महासचिवको गृहजिल्लामा एमालेलाई गठबन्धनको त्रास – Nepal Press
स्थानीय चुनाव

महासचिवको गृहजिल्लामा एमालेलाई गठबन्धनको त्रास

गठबन्धनभित्र भागबण्डाको सकस

रुपन्देही । नेकपा एमालेका महासचिव शंकर पोखरेलको गृहजिल्ला दाङमा गत स्थानीय तहको निर्वाचनमा १० स्थानीय तहमध्ये २ उपमहानगरपालिकासहित ६ वटा स्थानीय तहमा एमालेले जितेको थियो । कांग्रेसले ३ तहमा जित्दा माओवादीले १ मात्र स्थानीय तहमा जीत निकाल्न सकेको थियो ।

तर अहिले अवस्था फेरिएको छ । एमालेबाहेकका दल गठबन्धन गरेर चुनावमा जाने अन्तिम तयारी गर्दैछन् । अघिल्लोपटक जिल्लाको ६ स्थानीय तहमा जितेको एमालेको मतभन्दा तत्कालीन अवस्थामा कांग्रेस र माओवादीले ल्याएको मत मात्रै जोड्दा पनि अधिकांश पालिकामा एमाले पछाडि देखिन्छ । त्यसमाथि एमालेबाट विभाजन भएको नेकपा एकीकृत समाजवादी, जसपा तथा राष्ट्रिय जनमोर्चाको मत गठबन्धनमा जोड्दा एमालेलाई आगामी चुनावमा विरासत जोगाउन थुनौती थपिएको हो ।

अघिल्लो पटकभन्दा माओवादीको संगठन धेरै कमजोर भएपनि एमालेमा रहेका प्रभावशाली नेता मेटमणि चौधरी र हिराचन्द्र केसी नेकपा एसको प्रभावशाली नेता बनेर महासचिव शंकर पोखरेललाई जसरी पनि आफ्नो प्रभाव देखाउने चुनौती दिइरहेका छन् भने उनै पोखरेलको बलबुतामा एमालेबाट प्रदेशसभा सदस्य निर्वाचित अमर डाँगी तथा विमला खत्री वली पोखरेल नेतृत्वको प्रदेश सरकार ढाल्ने मुख्य नाइके बनेर मैदानमा उत्रिएपछि एमालेको विरासत जोगाउन दाङमा चुनौती थपिएको हो ।

अस्थिर शक्ति

केही दशकयता दाङमा एमाले, कांग्रेस र माओवादी केन्द्रको प्रभाव बराबरजस्तै छ । कहिले को अगाडि देखिन्छन् त कहिले को अगाडि ।

माओवादी युद्ध प्रभावित क्षेत्र रहेको यो जिल्लामा शान्ति प्रक्रियामा आएपछि २०६४ सालको पहिलो संविधानसभा निर्वाचनमा दाङका पाँचवटै निर्वाचन क्षेत्रमा माओवादीले कब्जा गर्यो । तर २०७० सालको दोस्रो संविधानसभा निर्वाचनमा कांग्रेसले पाँचवटै क्षेत्रमा जीत निकाल्यो । यो अवस्थामा सांगठनिकरुपमा बलियो मानिएको एमाले कमजोरजस्तै देखियो । तर यी दुई पार्टीको अन्तरविरोधमा खेल्दै एमालेले तत्काल रणनीति परिवर्तन गर्याे ।

२०७४ असारमा भएको स्थानीय तह निर्वाचनमा एमालेले १० स्थानीय तहमध्ये २ उपमहानगरपालिकासहित ६ वटा स्थानीय तहमा जित्यो भने कांग्रेसलाई ३ र माओवादीलाई १ पालिकामा सीमित बनायो ।

अनि २०७४ सालको निर्वाचनमा एमाले र माओवादी केन्द्र पार्टी एकता गर्ने गरी चुनावी तालमेल गरेर निर्वाचनमा गए । प्रतिनिधि सभाका ५ वटा क्षेत्रबाट घटेर ३ निर्वाचन क्षेत्र बनेको दाङमा गठबन्धनको तर्फबाट तत्कालीन एमालेका हिराचन्द्र केसी, माओवादीबाट कृष्णबहादुर महरा र मेटमणि चौधरी निर्वाचित भए ।

केसी र मेटमणि एमालेबाट निर्वाचित भएर एमाले विभाजनपछि अहिले नेकपा एकीकृत समाजवादीमा छन् भने महरा माओावदीमा । क्षेत्रनम्बर १ बाट चौधरी, क्षेत्र नम्बर २ बाट महरा र क्षेत्र नम्बर ३ बाट केसी निर्वाचित भएका थिए । प्रदेश सभाका ६ वटा क्षेत्रमध्ये १ क्षेत्रमा कांग्रेसका डिल्लीबहादुर चौधरीबाहेक अन्य सबै तत्कालीन नेकपाले जितेको थियो ।

२०५६ सालको निर्वाचनमा ४ वटा क्षेत्रमध्ये सबैमा कांग्रेस विजयी भएको थियो भने २०५१ सालको मध्यावधि निर्वाचन एमालेबाट हालका एमाले महासचिव शंकर पोखरेलले मात्र जितेका थिए ।

गत स्थानीय तहको निर्वाचनमा अवस्था

१. गढवा गाउँपालिका– एमाले(३६७७), माओवादी(३३०४), कांग्रेस(३०३१)
२. घोराही उपमहानगरपालिका– एमाले(२२०३०), कांग्रेस(१७४८४), माओवादी(१२०८२)
३. तुलसीपुर नगरपालिका– एमाले(२२८५७), कांग्रेस(१८९०३), माओवादी(८६९३)
४. दंगीशरण गाउँपालिका– एमाले(३१६१), कांग्रेस(२८४१), माओवादी(२४८५)
५.बंगालचुली गाउँपालिका– माओवादी(३३५२), कांग्रेस(२५१५), एमाले(१६३४)
६. बबई नगरपालिका– एमाले(४२७१), कांग्रेस(३९५९), माओवादी(२५४३)
७. राजापुर गाउँपालिका– कांग्रेस(२३९५),माओवादी(१८५८), एमाले(१७८१)
८. राप्ति गाउँपालिका– कांग्रेस(४७९७),माओवादी(३९४२), एमाले(३५५७)
९. लमही नगरपालिका– एमाले(५१५२), कांग्रेस(५०६९), माओवादी(४०८१)
१०. शान्तिनगर नगरपालिका– कांग्रेस(३८५२) एमाले(२९२४), माओवादी(२८३७)

प्रमुख ३ पार्टीकै प्रभावशाली नेताहरू रहेको दाङमा स्थानीय तहको निर्वाचन नजिकिएसँगै जोडघटाउको राजनीति सुरु भएको छ । तीनै पार्टीको ध्यान २ उपमहानगरपालिका तुलसीपुर र घोराहीमा पुगेको छ ।

आन्तरिक विवादका कारण संगठन बलियो भएर पनि गत निर्वाचनमा २ वटै उपमहानगरपालिकामा गुमाएको कांग्रेसले रणनीतिकरुपमा जित्ने योजना बनाएको छ ।

घोराहीमा एमालेका चौधरी दोहारिने, गठबन्धनमा माओवादी–कांग्रेस दुवैको दाबी

घोराही उपमहानगरपालिकामा अहिलेका मेयर नरूलाल चौधरीलाई दोहोरिनेगरी अगाडि सरेका छन् । उनलाई एमाले महासचिव पोखरेलले साथ दिएका छन् । गठबन्धन भए उनले धेरै मत ल्याउनसक्ने दावी उनी निकट नेताहरुको तर्क छ । घोराहीमा उनले राम्रै काम गरेको चर्चा स्थानीयको छ ।

गत निर्वाचनमा चौधरी २२ हजार ३० मतका साथ विजयी भएका थिए । १९ वडा रहेको घोराहीमा १० वडा एमाले, ६ वडा कांग्रेस र ३ वडा माओवादी केन्द्रले जितेको थियो । चौधरीले दोहोरिने इच्छा देखाएपछि अन्य नेताहरू अगाडि सर्न खोजेका छैनन् । उपमेयर सीता न्यौपानेले पार्टीले अगाडि सारे मेयर भएर नगरलाई सजिलै हाँक्न सक्ने बताउँछिन् । हुमा डिसीलाई उपमेयर मा निश्चित

एमालेका जिल्ला नेताहरू शिवकुमार आचार्य, राममणि पाण्डे र भरत आचार्यले पनि मेयरमा आकांक्षा व्यक्त गरेका छन् । कांग्रेसबाट यसअघि मेयरमा लडेका भूपबहादुर डाँगी नै मैदानमा छन् । डाँगी भन्छन् ‘गठबन्धनमा मैले नेतृत्व गरे सजिलै जित्न सकिन्छ, यो विषय धेरैलाई जानकारी छ ।’ संस्थापन समूहका नेता डाँगी कांग्रेस महाधिवेशन प्रतिनिधि हुन् । गत निर्वाचनमा डाँगीले १७ हजार ४८४ मत ल्याएका थिए । डाँगीसँगै कांग्रेसका किशोरचन्द्र गौतम र प्रकाश श्रेष्ठको पनि चर्चा छ ।

माओवादीबाट नेता नारायणकाजी श्रेष्ठका विश्वासपात्र जीवन गौतमले मेयरमा लबिङ अगाडि बढाएका छन् । उनी यसअघि पनि मेयरको उम्मेदवार बनेर १२ हजार ८२ मत ल्याएका थिए । गौतमसँगै माओवादीबाट हेमराज शर्माको पनि चर्चा छ । उनी महरा निकट मानिन्छन् । उता महराका स्वकीय सचिव प्रमोद शर्मा एमालेमा प्रवेश गरेपछि माओवादी थप कमजोर बनेको छ ।

तुलसीपुरमा कांग्रेसमा धेरैको लडाइँ, एमालेमा खड्का पक्का जस्तै

तुलसीपुर उपमहानगरमा एमालेबाट मेयर बनेका घनश्याम पाण्डे यसपटक नदोहोरिने बताइसकेका छन् । यहाँबाट उपप्रमुख माया शर्माले पार्टीले अगाडि सारे नेतृत्व लिने तयारीमा रहेको बताइन् । तर एमाले नेताहरुले उनलाई पुनः उपमेयरमै दोहोराउने तयारी गरेका छन् ।

तुलसीपुरमा एमाले निवर्तमान जिल्ला अध्यक्ष टीकाराम खड्कालाई अगाडि सार्ने तयारीमा रहेको एमाले नेताहरुको भनाइ छ । यहाँबाट वडा नं ६ का वडाध्यक्ष नवराज लामिछाने तथा जिल्ला उपसचिव कृष्ण भुसाल मेयरमा आकांक्षी भएपनि खड्कालाई अगाडि सार्नेगरी धेरै तयारी भइसकेको छ । तत्कालीन एमाले नेता माधवकुमार नेपालको पक्षमा रहेका खड्का एमाले विभाजनको बेला अन्तिम समयमा एमालेमै बसेका थिए ।

खड्काले एमाले महासचिव शंकर पोखरेल तथा अहिलेका मेयर घनश्याम पाण्डेले आफूलाई साथ दिने बताए ।

तुलसीपुरमा कांग्रेसका २ जना पुराना नेताहरूका मेयर बन्ने चर्चामा छन् । निवर्तमान जिल्ला सभापति कृतिबहादुर खड्का र पूर्वसभापति घनश्याम रेग्मीमध्ये १ जनालाई अगाडि सार्ने कांग्रेस कार्यकर्ताहरूले अनुमान छ तर खड्का र रेग्मी दुवै संस्थापन पक्षका नेता भएकाले इतर समूहले उनीहरुलाई सजलै स्वीकार्ने अवस्था छैन ।

यहाँबाट महाधिवेशन प्रतिनिधि विमल रिजाल र नगर सभापति सुरेश हमालले पनि मेयरमा आकांक्षा देखाएका छन् । आफूले पार्टीमा पु¥याएको योगदानको मूल्यांकन गर्नुपर्ने कृतिले बताए । रिजाल र हमाल दिपक गिरी समूहका हुन् । यसैगरी घनश्याम रेग्मी, कृतिबहादुर खड्का, जनकप्रसाद खनाल, डा.नहकुल केसी पनि आकांक्षी छन् । अर्का आकांक्षी रेग्मीले आपसी मेलमिलाप गरेर चुनाव लडे दाङका कुनै पनि क्षेत्रमा चुनाव जित्न कांग्रेसलाई समस्या नभएको बताए ।

गत निर्वाचनमा एमालेबाट मेयर जितेका घनश्याम पाण्डेसँग पराजित भएका गेहेन्द्र गिरीले यसपटक मेयर उठ्ने इच्छा देखाएका छैनन् । एमालेबाट निर्वाचित पाण्डे २२ हजार ८५७ मतका साथ विजयी भएका थिए भने गिरीले १८ हजार ९०३ मत ल्याएका थिए ।

तुलसीपुरमा यसअघि मेयरमा पराजित माओवादी नेता शेषुराम भण्डारी आकांक्षी छन् । माओवादीबाटै सीता वली यज्ञबहादुर केसी पनि इच्छुक छन् । यहाँ माओवादीको संगठन पनि कमजोर भएको र गठबन्धनको साथ खोजेकाले अहिले नै धेरै आकांक्षी बाहिर आएका छैनन् ।

यसअघि पनि माओवादीले यो पालिकामा आफ्नो उपस्थिति देखाउन सकेको थिएन । नेकपा एकीकृत समाजवादी समाजवादीको अवस्था यहाँ पनि सृदृढ देखिदैन । यहाँबाट डिल्ली डाँगी आकांक्षी देखिएपनि उनले गठबन्धनको आश गरेर बसेका छन् ।

कसरी गर्दैछन् गठबन्धन दलले बाँडफाँट ?

सत्तारूढ दल नेकपा माओवादी केन्द्र दाङमा चुनावी गठबन्धन गरेर जाने पक्षमा देखिएको छ । कांग्रेस र एमालेभन्दा धेरै कमजोर देखिएको माओवादीले २ उपमहानगरमध्ये १–१ वटा कांग्रेस र माओवादीले तथा लमही नेकपा एकीकृत समाजवादीलाई दिएर भए पनि गठबन्धन बनाउनुपर्ने माग गरेको छ । सत्तारुढ गठबन्धनका दलहरू दाङमा एमालेबाट स्थानीय सरकार खोस्ने योजनाका साथ लागेका छन् भने एमालेले आफ्नो विरासत जोगाउनेमा रणनीतिमा लागेको छ ।

दाङकै लमही नगरपालिकामा कांग्रेसबाट मेयरको रूपमा कर्णबहादुर बुढाथोकी, मोहन गिरी, बासुदेव जंगली, शिवप्रसाद चौधरीको चर्चा छ । यद्यपि सत्तारुढ गठबन्धन भए घोराही र तुलसीपुर माओवादी र कांग्रेसमध्ये एउटालाई र लमही नेकपा एकीकृत समाजवादीलाई दिन सकिने गरी गठबन्धनले आन्तरिक छलफल अगाडि गरेको छ । त्यसैले पनि गठबन्धन दलमा रहेका नेताहरुले सजिलैगरी आफूलाई मैदानमा उतार्न सकेका छैनन् ।

विश्लेषक तथा पत्रकार वसन्त आचार्यका अनुसार जिल्लामा एमाले, कांग्रेस र माओवादीको त्रिपक्षीय लडाई हुने भएपनि केही पालिका गठबन्धन हुँदा पनि एमाले एक्लैले जित्नसक्छ ।

माओवादीको संगठन कमजोर बन्दै गएको र कांग्रेसमा आकांक्षी धेरै भएको फाइदा एमालेले लिने भए एकीकृत समाजवादीमा गएका मत एमाले हराउन सहयोगी बन्नसक्ने उनको तर्क छ । दाङमा तुलसीपुर बाहेकका अधिकांश पालिकाका जनप्रतिनिधि दोहोरोन चाहिरहेका छन् ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर