५० वर्षदेखिका निरन्तर वडाध्यक्ष नरसिंह व्यञ्जनकार भन्छन्- जनतालाई चिया पिलाएरै चुनाव जित्छु (भिडिओ) – Nepal Press

५० वर्षदेखिका निरन्तर वडाध्यक्ष नरसिंह व्यञ्जनकार भन्छन्- जनतालाई चिया पिलाएरै चुनाव जित्छु (भिडिओ)

काठमाडाैं । ८१ वर्षीय नरसिंह व्यञ्जनकारले सानो टिकटिके मोबाइल सेट बोकेका छन् । सेटमा लगातारजसो फोन आइरहन्छ । केही समय पहिला स्थानीय जनताका फोन बढी आउँथ्यो उनलाई । पछिल्ला केही दिनमा भने मिडियाबाट ।

फोन उठाउने, मिडियाकर्मीले राखेको जिज्ञासाको जवाफ दिने, टोलका घरघरमा जाने, सञ्चो बिसन्चो सोध्ने र यसपटक फेरि आफू वडाध्यक्षमा उठेको जानकारी गराउने । व्यञ्जनकारको पछिल्लो समयको दैनिकी यस्तै छ ।

उनले ललितपुर महानगरपालिकाको वडा नम्बर १० अन्तर्गत अध्यक्षमा उम्मेदवारी दिएका छन् । यो उम्मेदवारी उनका लागि कुनै नौलो विषय होइन । ५० वर्षदेखि कुनै स्थानीय चुनाव लड्न छुटाएका छैनन् उनले । पहिलोपटक २०२९ सालमा अध्यक्ष जितेपछि व्यञ्जनकारको स्वतन्त्र राजनीतिक यात्रा अगाडि बढेको थियो । अहिले पनि हार्छु भनेर कुनै चिन्ता छैन उनलाई । भन्छन्, ‘जनताले मलाई नै निर्वाचित गर्नेमा ढुक्क छु ।’

पञ्चायतमा चुनाव जिते पनि २०३६ सालको जनमतसंग्रहमा बहुदलको पक्षमा उभिए उनी । पदबाट राजीनामा दिए । त्यसबेला कांग्रेस नेता ओमकार श्रेष्ठहरुको संगतमा थिए । जनमत संग्रहको चुनाव नजिकिँदै थियो, व्यञ्जनकार लागिरहेका थिए । चुनावको अघिल्लो दिन ओमकारलगायत सात जनालाई प्रहरीले समात्यो । र, थुनिदियो ।

व्यञ्जनकार आफूले जित्नेबारे थप तर्क गर्छन्, ‘राजनीतिक पार्टीको टिकट पैसा नछरिकन पाइँदैन । नेताहरूलाई त ६–६ महिनामा चुनाव आए हुन्छ । चुनाव आएपछि उनीहरुलाई आम्दानी हुने हो । यो कुरा जनताले बुझिसके । तर, नेताहरुले पहिला बुझ्नुपर्ने हो, अझै बुझिसकेका छैनन् ।’

यसपटक वडा अध्यक्ष जित्दै गर्दा उनको विशेष योजना भनेको यूएन पार्कलाई अझै सुन्दर बनाउने र बागमती सफा गर्ने हुन् । भन्छन्, ‘बागमतीलाई हेर्नुस्, एडीबीबाट एक अर्ब ५७ करोड आयो । तर, यहाँको गति उस्तै छ । म निर्वाचित भएर आउनासाथ पहिला त्यसमा हात हाल्छु ।’

यूएन पार्कको खुला ठाउँ पनि व्यञ्जनकार स्वयंको पहलमा जोगिएको हो । यदि आफूले दह्रो अडान नलिएको भए त्यो खाली जग्गा भू–माफियाको हातमा जाने उनको दाबी छ । यूएन पार्कको खाली जग्गा बचेकैले बच्चादेखि वृद्धसम्म बिहान आएर जगिङ गर्छन् । चिल्ड्रेन पार्कमा केटाकेटी उफ्रिन्छन् ।

यूएन पार्क जोगाउँदाको प्रसंग सुनाउँछन् व्यञ्जनकार, ‘नेपाल संयुक्त राष्ट्रसंघमा गएको ५० वर्ष पुगेको उपलक्ष्यमा सरकारले एउटा पार्क बनाउने योजना ल्यायो । मैले यहाँको जग्गा देखाइदिएँ । तर, यहाँ विवाद भयो । व्यक्तिले लालपुर्जा लिइसकेको रहेछ । पैसाको अघि सत्य नहुनेरहेछ । तर, मेरो विशेष मान्छे इन्द्रकुमार श्रेष्ठले मालपोतको हाकिमलाई लालपुर्जा क्यान्सिल गराएरै छाड्नुभयो ।’

तर, अहिलेको परिस्थिति २०२९ सालको जस्तो छैन । परिवेश बदलिएको छ । पैसा नभई चुनाव जित्न नसकिने माहोल बनेको छ । व्यञ्जनकारलाई पनि शंका लाग्छ कहिलेकाहीँ कि मान्छेले धर्म छाडेका छन्, जनताले सुख नपाउलान् ।

यसपटक पनि जनताले आफैंलाई अनुमोदन गर्ने विश्वास भए पनि खर्च चाहिँ गर्ने सुरुमा छैनन् व्यञ्जनकार । अहिलेसम्म खर्च गरेर चुनाव लडेका पनि छैनन् ।

उनी प्रश्न गर्छन्, ‘खर्च केमा गर्ने ? कतिजनालाई खुवाउने ? आज एक छाक त जहाँबाट पनि ल्याएर खुवाउँला । तर, मैले यसरी खुवाएँ भने उनीहरुको बानी बिग्रिन्छ । मैले खुवाएँ नै भने पनि चियासम्म खुवाउने हो ।’

व्यञ्जनकार स्वयंले नै भोज खुवाउने चलनलाई बन्द गराएका थिए । २०४९ सालमा उनकै छिमेकी वडाका अध्यक्षले राँगा काटेर भोज खुवाएपछि उनले सम्झाए, ‘त्यसो नगरौं । राँगाको मासु खुवाएर चुनाव जित्यो भनेर मान्छेले हल्ला गर्छन् ।’ यसपछि राँगा काटेर भोज खुवाउने परिपाटी बन्द भयो ।

व्यञ्जनकार थप्छन्, ‘२०७९ सालको चुनाव चिया पिलाएरै जित्छु । जनताले यूएन पार्कको महत्व बुझेका छन् । तर, कसैकसैले बुझ पचाउँछन् पनि । मलाई खत्तम देखाए आफ्नो पालो आउँछ भनेर लागेका छन् । तर, म पतन हुनासाथ यहाँ गुण्डा आएर खत्तम बनाउँछन् । त्यसैले जनताले मलाई नै चुन्छन् ।’

व्यञ्जनकारले २०२९ सालमा पहिलो चुनाव जितेका थिए । त्यसअघि उनी ठेक्कापट्टा गर्थे । त्यसबेला चुनाव जित्न सहज भएको अनुभूति छ उनको । अहिले भने चुनाव भ्रष्टीकरण भएर गाह्रो हुँदै गएको बताउँछन् ।

पञ्चायतमा चुनाव जिते पनि २०३६ सालको जनमतसंग्रहमा बहुदलको पक्षमा उभिए उनी । पदबाट राजीनामा दिए । त्यसबेला कांग्रेस नेता ओमकार श्रेष्ठहरुको संगतमा थिए । जनमत संग्रहको चुनाव नजिकिँदै थियो, व्यञ्जनकार लागिरहेका थिए । चुनावको अघिल्लो दिन ओमकारलगायत सात जनालाई प्रहरीले समात्यो । र, थुनिदियो ।

जसोतसो चुनाव भयो । तर, बहुदलको पराजय भयो । फेरि २०३९ सालमा चुनाव भयो, व्यन्जनकार निर्विरोध भए । तर, एक वर्षपछि प्रधानपञ्चसँग कुरा मिलेन, राजीनामा दिए । उक्त रिक्त स्थानमा फेरि एक वर्षपछि चुनाव हुने भयो । व्यञ्जनकार चुनाव लड्ने मनसायमा थिएनन् । स्थानीयले कुपण्डोलको हनुमानथान मन्दिरमा लगेर कसम खुवाए, ‘चुनाव लड्छु’ भन्न लगाए । र, जिते पनि ।

२०४६ सालमा जनआन्दोलन भयो । यसबेलासम्म व्यञ्जनकारको कांग्रेस नेताहरुसँग हिमचिम थियो । गणेशमान सिंहको घरमा मिटिङ बस्दा कृष्णप्रसाद भट्टराईले भने, ‘तपाईंले चाहिँ राजीनामा नदिनुस् ।’ उनले दिएनन् पनि ।

२०४९ सालको चुनाव आयो । कृष्णप्रसादले नै व्यञ्जनकारलाई टिकट दिलाइदिए । निर्विरोध निर्वाचित भए । फेरि २०५४ सालमा चुनाव भयो । यसपटक भने २०३६ सालमा सँगै काम गरेका ओमकार श्रेष्ठ जिल्ला सभापति भइसकेका थिए । उनै श्रेष्ठले व्यञ्जनकारलाई टिकट दिएनन् ।

आक्रोशित हुँदै व्यञ्जनकार भन्छन्, ‘त्यसबेला पाँच सय दाममा टिकट बिक्री गरे । अहिले नाम खुलाएर मान्छेको बेइज्जत गर्न चाहन्नँ । म मेयरसँग बसिरहेको बेला ऊ सरासर आएर मलाई मुख छाड्यो, पछि हेरौंला भन्यो । पछि हेर्ने भनेको टिकट नदिने भनेको थियो । मैले टिकट नपाउने भएपछि सबैको संगत छाडिदिएँ । तर, विकासको काममा जनतासँगको सहकार्य छाडिनँ ।’

अर्कोपटक पनि व्यञ्जनकारको झगडा भयो । पर्यवेक्षकहरुसँग बसिरहेका थिए । व्यञ्जनकारले नाम खुलाउन नचाहेका ती मान्छे आएर उनलाई जथाभावी गाली गरे । उनले भने, ‘जनताले अनफिट भनेर दुई दुईपटक फालेको तिमीजस्तो मान्छे मसँग झगडा गर्न सुहाउँदैन ।’

व्यञ्जनकार आफूले जित्नेबारे थप तर्क गर्छन्, ‘राजनीतिक पार्टीको टिकट पैसा नछरिकन पाइँदैन । नेताहरूलाई त ६–६ महिनामा चुनाव आए हुन्छ । चुनाव आएपछि उनीहरुलाई आम्दानी हुने हो । यो कुरा जनताले बुझिसके । तर, नेताहरुले पहिला बुझ्नुपर्ने हो, अझै बुझिसकेका छैनन् ।’

व्यञ्जनकारको झगडाबारे सबै जनताले थाहा पाए । उनलाई थुप्रै नेताहरुका फोन आयो, जसरी पनि उठ्नू । कांग्रेस नेता रामचन्द्र पौडेलले फोन गरेरै सम्झाएका थिए । अन्ततः स्वतन्त्र उम्मेदवारी दिए । चुनावको बेला टोलटोलमा भ्रष्टाचार गर्‍यो भनेर अनेक पर्चाहरु बाँडे । तर, व्यञ्जनकारले नै चुनाव जिते । त्यसबेला कांग्रेसबाट इन्द्रेश्वर अमात्य र एमालेबाट महेश्वर श्रेष्ठ उठेका थिए ।

२०५९ सालमा पनि वडाध्यक्ष पुनः मनोनीत भए । गत स्थानीय तह निर्वाचनमा व्यञ्जनकारले नै जिते । यसपटक पनि उठेका छन् । आफूले जित्नेमा विश्वस्त छन् ।

अर्को चुनाव २०८४ सालमा हुनेछ । व्यञ्जनकार फेरि उठ्छन् त ?

भन्छन्, ‘अर्को चुनावमा शरीर कस्तो हुन्छ, त्यसले अर्थ राख्छ । कामै गर्न नसक्ने भएँ भने त पद लिएरमात्रै भएन । राति कुनै मान्छेलाई केही समस्या पर्ला, दौडिएर जानुपर्‍यो । दश–पाँचको अफिस गरेरमात्रै पुग्दैन नि ! मैले सक्ने स्थिति रह्यो भने लडिन्छ । तर, अहिले नै मान्छेहरु काम गर्न सक्दैनन् भनेर हल्ला गरिरहेका छन् । काम गर्न सक्छु कि सक्दिनँ भनेर जनतालाई सोध्ने हो, हल्ला गरेर हिँड्ने होइन ।’

फोटो/भिडिओ : नविनमुनी स्थापित ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published.