लुम्बिनीका १०९ पालिकामा १२ जना महिला प्रमुख पदका उम्मेदवार, एमालेबाट सबैभन्दा धेरै – Nepal Press

लुम्बिनीका १०९ पालिकामा १२ जना महिला प्रमुख पदका उम्मेदवार, एमालेबाट सबैभन्दा धेरै

रुपन्देही । लुम्बिनी प्रदेशमा मुख्य राजनीतिक दलहरुले प्रमुख पदमा महिलालाई निकै कम स्थान दिएका छन् । यहाँका १०९ पालिकामध्ये मुख्य राजनीतिक दलहरुले १२ जना महिलालाई प्रमुखमा उम्मेदवार बनाएका छन् । जसअनुसार नेकपा एमालेले ६, माओवादी केन्द्र र जसपाले २–२ तथा नेपाली कांग्रेस र नेकपा एकीकृत समाजवादीले समान एउटा पालिकामा महिलालाई प्रमुख उठाएका छन् ।

कांग्रेस, माओवादी केन्द्र, नेकपा एकीकृत समाजवादी, जनमोर्चा तथा जसपाको सत्ता गठबन्धनले संवैधानिक रुपमा पालिका प्रमुख वा उपप्रमुखमध्ये एक महिला हुनुपर्ने प्रावधानसमेत मिचिँदा महिलाहरु नेतृत्वमा आउनबाट बञ्चित भएका छन् ।

एमालेबाट ६ जना महिलाले प्रमुख र १०४ जना महिलाले उपप्रमुखमा उम्मेदवारी दर्ता गरेका छन् । रुपन्देहीको लुम्बिनी सांस्कृतिक नगरपालिकामा एमालेबाट मेयर र उपमेयर दुवैमा महिलाको उम्मेदवारी परेको छ । यहाँ रमावती यादवले मेयरमा उम्मेदवारी दिएकी छन् ।

एमाले प्रदेश कमिटीका अनुसार नवलपरासीको सुनवल नगरपालिकाको मेयरमा विमला अर्याल, बाँकेको डुडुवा गाउँपालिका अध्यक्षमा सरोजकुमारी यादव, नरैनापुर गाउँपालिका अध्यक्षमा पदमावती यादव, पाल्पाको बगनासकाली गाउँपालिका अध्यक्षमा सरस्वती चिदीले उम्मेदवारी दर्ता गराएका छन् ।

अघिल्लो निर्वाचनभन्दा यस पटक प्रमुखमा महिलालाई धेरै उम्मेदवार बनाइएको एमाले प्रदेश उपाध्यक्ष भोजप्रसाद श्रेष्ठले बताए । यसपटक महिलालाई उपप्रमुखमा मात्रै सीमित राख्न हुँदैन भनेर प्रमुखमा पनि प्राथमिकता दिइएको उनको भनाइ छ ।

अघिल्लो स्थानीय तह निर्वाचनमा एमालेले जितेका ४३ स्थानमा कतै पनि महिला प्रमुख परेनन् ।

यता गठबन्धनका दलहरूले आपसी सहमति गर्दा महिलाको संख्या घटेको छ । माओवादी केन्द्रबाट प्रमुखमा मात्रै नभई उपप्रमुखमा पनि महिला सहभागिता कम रहेको गुनासो आएको छ । प्रदेशका अधिकांश जिल्लामा ५ दलीय र केही जिल्लामा दुई दलीय गठबन्धन भएको छ । फरक–फरक दलको उम्मेदवार हुँदा प्रमुख र उपप्रमुखमध्ये एकजना महिला हुनैपर्ने संवैधानिक व्यवस्थालाई उपेक्षा गरिँदा गठबन्धनका दलहरूले महिलाहरुलाई कम प्राथमिकता दिएका छन् ।

कांग्रेस लुम्बिनी कोषाध्यक्ष प्रकाश रानाका अनुसार कांग्रेसबाट अर्घाखाँचीको सन्धिखर्क नगरपालिका मेयरमा शान्ता भण्डारीको उम्मेदवारी परेको छ । भण्डारीबाहेक अन्य कुनै महिलाले प्रमुखमा उम्मेदवारीको अवसर पाएनन् । त्यसैगरी उपमेयर तथा उपाध्यक्षमा गठबन्धनका कारण धेरै कांग्रेसका महिला नेतृहरुले अवसर पाएनन् ।

‘हामीले प्रमुख पाएका ठाउँमा गठबन्धनबाट आउँदा उपप्रमुख पुरुष परेका छन्, हामीले उपप्रमुख पाएका ठाउँमा अधिकांश महिला नै पठाएका छौं’, रानाले भने ।

नेकपा माओवादीका प्रदेश अध्यक्ष सुदर्शन बरालका अनुसार माओवादीबाट कपिलवस्तुको बुद्धभूमि नगरपालिका प्रमुखमा कमला भुसाल र शुद्धोदन गाउँपालिका अध्यक्षमा कमला यादवलाई उम्मेदवार बनाइएको छ ।

जसपाले पाल्पाको बगनासकाली गाउँपालिका र बर्दिया मधुवन नगरपालिकामा महिलालाई प्रमुख उठाएको सो पार्टीका लुम्बिनी महासचिव यज्ञ पोखरेलले बताए ।
नेकपा एसले रुपन्देहीको तिलोत्तमा नगरपालिकाको मेयरमा आशा चौधरीलाई उम्मेदवार बनाएको छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर