एमाले बर्दियाको जिल्ला अधिवेशन आज, अध्यक्षमा श्रेष्ठ र अधिकारीको प्रतिस्पर्धा – Nepal Press

एमाले बर्दियाको जिल्ला अधिवेशन आज, अध्यक्षमा श्रेष्ठ र अधिकारीको प्रतिस्पर्धा

रुपन्देही । नेकपा एमाले बर्दियाको १० औँ जिल्ला अधिवेशन आजदेखि सुरु हुँदै छ ।

एमाले महासचिव शंकर पोखरेलले दिउसो १ बजे अधिवेशनको उद्घाटन गर्ने भएका छन् । एमाले अध्यक्ष केपी शर्मा ओली आउने सोमबारसम्म प्रचार गरिए पनि अस्वस्थताका कारण महासचिव पोखरेल मात्रै आएको पार्टी नेताहरूले बताएका छन् ।

गुलेरियामा दिउसो १ बजे उद्घाटन हुने कार्यक्रममा सहभागी हुन सबै पालिकाका प्रतिनिधि सदरमुकाम आइसकेका छन् । जिल्लामा यो अधिवेशनका लागि ३६४ जना प्रतिनिधि छनौट भएका छन् ।

नयाँ नेतृत्व चयन गर्ने अधिवेशनले पदाधिकारीसहित एक सय पाँच सदस्यीय जिल्ला कमिटी निर्वाचित गर्नेछ । नयाँ नेतृत्वका लागि यहाँबाट अहिलेका अध्यक्ष लालबहादुर श्रेष्ठ र उपाध्यक्ष शालिग्राम अधिकारी प्रतिस्पर्धामा छन् । दुवै जनाबीच सहमति हुन नसके दुवैतर्फबाट पदाधिकारीमा अलग अलग समूह तयारी गरिएको छ ।

यहाँबाट पार्टी केन्द्रमा रहेका लक्ष्मण ज्ञवाली, विमला बिक, शोभा ज्ञवाली, भीम केसीले आफू निकटकालाई अगाडि सार्न खोजिरहेका छन् ।

लक्ष्मण र भीम केसीले शालिग्रामलाई अगाडि सार्न खोजेका छन् भने विमला र शोभाले अहिलेकै अध्यक्ष लालबहादुरलाई दोहोराउने पक्षमा रहेको एमाले कार्यकर्ताहरूको अनुमान छ ।

उपाध्यक्षमा एक पक्षबाट दुर्गा ओलीको नाम आएको छ भने अर्को पक्षले सार्वजनिक गरेको छैन सचिवमा पदम ढकाल र नैनसिंह खत्री प्रतिस्पर्धामा छन् । ढकाल अहिलेका सचिव हुन् भने खत्री नगर अध्यक्ष भएर आएका हुन् ।

बर्दियामा उपसचिव महिला र थारु समुदायबाट पठाउने भएकाले दुवै पक्षबाट उम्मेदवार छनौट गर्ने तयारीमा छन् । आजै उद्घाटन सत्र सकेर बन्द सत्र गर्ने र बुधवार नेतृत्व छनौट गर्ने कार्यक्रम रहेको छ ।

पार्टी पोलिटब्यूरो सदस्य तथा जिल्ला इन्चार्ज लीला गिरीले सबैको भावना समेट्ने गरी नयाँ नेतृत्व आउने जनाएका छन् । नेताहरूले पहिले सर्वसम्मत नेतृत्व छान्न प्रयास गर्ने र नभए निर्वाचनबाट छनौट गरिने जनाएका छन् ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर