गलत समाचारमा रोक लगाउन भारतद्वारा फेसबुक, ट्वीटर र गुगललाई पुनः ताकेता


नयाँदिल्ली । भारतीय अधिकारीहरुले आफ्ना प्लेटफर्ममा गलत सूचनालाई प्रतिबन्ध लगाउन पुनः फेसबुक, ट्वीटर गुगललाई निर्देशन दिएका छन् ।
भारतको सूचना तथा प्रसारण मन्त्रालयले ती तीन अमेरिकी सूचना प्रविधि कम्पनीका प्रतिनिधिलाई बोलाएर गलत समाचारलाई रोक लगाउन उदासिन भएको भन्दै आलोचना गरेको छ ।
फेक न्यूजमा कडाइ नगर्दा सरकारले त्यस्ता सामाग्रीलाई रोक्न कदम चाल्नुपरेको गुनासो सरकारी अधिकारीले गरेका थिए । सरकारले त्यस्ता सामाग्रीमा रोक लगाउँदा अभिव्यक्ति स्वतन्त्रतालाई बन्देज लगाइएको भन्दै अन्तर्राष्ट्रियरुपमै आलोचना हुने गरेको छ ।
सोमबार सरकारी अधिकारी र तीन तीन प्रविधि कम्पनीका प्रतिनिधिबीच भएको भर्चुअल छलफलमा चर्काचर्की भएको थियो । यो चर्काचर्कीलाई नरेन्द्र मोदी सरकार र अमेरिकी प्रविधि कम्पनीबीचको सहकार्य निकै न्यून विन्दूबाट गुज्रिएकोरुपमा विश्लेषण गरिएको छ ।
उक्त बैठकमा अधिकारीहरुले प्रविधि कम्पनीविरुद्ध कुनै कुनै निश्चित सीमासहितको चेतावनी जारी भने नगरेको रोयटर्सले जनाएको छ । सरकार सूचना प्रविधि सम्बन्धीमा कानूनमा कडाइ गरेपनि ती कम्पनीले सामाग्रीको प्रकाशनमा भने सहजीकरण गर्न चाहिरहेको जनाइएको छ ।
गत डिसेम्बर र जनवरीमा सूचना तथा प्रसारण मन्त्रालयले आफ्नो विशेष अधिकार प्रयोग गर्दै गुगलको युट्युवका ५५ वटासहित केही फेसबुक र ट्वीटर खाता बन्द गराएको थियो । सरकारले बन्द गराइएका ती खाताहरु पाकिस्तानबाट संचालित भएको आरोप लगाएको थियो ।