हिंसात्मक प्रदर्शनलाई नियन्त्रण गर्न रुसी सेना कजाकस्तान प्रवेश, १८ जना प्रदर्शनकारी मारिए – Nepal Press

हिंसात्मक प्रदर्शनलाई नियन्त्रण गर्न रुसी सेना कजाकस्तान प्रवेश, १८ जना प्रदर्शनकारी मारिए

मस्को । इन्धनको मूल्यलाई लिएर सुरु भएको अस्थिरताबीच राष्ट्रपति कासीम जोमाट टोकाएभको आग्रहमा रुसले नेतृत्व गरेको सैन्य बलको एउटा टुकडी काजकस्तान प्रवेश गरेको छ। त्यहाँको प्रमुख सहर एल्माटीमा मसिन गन प्रहारका आवाज समेत सुनिएका छन् ।

त्यहाँ केही प्रहरी र प्रदर्शनकारीहरूको मृत्यु भएको जनाइएको छ । राष्ट्रपतिले विना कुनै प्रमाण विदेशमा प्रशिक्षण लिएका ‘आतङ्कवादीहरु’ माथि पछिल्ला घटनाका लागि दोष दिएका छन्।

बुधवारको टेलिभिजन सम्बोधनमा राष्ट्रपति टोकाएभले रुसले नेतृत्व गरेको कलेक्टिभ सेक्युरिटी ट्रिटी अर्गनाइजेसन (सीएसटीओ)लाई प्रदर्शन रोक्नेतर्फ सघाउन आग्रह गरेका थिए । उक्त सङ्गठनमा रुस, काजकस्तान, बेलारुस, ताजिकिस्तान अनि आर्मिनिया सदस्य छन्। अहिले त्यहाँ पठाउन लागिएको कूल सैन्य सङ्ख्या २,५०० रहने बताइएको छ।

सीएसटीओले ती सुरक्षा अधिकारीहरू शान्ति सेना रहेको र उनीहरूले राज्य तथा सेनाका सम्पत्तिको रक्षा गर्ने जनाएको छ। उनीहरू काजकस्तानमा केही दिन वा केही हप्ता बस्न सक्ने एक रुसी समाचार संस्थाले जनाएको छ। अमेरिकाको विदेश मन्त्रालयले आफूहरूले रुसी नेतृत्वको फौज परिचालनलाई नजिकबाट नियालिरहेको जनाएको छ।

प्रदर्शन चर्किएसँगै काजकस्तानमा सङ्कटकाल घोषणा गरिएको छ। सरकारी निकायहरूले गाडीमा प्रयोग गरिने इन्धनको मूल्य बढाएसँगै देशका विभिन्न सहरहरूमा प्रदर्शन सुरु भएको हो। मूल्य वृद्धि फिर्ता लिने पछिल्लो सरकारी कदमले प्रदर्शनकारीहरूलाई शान्त बनाउन सकेको छैन। काजकस्तानमा रातभरि हिंसा जारी रहेको बताइएको छ।

अधिकारीहरुका अनुसार हिंसात्मक प्रदर्शनमा १८ जना प्रदर्शनकारी मारिएका छन् ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर