनेर कहिल्यै छुट्याइँन, कसैलाई विभेद गरेन, फरक विचार राख्नेहरुसँग पनि हातेमालो गरेर जिल्लाको विकासका लागि काम गरेको छु । मैले थुप्रै चुनावको नेतृत्व गरेर पछिल्ला दिनमा नेकपा एमालेलाई ठूलो पार्टीका रुपमा स्थापित गराएँ । धेरैलाई मैले नेतृत्वमा स्थापित गरेँ ।

यसअघि पनि कांग्रेसलगायत पार्टीसँग चुनाव लडेकै हो, अहिले पनि उनै त हुन् । अझ भन्ने हो भने मेरो प्रतिस्पर्धी जनताले मौका दिएर परीक्षण गरिसकेका हुन्, देखिसक्नु भएको छ । त्यसैले म पहिलो हुनेमा शंका छैन । जनताको विश्वासलाई शीरोपर गरेर सुन्दर सहर निर्माण, सुशासनयुक्त प्रशासन, भ्रष्टाचारमुक्त उपमहानगर बनाउनेछु ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर