सानिया मिर्जाले घोषणा गरिन् सन्न्यास


नयाँ दिल्ली । भारतीय चर्चित लन टेनिस खेलाडी सानिया मिर्जाले चालु सिजनपछि खेलाडी जिवनबाट सन्न्यास लिने घोषणा गरेकी छन् ।
अस्ट्रेलियामा जारी वर्षको पहिलो ग्रान्डस्लाम टेनिस अस्ट्रेलियन ओपनको महिला युगलतर्फ पहिलो चरणमै पराजित भएपछि मिर्जाले सन् २०२२ पछि आफूले प्रतिस्पर्धा नगर्ने जानकारी गराएकी हुन् ।
‘मैले निर्णय लिइसकेको छु की यो मेरो अन्तिम सिजन हुने छ’, ३५ वर्षीय मिर्जाले भनेकी छन् ।
उनी डब्लूटीएको एकल स्पर्धातर्फ उपाधि जित्ने पहिलो भारतीय खेलाडी हुन् । सन् २००५ मा उनले उक्त सफलता हात पारेकी थिइन् । चोटका कारण उनी त्यसपछि युगल स्पर्धामा केन्द्रित भएकी थिइन् ।
मिर्जाले मार्टिना हिंगिजसँग मिलेर सन् २०१५ मा पहिलो ग्रान्डस्लाम उपाधिका रुपमा विम्बल्डन जितेकी थिइन् । त्यसपछि यूएस ओपन र अस्ट्रेलियन ओपन पनि जित्न सफल भइन् ।
सानियाले मिश्रित युगलतर्फ महेश भुपतीसँग मिलेर सन् २००९ मा अस्ट्रेलियन ओपन र सन् २०१२ मा फ्रेन्च ओपन पनि जितेकी थिइन् ।
मिर्जाले १५ वर्षको उमेरमा एसियन गेम््समा स्वर्ण पदक जितेकी थिइन् ।
पाकिस्तानी क्रिकेटर सोएब मलिकसँग विवाह गरेपछि कोर्ट बाहिरपनि मिर्जाको चर्चा चुलिएको थियो । उनिहरुका तीन वर्षका छोरा छन् ।
आमा बनेपछि दुई वर्ष कोर्ट बाहिर रहेर मिर्जाले सन् २०१९ मा पुनरागमन गरेकी हुन् ।