बुद्ध एयरको सिण्डिकेटले कर्णालीका नागरिक मारमा, यात्रु आक्रोशित – Nepal Press

बुद्ध एयरको सिण्डिकेटले कर्णालीका नागरिक मारमा, यात्रु आक्रोशित

सुर्खेत । बुद्ध एयरको सिण्डिकेट र मनलाग्दी भाडादरप्रति कर्णालीका नागरिकले आक्रोश पोखेका छन् । काठमाडौंबाट सुर्खेतको एकतर्फी भाडा पाँच हजारबाट बढाएर १३ हजारसम्म बढाएपछि यहाँका यात्रुले आक्रोश पोखेका हुन् ।

गुण एयरले उडान बन्द गरेपछि एक मात्र उडान भर्दै आएको बुद्ध एयरले मनलाग्दी भाडा असुलेको हो ।

नेपाली कांग्रेसका प्रदेश कार्य समिति सदस्य गोविन्द कोइरालाले भाडादर अत्यन्तै महंगो भएको भन्दै सामाजिक सञ्जालमार्फत् आक्रोश पोखेका छन् । उनले लेखेका छन्– बुद्ध एअरको सुर्खेत–काठमाडौं–सुर्खेत भाडा आतंक बन्द गर् ! गुणसँग प्रतिस्पर्धा हुँदा ५००० भन्दा तल झर्न सक्ने, तर एकलौटी हुँदा १३३५० कसरी भयो ? कर्णाली जागौं !

त्यस्तै यात्रु लवविक्रम शाह भन्छन्– बद्धद्द एयरको भाडा घटाउने कुरामा सहमति हुँदै नेपालगंजबाट कर्णाली प्रदेशका हुम्ला, जुम्ला, मुगु, डोल्पा उड्ने जहाज सुर्खेतबाट नै उडाउने व्यवस्था तत्काल गरियोस ! कर्णालीका यात्री लुम्बिनी प्रदेश गएर फेरि कर्णालीमै जाने नियतिको अन्त्य होस् ।

सुर्खेतबाट राजधानीको यात्रा गर्दा अधिकांश यात्री नेपालगन्जबाट यात्रा भर्नुपर्ने अवस्था आएको छ । ‘नेपालगन्जबाट ३२ सयदेखि नै यात्रा गर्न पाइने तर सुर्खेतबाट १३ हजार भन्दा बढी तिर्नुपर्ने ?’ स्थानीय रमेश अधिकारी गुनासो गर्छन्, ‘बुद्ध एअरले कर्णालीलाई लुट्न थालेको छ । यो अति भयो अब नागरिक जुर्मुराउन जरुरी भइसकेको छ ।’ उनले प्रदेश सरकारले भाडादर कम गराउन कुनै पहल गर्न नसकेको समेत आरोप लगाए ।

बुद्ध एअर सुर्खेतका प्रमुख नरबहादुर बस्नेतले कहिलेकाहीं भाडा महंगो हुने गरेको स्वीकारे । उनले भने– अचाक्ली महंगो त भन्न मिल्दैन । निर्धारण गरिएको भाडा नै लिने हो ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *