के आहारले विचार निर्माण गर्छ ? – Nepal Press
नेपाल चिन्तन

के आहारले विचार निर्माण गर्छ ?

हामीमध्ये कति होउँला, जो आहार आदतमा नभएर आफैं छनोट गरेर खान्छौं ? अनि कतिलाई जानकारी होला कि आहारले नै हाम्रो शरीरदेखि विचारसम्म तय गर्छ भन्ने कुरा ?

मदिरा पिएको केही क्षणमै मान्छेको विचार, सोच र व्यवहारमा परिवर्तन देखिइहाल्छ । बिरामी परेको बेला खाद्यपदार्थको सन्तुलन मिलाइएको वस्तुलाई नै हामी औषधि भनेर खान्छौं । त्यसले रोग निरोधमा तत्काल प्रभाव पार्छ । यसबाट हामी बुझ्न सक्छौं, आहारले हाम्रो विचार र शरीरलाई कसरी प्रभाव पार्छ । त्यसैले आउनुस् आज यस आलेखमा हामीले लिने आहार र हामीमा यसको प्रभावबारे चर्चा गरौं ।

पहिला त आहार के हो ? त्यो नै हेरौं । सामान्य अर्थमा आहार त्यो हो जसले मान्छेलाई स्वस्थ र जिउँदो राख्ने काम गर्छ । तर अलि गहिरिएर हेर्ने हो भने आहारबाट त्यसैअनुसारको विचार र भाव निर्धारण भएको हुन्छ । जुन विचार र भावले नै मान्छेको व्यवहार तय गर्छ । किनकि हामीले लिने आहारले आचरण निर्धारण गर्छ ।

त्यही आचराणअनुसार मान्छेले अध्ययन (कार्य क्षेत्र) छनोट गर्छ, अनि त्यो अध्ययनले कर्तव्यबोध तय गर्छ । कर्तव्यबोधले दुष्कीर्ति र सुकीर्ति निर्धारण गर्छ । त्यहीं सुकीर्ति र दुष्कीर्तिमा दुष्कीर्तिले मरण र सुकीर्तिले अजरामर गराउँछ । अर्थात् मान्छेले महसुस गर्ने स्वर्ग र नर्कको कुरा यहाँनेर आएर जोडिन्छ । यसो भनौं, हामीले लिने आहारबाटै स्वर्ग वा नर्क तय गरिरहेका हुन्छौं ।

भौतिक शरीर, मानसिक शरीर र ऊर्जा शरीर गरी तीनवटा शरीर मिलेर हाम्रो एउटा शरीर बनेको हुन्छ । ऊर्जाले विचारलाई र विचारले भौतिक शरीरलाई सञ्चालित गरिरहेको हुन्छ । त्यसैले खानाले तीनैवटा शरीरमा एकैपटक प्रभाव छोड्छ र हामी खानाको आधारमा (मोटो, पातलो, रोगी, निरोगी, खुसी, दुःखी, मानसिकरुपमा अब्बल, दुर्बल, स्वर्गीय आनन्दको र नर्कको दुःख महसुस गरिरहेको) मान्छे तयार हुन्छौं ।

त्यो कसरी हुन्छ भनेर बुझ्न आहारलाई नजिकबाट हेरौं । सकरात्मक प्राणिक भोजन, नकरात्मक प्राणिक भोजन र शून्य प्राणिक भोजन गरेर आहार तीन प्रकारमा विभक्त हुन्छ । प्राणको मतलब ऊर्जा हो । कति भोजनले सकरात्मक ऊर्जा प्रदान गर्छ, कतिले नकरात्मक । त्यसले आलश्य बिमारी पैदा गर्छ भने अर्को खालको आहार जसले न त ऊर्जा दिन्छ, न लिन्छ ।

हामीले खाएको आहारले कसरी काम गर्छ ? त्यसले मान्छेको विचारमा ल्याउने परिर्वतनबारे छान्दोज्ञोपनिषद् शाङ्करभाष्यमा विस्तारमा व्याख्या छ । जहाँ खानाको मात्र होइन– पिइने जल, यसका प्रकार र प्रभावबारे पनि उल्लेख छ (छान्दोगयोपनिषद्, शांकरभाष्य,गीता प्रेस, छैटौं अध्याय, पंचम खण्ड)

आहारबारे आहार योगमा सुन्दर व्याख्या छ । सात्विक, तामसिक र राजसी गरी खाना तीन प्रकारका हुन्छन् । भोजनको पहिलो तहमा छ, सात्विक भोजन । जसमा फलफूल, सागपात, दाल चामल पर्छन् । यस्ता रसिला, पोषिला आहारले शरीरमा बल र आयु वृद्धि हुन्छ । जसले भावना पवित्र राख्ने र चित्तलाई प्रशन्न पार्ने काम गर्छ । किनकि सात्विक खानाले सकरात्मक ऊर्जा पैदा गर्ने हुँदा यसबाट विनयशीलता, करुणामय भाव उत्पन्न हुन्छ ।

त्यसैगरी अत्यधिक चिल्लो, पिरो, नुनिलो सुख्खा खाना राजसी आहारमा पर्छन् । यस्तो खानाले जठराग्नी (पेटको आगो) मन्द बनाउने हुँदा खाना ढिलो पच्ने, जसले अंगहरुको संयम टुटाउने, शरीरमा आलश्य पैदा हुने गर्छ । यसको प्रभावमा केही गर्न मन नलाग्ने, झर्को लाग्ने हुन्छ ।

त्यस्तै दुर्गन्ध आउने खालका, बासी, मुख बिगार्ने कुराहरु तामसिक आहारमा पर्छन् । यी हाम्रो शरीरका लागि बनेका होइनन् । यस्ता आहार पच्न सहज नहुने, पच्न ढिलो भएपछि शरीरमा नचाहिने अनेक विकार(केमिकल) तयार गर्छ । जसकारण मान्छेमा प्रेसर हाई, मोटोपन, रतग बाक्लो बनाउने, हर्टअट्याक, सुगर क्यान्सर जस्ता अनेकन रोग लाग्छ । जसको प्रभावमा हामीमा चिड्चिडाहट, आक्रोश, शंका, रिस पैदा हुन्छ । जसले गर्दा मान्छे बदला लिने या मार्ने–मर्ने अवस्थामा पुग्छ (आहार योग, अध्याय दुई, खण्ड दुई, पृष्ठ,१४९–१५१)।

यिनै खानाका आधारमा मान्छेहरु रजोगुणी, तमोगुणी र सतोगुणी हुन्छन् । जुन कुरा श्रीमद्भगवत् गीताले पनि व्याख्या गरेको छ । जसमा मान्छेमा इर्श्या, ममता, दया, प्रेम, करुणा, वात्सल्य, हिंसा, चोरी, सबै कुरा खान्कीबाट प्रदत्त हुने अदृश्य कृत्य भनिएको छ (श्रीमद्भगवत गीता, सत्रौै अध्याय) ।

अहिले आएर पश्चिमी देशरुमा पनि खानामाथि धेरै अनुसन्धान भएका छन् । अंग्रेजीमा एउटा भनाइ नै छ, ‘वी आर, ह्वाट वी इट’ । अर्थात् हामी त्यहीं हौं, हामी जे खान्छौं । जेम्स एलनको बुक ‘एज द मेन थिङ्क इट’ मा पनि यहीं भनिएको छ । हामीलाई त्यसैले हिंडाउँछ, जे हामी खान्छौं र सोच्छौं ।

खासमा मान्छेको विकासक्रम भनेकै खान्कीमा आएको परिर्वतन हो । मानव विकासक्रमको पहिलो अवस्थामा जनावर र मानिसमा फरक थिएन । मान्छेले सके जनावर नसके आफ्नै साथी मारेर भोक मेटाउँथ्यो । ‘भोल्गादेखि गंगासम्म’ नामक पुस्तकमा राहुल सांकृत्यायनले समेटेका किंबदन्तीमा यस्ता कुरा उल्लेख छन् । सिकार गर्न गएकाहरुले केही नभेटिएपछि घरमा खानेकुरा कुरेर बसेका छोराछोरी सम्झंदै आफ्नै साथी र कमजोर भाइलाई नै मारेर ल्याएको कथा पुस्तकमा समेटिएको छ ( सांकृत्ययान, भोल्गासे गङ्गातक, पृष्ठ १५–३०) ।

ती कथामात्र होइनन् । ती कुनै बेलाका सत्य घटना हुन् । त्यसपछि मान्छे अलि विकसित भयो । आफूलाई जनावरभन्दा छुट्टै महसुस गर्न थाल्यो । समूहमा बस्ने भएपछि उनीहरु जनावर मारेर खाने भए । त्यसबेला बाँच्नु पहिलो प्राथामिकता थियो, त्यसैले हिंसा स्वाभाविक थियो । किनकि त्यहाँ सभ्यता र चेतनाको भन्दा पनि बाँच्नु पहिलो कुरा थियो ।

सभ्यताको त्यस क्रममा मानिसहरुको आहारा पनि मासु थियो भने उनीहरुले गर्ने काम पनि युद्ध थियो । यसबाट के बुझिन्छ भने आहारले मानिसको चिन्तन, स्वभाव र क्रियाकलापलाई प्रत्यक्ष प्रभाव पारिरहेको हुन्छ । चेतनाको विकास हुँदै–हुँदै अहिले मान्छे अन्य जीवको तुलनामा सचेतन र सभ्य प्राणीको रुपमा विकसित मात्र भएन, चाहेजति उत्पादन नै गर्नसक्ने भयो ।

फलफूल, सागपात पच्न सजिलो हुन्छ र यसले शान्त र सम्यक मानसिक शरीर तयार गर्छ । तर मासुजन्य पदार्थ पचाउन समय लाग्छ र गाह्रो पनि हुन्छ । किनकि मासु खाने प्राणीको पाचन अंग र प्रणाली नै भिन्न हुन्छ । मासुखाने जातका जनावरको सानो आन्द्रा हुँदैन र त्यसको सिधा आन्द्राले मासुलाई पूरै नपचाइ बाहिर निकाल्न सक्छ । मानिसले मासु खाएपछि त्यसको पाचन प्रक्रिया पूरा गर्न कम्तिमा पनि पाँच दिन लाग्छ । त्यहीं जटिल पाचन प्रक्रियाले मासु खाने मानिसको विचार प्रणाली पनि नकरात्मक हुन्छ । खानाले मानसिक प्रभाव कसरी पार्छ भनेर आधुनिक विज्ञानका एक से एक अनुसन्धान तयार छन् । जसलाई The Foods We Eat Do Affect Our Mental Health. Here’s the Proof. | Psychology Today मा पनि हेर्न सकिन्छ ।

यसलाई यसरी पनि हेरौं न, हरेक चिजको एक आभामण्डल हुन्छ । फलफूलको बगैंचामा जाऔं, त्यहाँ हामीलाई आकर्षित गर्ने मधुर सुगन्ध प्राप्त हुन्छ । त्यसैगरी माछा, कुखुरा पाल्ने–काट्ने ठाउँमा जाँदा दुर्गन्ध प्राप्त हुन्छ । जब हामीलाई बाहिर नै यस्तो भिन्न अनुभूति हुन्छ भने यस्ता खानेकुराले हाम्रो शरीरमा भित्र गएर के गर्ला ? यस्तो दुर्गन्धले हाम्रो विचार पनि दुर्गन्धित नै बनाउँछ ।

अर्काेतिर हामी के खान्छौं भन्ने कुरा मात्र हैन, कस्तो आर्जनबाट आहार खरिद गरेर खान्छौं भन्ने कुराले पनि स्वास्थ्यमा अप्रत्यक्ष प्रभाव पारेको हुन्छ । एउटा चर्चित लोककथा छ । जहाँ एक राजालाई हरेक कुरामा सल्लाह दिने एकजना वृद्ध विद्वान हुन्छन्, जो सबैथोक त्यागेर बसेका हुन्छन् । उनी राजाका अघिल्लो पुस्तादेखि पूजिएका विद्वान थिए । उनी राजपाठ सिकाएर जान्थे, तर राजाबाट केही लिँदैनथे । किनकि उनी गृहस्थ थिएनन् । विद्वान गुरुलाई राजा समय समयमा दरवार बोलाएर सम्मानसाथ सुनका थाल बटुकामा भोजन गराउँथे । आफैं वृद्ध हुन लागेका राजाले राजकाजमा एकदमै वैमनस्य खडा भइरहेकोले एकपटक तीन दिनको संकल्प पाठ गराए ।

संकल्प पाठमा तीन दिन ती विद्वानलाई खानाको लागि निमन्त्रणा गरे र उच्च सम्मानका साथ उनकै लागि मात्र तयार गरिएको कक्षमा राखेर भोजन गराए । अचम्म के भयो भने रानीले ती वृद्ध विद्वानले खाना खाएपछि सुनको चम्चा गोजीमा हालेको देखिन् । पत्याउनै नसकिने त्यो दृश्य उनले राजालाई सुनाइन् । राजाले रानीलाई तिम्रो आँखामा भ्रम पर्‍याे होला भने ।

दोस्रो दिन विद्वानले सुनको कचौरा र तेस्रो दिन त थाली बोकेको देखिन् । यो कुरा पनि उनले राजालाई सुनाइन् । उनी यस्ता त्यागी विद्वान थिए कि कसैले किन भनेर सोध्ने आँट नै गरेनन्, स्वयं राजाले पनि । यस्तो देखेर राजालाई एकदमै चिन्ता पर्‍याे ।

एकदिन ती विद्वानबाहेकका सबै सल्लाहकारलाई बोलाएर सबै कुरा सुनाए । एकजना विद्वानले राजालाई सोधे– तपाईंको ढुकुटीमा खाद्यान्न कहाँबाट प्राप्त हुन्छ राजन ? राजाले जनताको करबाट प्राप्त हुने गरेको जवाफ दिए । राजाले यसो भन्दै गर्दा साथै रहेका सुरक्षा दलका प्रमुखले भने– यो पटक केही समयअगाडि डाँकाहरुलाई पक्रन खोज्दा तिनले छोडेको खाद्यान्न भण्डारमा जम्मा गरेका थियौं, यो त्यही अन्न हो । यो सुनेर ती विद्वानले भने– यस्तो गलत आहार खाएपछि विचार पनि गलत नै आउँछ महाराज । यसरी राजकाजमा आएको वैमनस्यता र ब्राह्मणले गरेको चोरी त्यही चोरीको खाद्यान्नको प्रभाव भएको सुझाए ।

गलत श्रोतबाट आएको धन कतिसम्म नराम्रो मान्थे राजाहरूले भने यसबारे कौटिल्यले पनि बोलेका छ्न् । कौटिल्य अर्थशात्रमा भनिएको छ – अबैध श्रोतबाट अनैतिक कार्य गर्नेहरूबाट असुल उपर भएर आएको धन राज्यको मूल ढुकुटीमा नराख्नु । त्यस्तो लुटको धन राज्यको धुकुटीमा राख्यो भने राष्ट्र सकिन्छ । त्यसैले त्यस्तो धन युद्दमा खर्चिनु या दान दिनु।

एउटा कुरा नि, मरिसकेपछिको मासु आहारको लागि उपयोगी हुन्थ्यो भने मरेको मानिसलाई जलाउन किन हतार गरिन्थ्यो होला र ? श्वासले छोड्नेवित्तिकै मासु गल्न थाल्छ । अर्थात् त्यो अर्को किटाणुयुक्त खाना बन्छ र गन्हाउन थाल्छ, सिनो बन्छ । हामी त अझ त्यसलाई सुकुटी भन्दै खान्छौं । त्यसैले मांसहार गर्नु भनेको शारीरिक बिमारी निम्त्याउनु हो ।

मांसहारीहरुमा शाकाहारीमा भन्दा २३ गुणा भन्दा बढी क्यान्सर हुने सम्भावना हुन्छ । आधुनिक विज्ञानमा भएका एक से एक अनुसन्धानले पनि यहीं बताउँछ । डाइबिटिज, हर्टअट्याक, मोटोपन पे्रसरहाई जस्ता अनेक रोगको कारण मासु हो भनेर डाक्टरले मासु छोड्नु भनी प्रेस्क्रिप्सन दिएको पाइन्छ ।

मारिएको मान्छेबाट निस्कने ऊर्जा (इलेक्ट्रो म्याग्नेट) हुन्छ । जसलाई ‘आहा’ भनिन्छ । भनिन्छ– मारिएको मान्छेबाट निस्कने त्यो ‘आहा’ मार्नमा सहभागी मानिससँग बदला लिन पुग्छ । त्यस्तै मारिएका पशुहरुमा पनि मर्ने बेलामा त्यस्तै ‘आहा’ निस्किएको हुन्छ । त्यो पीडा, डर, असहायपनामा उठ्ने उत्तेजना र हिंस्रकपन मासु खाने मानिसभित्र जान्छ । र त्यसले त्यहीं कुरा पैदा गर्छ भनिन्छ ।

अक्सर जनावरले पनि आफ्नै प्रजातिको मासु खाँदैन । तर यस्तो आहारले हिंस्रक मानसिकता तयार हुँदै जाँदा मान्छेले जनावरले पनि नपुगेर आफ्नै प्रजातिको मासु खान थालेको छ । मध्यअफ्रिकामा सम्राट (१९२१–१९९६) बोकासोलाई  पदच्युत गरियो, किनकि उनको फ्रिजमा स्कूले बच्चाको मासु भेटियो भनिएको थियो । https://www.britannica.com/biography/Jean-Bedel-Bokassa .

उनलाई मृत्युदण्ड सुनाइयो अनि निर्वासनमा गए । उनी वृद्ध भएपछि फर्के । उनलाई सफाइ दिइयो । उनले बच्चाको मासु फ्रिजमा राखे राखेनन्, अर्को कुरा हो । तर कसैले त मान्छेको मासु राख्यो । मान्छे यस्तो कसरी भयो ? जब पशुको मासु स्वादिष्ट मान्दै खाँदैछौं भने यसले हिंस्रक चित्त बढाउँदै लग्यो । सबै पौष्टिक तत्व खाएको मान्छेको मासु त झनै मीठो हुन्छ भन्ने लागिरहेकोले यस्तो भएको हुन सक्छ ।

अझ अहिले साना बच्चाहरुको मासुसम्बन्धी आङ नै सिरिङ्ग गर्ने समाचारहरु बाहिर आउन थालेका छन् । चीनमा एवोर्सन गरेका नवजातको सालनालसहितको मासु पकाउने रेष्टुरेन्टको भिडियो सामग्री बाहिर आएको छ । यो तथ्यलाई याे लिंकमा हेर्न सक्नुहुन्छ ।

यहाँ लेख्न डर लाग्ने कुराहरु खान मान्छेहरु लालायित छन् । यस्तै हो भने मान्छेले कुनै दिन आफ्नै सन्तानको मासु खाँदैन भन्न सकिन्छ ? तामसी भोजनले मान्छेलाई यहाँसम्म डोहाेर्‍याएर लैजाँदैन भन्न सकिन्छ र ?

सभ्यताको कुनै कालखण्डमा जिउँदो रहन मात्रै मान्छेले मासु खाएको हो । चीनले खेपेको भोकमरी(२०५९–२०६३) जस्ता पृथ्वीका विभिन्न भागमा धेरै पटक आएको छ । त्यसैले बाँच्न उनीहरुले केही खान बाँकी राखेनन् । तर मानिसको प्राकृतिक बनावट मासु खाने प्रजातिअन्तर्गत पर्दैन ।

मानिसका सबै अंग शाकाहारीकै लागि बनेका छन् । सबै मांसहारी प्राणीलाई मासु काट्ने र लुछ्ने तिखा दाँत र नङ्ग्रा प्रकृतिले दिएको हुन्छ । बाघ, कुकुर, विरालो आदि जनावरका दुईवटा तिखा अलग्गै दाँत हुन्छन् । तिनीहरुले पानी पिउँदैनन्, चाट्छन् । तिनीहरुको शरीरबाट पसिना निस्किँदैन, जिब्रोबाट पसिना निकाल्छन् । अनि खाना पस्नसाथ छोटो समयमा निस्कने छोटा आन्द्रा हुन्छन् । शाकाहारी प्राणीको आन्द्रा सानो हुन्छ, हतियारका रुपमा नंग्रा हुँदैनन् । चपाउने प्रयोजनका लागि मात्रै सामान्य दाँत हुन्छन् । यसको मतलब मान्छे शाकाहारी प्राणी हो ।

शान्तिदूत बुद्धका अनुयायी धेरै भएका देशमा ‘यहाँ मरेको मासु पाइन्छ’ भन्दै हजारौंहजार रेष्टुरेन्ट चलाइरहेछन् । यता मुसलमान अल्लाहाले नै हलाल गर्नु भन्नुभएको छ भन्ने तर्क गर्छन् । क्रिश्चियनमा यशु नै मांसाहारी हुनुहुन्थ्यो भनेर मासु खान उकासिन्छ अनि हिन्दूमा पनि हाम्रो त शास्त्रमै लेखिएको छ भनेर मांशहार गर्न उकासिन्छ । यो सबै मासु बेच्ने अभियानका साथ भैरहेको छ । किनकि संसारको सबै शक्ति आज मासु उत्पादनमा केन्द्रित छ ।

हाम्रो समाजमा मासुबाट पाइने प्रोटिन अरुबाट पाइँदैन भन्ने भ्रमबाट मासु खाने मनोविज्ञान तयार गरिन्छ । क्यालोरीको स्रोतबारे मासु व्यापारी र उपभोक्ताहरुले बताएको भन्दा भिन्न तथ्य हामी आज पनि देख्न सक्छौं ।

मासु किन्नेभन्दा आधा खर्चमा किनिएको गेडागुडी र सागपातबाट त्योभन्दा धेरै प्रोटिन पाइन्छ । कतिले एमिनो एसिड र भिटामिन ‘बी १२’ लिनलाई मासु खानु परेको तर्क गर्छन् । अनि जनावरको मासुमा चाहिं कहाँबाट एमिनो एसिड र भिटामिन ‘बी–१२’ आउने हो ? तिनले खाने अन्न सागपातबाट होइन ? मुगीको दालमा धेरै प्रोटिन, क्याल्सियम र माइक्रोन्युटियन्स पाइन्छ । उखुको रस, नरिवल पानी र सुन्तला जातका फलफूलहरु नै यिनका स्रोत हुन् ।

अर्को कुरा आज संसारभर जति भूभागमा खेती भैरहेको छ, त्यसको ७० प्रतिशत तिनै मासुका लागि पालिएका जनावरलाई आहारमा खपत भइरहेको छ भने बाँकी ३० प्रतिशत जमिनमा मात्र शाकाहारीका लागि खाद्यान्न उब्जाउ भैरहेको छ । अनि ७० प्रतिशत जमिनमा उब्जाइएको अन्न फार्ममा पालिएका जनावरलाई खुवाइन्छ । त्यसबाट मात्र ३८ प्रतिशत क्यालोरी पाइन्छ भने बाँकी मान्छेलाई खान अन्न उत्पादन गर्न प्रयोग भएको २३ प्रतिशत जमिनबाट ६७ प्रतिशत क्यालोरी प्राप्त छ । तर तथ्य एकतिर थन्क्याएर न्युट्रियन्स र प्रोटिनको हबला दिँदै कसैको घाँटी नै निमोठ्न हतार छ हामीलाई ।

संसारभर अहिले ४० मिलियन टन शाकाहारको लागि अन्नको अभाव छ । तर अहिले फार्ममा पालिएका जनावरलाई खुवाउन ७६० मिलियन टन खाद्यान्न प्रयोग हुन्छ । तथ्य भन्छ– मासु उत्पादनका सबै उद्योग बन्द गर्ने हो भने १६० करोड हेक्टर जमिनमा मान्छेको लागि खाद्यान्न उत्पादन गर्न सकिने हुन्छ । त्यो भनेको आजको दोब्बर जनसंख्यालाई पुग्ने अन्न हो । यसबाट हामी धेरै देशमा भोकमरी के कारणले आएको रहेछ भन्ने बुझ्न सक्छौँ ।  https://www.bbc.com/news/explainers-59232599 .

एउटा अध्ययनअनुसार साना ठूला गरेर सरदरमा दैनिक दुई सय करोड जनावर मासुका लागि काटिन्छन् । यो भनेको वर्षको ७२ अर्ब जनावर हुन् । ती जनावर पाल्नको लागि हरेक साल ६ लाख हेक्टर जंगल काटिन्छ । अनि मासु उत्पादनकै लागि यसरी जंगल काटिँदै गए आउने पुस्ताको लागि के बाँकी रहन्छ ? सबै जंगल सकिएपछि मान्छेले के खान्छ ? यसको अन्त्य कहाँ छ ?

विलासितका सामानका कारण संसारभर ३२ प्रतिशत गर्मी बढेको छ, २५ प्रतिशत गर्मी मासु उत्पादनले बढेको छ । फेरि मासु उत्पादन एकदमै महङ्गो मात्र हैन, पर्यावरणलाई पनि यसले अधिक असर पार्छ । एक किलो मासु उत्पादन गर्दा चालिस किलो बराबर पृथ्वीलाई असर गर्ने चिज उत्पादन हुन्छ । यता ४० किलो अन्न उत्पादन गर्दा मात्र एक केजी असरदार कुरा तयार हुन्छ । मांसहारको हरेक दिन २५ देखि १५० प्रजातिको अस्तित्व सकिरहेको छ । किनकि मासुको स्वाद लिनको लागि जंगल काटिइरहेको छ । यो तथ्यांक फ्रेण्ड अफ अर्थ नामक संस्थाको वेबसाइट र युएन डट ओआरजीमा पनि गएर पनि हेर्न सकिन्छ

एक रिपोर्टमा भनिएको छ– माछामासु नखाने हो भने अकालमा मृत्यु हुनेको संख्यामा ५१ लाख कमी आउनेछ । कार्बन उत्पादनका कारण पृथ्वीले जे असर भोगिरहेको छ, त्यसमा ७० प्रतिशतले कमी आउनेछ । एकजनाले मात्र मासु खान छोड्दा १७ जनाले जीवनभर पेटभरी खान पाएर जिउन सक्छन् ।

कसैले सागपात खानुलाई पनि हिंसा भएको तर्क गर्छन् । तर, त्यो सत्य होइन । वनस्पतीको प्रयोगमा जीवनहरण हुँदैन । रुखको फल खानकै लागि तयार हुन्छ । फल खान रुख मार्न जरुरी हुन्न । पाकेपछि फल आफैं पनि झर्छ । रुखबाट एक पत्ता निकालिदिउँ, उसले अर्को पत्ता बनाउँछ । मुन्टा टिपौं, अरु चार वटा मुन्टा दिन्छ । तर मान्छेको औँलो काटौं त अर्को पलाउँदैन । कुनै जनावरको मुन्टो काटिदिउँ, अर्को पलाउँदैन । यसरी भनौं– आहार त्यो हो, जहाँ कमभन्दा कम परपीडन हुन्छ ।

बलि दिने प्रथालाई सिरानी हालेर पनि मान्छेले आफ्नो मांशहारको औचित्य पुष्टि गर्न खोजेको देखिन्छ । तर बलि यस्तो व्यक्तिले दिन सक्छ या दिन्छ कि, उ आफू र जनावरमा भेद गर्दैन । उ पनि बलि चढ्नको लागि तयार भएर जन्म–मृत्युको प्रक्रियाभन्दा माथि उठेको हुनु पर्छ । यो ‘सर्वं खल्विदं ब्रह्म’ अर्थात् ‘सबै ब्रह्म हो’ भन्ने अवस्थामा आफूलाई पुर्याएको अवस्था हो । यो कुरा ती अघोरहरुका लागि हो । संसारिक मान्छेको लागि होइन ।

कति विद्वानहरु नै हाम्रो शास्त्रमा मासु खान भनिएको छ, त्यही भएर खान हुन्छ भन्ने तर्क गर्नुहुन्छ । हाम्रा शास्त्रमा त धेरै ठाउँमा ‘अहिंसा परमो धर्म’ पनि लेखिएका छन् । अझ ऋग्वेदमा त मासु खानेलाई कठोर दण्ड दिनू भनिएको छ (ऋग्वेद, दश मण्डल, सोह्रांै अध्याय, ८७ श्लोक ) ।

विभिन्न व्रत संकल्प गर्ने संस्कृति हाम्रै शास्त्रमा प्रशस्तै छ । शास्त्रले शरीरले मात्र होइन, वचनले पनि अरुलाई नदुखाऔं, मनले कल्पेर पनि कसैको कुभलो नचिताऔं भनेर संकल्पित हुन सिकाउँछ । खासमा यसकारणले मान्छेलाई चेतनशील, सभ्य जस्ता आदरभावले बोलाइन्छ किनकि आफ्नो पेट भर्नु, आफू पुष्ट हुनु मात्र मान्छेको अन्तिम लक्ष्य हुँदैन । मान्छेले नराम्रो र राम्रो छुट्याउन सक्छ । मानवीयता प्रयोग गर्छ ।

आधुनिक विज्ञानले चित्तका बारेमा अध्ययन गर्नसक्ने कुरै भएन । तर हाम्रा सन्त बागभट्टले खाना मात्र हैन, खाएको समय मन र चित्तको दशा स्थिर रहनुपर्छ भनेका छन् । हाम्रोमा खानुअघि अप्सानी हाल्ने, चढाउने र तयार भएको चिजको लागि धन्य हुँदै खाने संस्कृति छ (ऋग्वेद,११०१,१४, अथर्व वेद ७,२६,६) ।

यसरी हामीसँग उत्कृष्ट र रगतले लत्पतिएको निकृष्ट दुवै इतिहास छन् । अनि राम्रो इतिहास छोपेर रक्तरञ्जित शास्त्र देखाएर हिंसा गर्ने र गर्न अभिप्रेरित गर्न सुहाउँछ ?

समग्रमा भन्दा संसारभरको शक्ति आज केहीमा खर्चिएको छ भने त्यो मासु उत्पादन गर्ने, त्यसका लागि जंगल काट्ने र मासुलाई संसारभर फैलाउन खर्चिएको छ । अनि यसको अन्त्य कहाँ छ, धेरैको चासोको विषय बनेको छ । त्यसैले संसारभरबाट अहिले ‘शाकाहार बनौं’ भन्ने अभियान उठेको छ ।

संसारभरका झण्डै आठ बिलियन जनसंख्यामा अहिले १.५ बिलियन निरामिस छन् । संसारमा सबैभन्दा निरामिस भएको देश भारत हो । त्यहाँ ३८ प्रतिशत मान्छे निरामिस छन् । नेपाल त झनै शाकाहारीहरुकै देश हो, किनकि यहाँ कहिल्यै भोमकरी लागेन । अनि फलफूल तरकारी र जडिबुटीले भरिपूर्ण ठाउँमा मांशहारी हुन जरुरी नै भएन । आहारबाट प्राप्त हुने शान्त चित्तदशा हाम्रो भौगोलिक र शास्त्रीय परम्परा हो । त्यसैले हामीले जागरुक चित्तका लागि निरामिस हुनु जरुरी छ । आफू मात्र हैन, अरुलाई पनि निरामिस हुन प्रेरणा दिउँ । यसले जीवनमा क्रान्ति ल्याउँछ ।

प्रतिक्रिया

2 thoughts on “के आहारले विचार निर्माण गर्छ ?

  1. बिनु पोखरेलजी, राम्रो लेख तथा ज्ञान बर्धक छ l ऋग्बेदको एक श्लोकको सन्दर्भ १०.८७.१६ हो कि जस्तो लाग्छ l

  2. मानब शरिर अनि जिवनलाइनै Food ले कसरि कस्तो असर पार्छ भन्ने प्रस्त
    पारेको छ यो ज्ञान् बरधक लेखले । साधुबाद ।
    food is what we eat what we eat is what we are आहार्ले स्वास्थ लाई निर्वाण र स्वास्थले विचार्लाइ निर्वाण गर्छ जस्तो लाग्छ

Leave a Reply

Your email address will not be published.