स्थानीय तहमा गठबन्धनः महिलाको भाग खाेसिने चिन्ता – Nepal Press

स्थानीय तहमा गठबन्धनः महिलाको भाग खाेसिने चिन्ता

रुपन्देही । स्थानीय तहको निर्वाचनमा गठबन्धन गरेर दलहरु निर्वाचनमा जाँदा महिलाका लागि छुट्टाइएको पद संख्या नै पुरुषको भागमा जाने भएको छ ।

यसअघिको स्थानीय तहमा भएको दुई दलीय गठबन्धनमा यसकाे उदाहरण देखिएको र अहिले धेरै दलबीचमा गठबन्धन हुँदा यो संख्या अझै बढ्नसक्ने अधिकारकर्मीको चिन्ता छ । त्यसो त यो विषयमा निर्वाचन आयोगले समेत राजनीतिक दलहरूले गठबन्धन गर्ने निर्णय गरेपछि स्थानीय तहमा कम महिला निर्वाचित हुने आशंका व्यक्त गरेको विषय बाहिर आएको छ ।

स्थानीय तह निर्वाचन ऐनको दफा १७ को उपदफा ४ मा दलहरुले उम्मेदवारी दिँदा प्रमुख र उपप्रमुखमध्ये एक महिला हुनैपर्ने व्यवस्था राखेको छ तर दलहरूले स्थानीय तह निर्वाचनमा गठबन्धन गर्दा एक पदमा मात्र उम्मेदवारी दिने र अर्को पद अर्को दललाई दिँदा पुरुषकै भागमा पर्ने सम्भावना हुन्छ।

२०७४ सालको स्थानीय तहको निर्वाचननबाट ३५ हजार २२१ जना निर्वाचित भएकोमा १४ हजार ३ सय ५६ महिला थिए । जसमध्ये ७ वटा नगरपालिकामा प्रमुख र ११ वटा गाउँपालिकामा महिला अध्यक्ष भएका थिए । त्यस्तै २७६ नगरमा महिला उपप्रमुख निर्वाचित भएका थिए भने ४२४ गाउँपालिकाको उपाध्यक्षमा महिला निर्वाचित भएका थिए ।

लुम्बिनी प्रदेशका १ सय ९ पालिकामा १ स्थानमा मात्रै महिला प्रमुख र ३५ स्थानमा उपप्रमुख विजयी भएर ३६ वटामा सीमित भएका थिए । गठबन्धन भएकै कारण अघिल्लो पटक ७३ जना मुख्य पदमा महिला सहभागिता कम भएको थियो । यो वडास्तरमा अझै धेरै तथ्यांक रहेको छ ।

कानुनमा एकै दलको हकमा मात्र यस्तो व्यवस्था रहेकाले यही कानुनी कमजोरीको फाइदा उठाउँदै गठबन्धनमा रहने दलहरुले उम्मेदारीमै महिलाको संख्या कम गराउने आशंका अधिकारकर्मीमा बढेको हो ।दलहरुमा पुरुषका आकांक्षी बढी भएकाले गठबन्धन भएको अवस्थामा महिलालाई उम्मेदवार बनाउनैपर्ने कानुनी बाध्यकारी अवस्था दलहरूलाई नहुने भएकाले यस्तो अवस्था आउनसक्ने कानुनविद्हरुको भनाइ छ ।

गत स्थानीय तहको निर्वाचनमा अर्घाखाँचीको सन्धिखर्क नगरपालिकाको मेयरमा कांग्रेसका कमल भुसाल र उपमेयरमा ठाकुर बिक गठबन्धन गरेर विजयी भए । कांग्रेसबाट पहिले उपमेयरमा टिकट पाएकी कमला आचार्य मत माग्न गाउँगाउँमा गइसकेकी थिइन् तर गठबन्धन भएपछि खोसियो ।

भूमिकास्थान नगरपालिकामा गठबन्धनबाटै माओवादीका रेशम थापा मेयर र खडानन्द वेल्बासे उपमेयरमा निर्वाचित भए । शीतगंगा नगरपालिकामा गठबन्धनबाटै सूर्य अधिकारी कांग्रेस, टिका रेश्मी माओवादीबाट आए । यहाँ पहिले कांग्रेसबाट उपमेयरको टिकट पाएकी मिना पौडेलले टिकट पाएर पोस्टर छापेर प्रचारमा हिंडेपनि अन्तिममा गठबन्धन भएपछि भाग खोसियो ।

बुटवल उपमहानगरपालिकामा नेपाली कांग्रेस र माओवादी गठबन्धन गर्दा मेयरमा कांग्रेसका खेलराज पाण्डेले उम्मेदारी पाए भने माओवादीका जगत पोखरेलले । कपिलवस्तुको वाणगंगा नगरपालिकामा कांग्रेसका मंगलप्रसाद थारु र माओवादीका चोपनारायण वेल्वासेले उम्मेदारी पाए ।

यी प्रतिनिधि पात्र मात्रै हुन् । यसरी गठबन्धन बन्दा देशभरबाट धेरै महिला जनप्रतिनिधि बन्न बन्चित भएका थिए अघिल्लोपटक । अहिले त्योभन्दा धेरै गुणा बढ्ने छ किनकी गठबन्धनमा धेरै दलहुनेछन् र त्यसको नेतृत्वमा पुरुष नै छन् र आकांक्षी पनि पुरुष नै बढी छन् ।

चितवनको भरतपुर महानगरपालिकामा कांग्रेस माओवादी गठबन्धनबाटै माओवादीका रेणु दाहाल मेयर र कांग्रेसकी पार्वती शाह ठकुरी उपमेयरमा विजयी भएका थिए । महिलालाई प्राथमिकता दिए जित्नसक्ने रहेछन् त भनेर अधिकारकर्मीले उदाहरण पनि दिएका छन् यसलाई ।

महिला अधिकारवादी नेतृ तथा नेकपा एमालेका केन्द्रीय सदस्य सावित्रा अर्यालले लामोसमयको प्रयासबाट कानुनमै महिलाका अधिकार समेटिएको र संविधानले दिएको अधिकार गठबन्धनका नाममा खोस्ने प्रयास गरिएको बताउँछिन् ।
‘यो गठबन्धनको कायरता हो, पृतिसत्ता हावी भयो, गठबन्धन गरेर महिलाका लागि आरक्षण गरिएको संख्या खोस्न पाइदैन, यो भन्दा लाजमर्दो विषय के हुन्छ, ती दलमा आवद्ध महिलाअधिकारकर्मीहरु अब चुप लागेर बस्नुहुँदैन, आफ्नो अधिकारका लागि, आफूले पाएको अधिकार लिनका लागि सबै दलका महिला नेतृहरु जाग्नुपर्ने भएको छ । म सहयोग गर्न तयार छु’  उनले भनिन् ।

अधिवक्ता इन्दिरा आचार्यले स्थानीय तहमा महिलाको सहभागिता रोक्न मनसायले यसो गरिएको तर्क गर्छिन् । यसको प्रयोग र तयारी उहाँहरुले अघिल्लो निर्वाचनमा गरिसक्नुभएको छ, अहिले त्यो बढ्ने संकेत हामीले पाएका छौं, यसले स्थानीय सरकारमा महिलाको संख्या घट्नेभयो, अर्थपूर्ण सहभागिता रोक्ने प्रयास भएको छ, – उनले भनिन्– कानुनी छिद्रलाई खोजेर गठबन्धनमा पुरुषवादी नेताहरुको हावी भयो, कानुनी अधिकारका लागि सबै महिलाहरुले आवाज उठाउनुपर्छ ।

निर्वाचन आयोगले नै महिलाको सहभागिता निर्वाचनमा कम हुने आशंका व्यक्त गर्दै दलहरूलाई महिलाको सहभागिताको विषयमा ध्यानाकर्षण गराउनुपर्ने माग अधिकारकर्मीको छ । स्थानीय तह निर्वाचनमा दलहरूलाई लैंगिकमैत्री र समावेशी भएर उम्मेदवारी दिन ध्यानाकर्षण गराउनुपर्ने माग उनीहरुको छ ।

‘एकै दलका दुई जना लड्ने भए एक जना महिला उम्मेदवार अनिवार्य बनाउछन् नै तर गठबन्धन गरेर अघि बढ्यो र दुबै दलले पुरूष नै उम्मेदवार उठायो भने महिलाहरूको संख्या घट्छ’ संचारिका समूह लुम्बिनी अध्यक्ष तथा पत्रकार महासंघ रुपन्देही उपाध्यक्ष अमृता अनमोल भन्छिन् ’अरू दलले जित्यो भने त महिलाहरू आउला तर गठबन्धनले जित्यो भने घट्ने विगतको प्रयोगले देखाएको छ । त्यसैले निर्वाचन आयोग, महिलाअधिकारकर्मी तथा सबै दलहरूलाई यो विषयमा तत्काल ध्यानाकर्षण गराउनुपर्दछ । ’

उनले आयोग र दलहरुले गठबन्धनलाई एक दल मानेर अनिवार्य रुपमा महिला सहभागिताको सुनिश्चितता गर्नुपर्ने बताउँछिन् ।

 


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *