रविलाई सीकेको सुझाव- ०८४ मा दुई तिहाइ भन्नुहुन्थ्यो, जमानत जफत भएपछि अब विचार गर्नुहोला – Nepal Press

रविलाई सीकेको सुझाव- ०८४ मा दुई तिहाइ भन्नुहुन्थ्यो, जमानत जफत भएपछि अब विचार गर्नुहोला

काठमाडौं । जनमत पार्टीका अध्यक्ष डा. सीके राउतले उपनिर्वाचनको परिणामपछि यही व्यवस्थाले २०८४ मा पनि नयाँ कुरा नहुने संकेत गरेको टिप्पणी गरेका छन् । इलाम २ मा जनमत पार्टीले ११८ मत (०.१७ प्रतिशत मत) र रास्वपाले ७.३ प्रतिशत मत ल्याएको उल्लेख गरेका छन् ।

सीकेले फेसबुकमा लेखेका छन्, ‘कम भए पनि, अपेक्षाभन्दा फरक चाहिँ होइन । इलामको मतपरिणामले धेरैको लागि धेरै अर्थ राख्ला तर एउटा कुरा निश्चित् के छ भने यही व्यवस्था रहने हो र नौलो गणतन्त्र नआउने हो भने २०८४ मा पनि कुनै नयाँ कुरा हुनेवाला छैन । झन् पुराना पार्टी र पात्रहरूकै बिगबिगी रहनेछ, फेरि गठबन्धनकै सरकार बनिरहनेछन्, प्रदेश सरकारहरू फेरि हरेक महिना दुई-महिनामा ढलिरहनेछन्, गठबन्धनको बैठकमा भागबंडाको विषयले मात्रै प्रवेश पाइराख्नेछ, देशको अर्थतन्त्र र देश डुबिरहनेछ, युवाहरू विदेश पलायन भइराख्नेछन्, र चेतना फैलाउने वा विरोध गर्नेहरू पक्राउ परिराख्नेछन् ।’

निर्वाचनले सम्बद्ध सबैलाई हाल आफू उभिएको धरातल देखाइदिएको उनको भनाइ छ ।

उनले भनेका छन्, ‘हो, हाम्रो धरातल देखिएको छ । र जनताले पनि पुनर्विचार गर्नु जरूरी छ । मत नयाँलाई नदिने, अनि सारा आकाशपातल उथलपुथल गरिदिने अपेक्षा अझै हामीबाटै गर्ने अलि उचित भयो त ?’

आगामी निर्वाचनमा दुईतिहाइ ल्याउने लक्ष्यका साथ हिँडेको रास्वपाको जमानत जफत भएपछि अब सोच्न आग्रह गरेका छन् ।

रास्वपा सभापति रवि लामिछानेलाई लक्षित गर्दै भनेका छन्, ‘रास्वपाको नेतृत्व र साथीहरूले पनि बुझ्नुपर्ने हो, मैले आन्दोलनको लागि पटकपटक आग्रह गर्दा उहाँहरू २०८४ मा दुईतिहाइ एक्लै ल्याइन्छ भनेर ढुक्क बस्नु भएको थियो । बारा र इलाममा जमानत जफत भएको भोग्नु भयो, विचार गर्नुहोला । शुभचिन्तकको नाताले मात्रै खुलेआम भन्दैछु ।’


प्रतिक्रिया

One thought on “रविलाई सीकेको सुझाव- ०८४ मा दुई तिहाइ भन्नुहुन्थ्यो, जमानत जफत भएपछि अब विचार गर्नुहोला

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर