निर्वाचन आचारसंहितामा त्रुटि- ध्यानाकर्षण गराउन एमाले आयोग जाँदै – Nepal Press

निर्वाचन आचारसंहितामा त्रुटि- ध्यानाकर्षण गराउन एमाले आयोग जाँदै

काठमाडौं । आसन्न स्थानीय तह निर्वाचनका लागि निर्वाचन आयोगले जारी गरेको आचारसंहितामा देखिएका त्रुटिका विषयमा नेकपा एमालेले ध्यानाकर्षण गराउने भएको छ ।

प्रमुख प्रतिपक्षी दल एमालेका महासचिव शंकर पोखरेलको नेतृत्वको टोलीले आज आयोगमै पुगेर ध्यानाकर्षण गराउने भएको हो ।

दिउँसो १ बजे महासचिव पोखरेलको नेतृत्वमा उपमहासचिव एवं निर्वाचन विभाग प्रमुख विष्णु रिमाल र कानून विभाग प्रमुख रमेश बडालसहितको टोली आयोगमा जान लागेको प्रचार विभाग उपप्रमुख विष्णु रिजालले जानकारी दिए ।

‘आयोगले आचारसंहितामा के-के उट्पटाङ गरेको देखिएको छ,’ उनले भने,‘त्यसविषयमा आयोगको ध्यानाकर्षण गर्न ज्ञापनपत्र लिएर महासचिवज्यूको नेतृत्वको टोली जाने भएको छ ।’

आयोगले जारी गरेको आचारसंहितामा उम्मेदवार, दल र दलका भ्रातृसंगठनहरूले नै प्रचार गर्न नपाउने, जनप्रतिनिधिहरूले प्रचार गर्न नपाउने लगायतका त्रुटिहरू देखिएका थिए ।

यसअघि मंगलबार आचारसंहितामा प्रतिबद्धता जनाउन आयोगले बोलाएको सर्वदलीय बैठकमा होहल्ला र तनाव उत्पन्न भएको भन्दै नेकपा एमालेका प्रतिनिधिहरू हस्ताक्षर नगरी बाहिरिएका थिए ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर