बेमौसमी वर्षाले करोडौंको काँचो इँटामा क्षति – Nepal Press

बेमौसमी वर्षाले करोडौंको काँचो इँटामा क्षति

रुपन्देही । हरेक वर्ष हुने वेमौसमी वर्षाका कारण उद्योगीले करोडौं मूल्य बराबरको काँचो इँटा नष्ट हुँदै आएको गुनासो गरिरहेका छन् ।

उद्योगीले यो गुनासो पटक पटक सम्बन्धित ठाउँमा राखे पनि अहिलेसम्म कुनै विकल्प ल्याइएको छैन । यसले उद्योगी मारमा परेका छन् भने बजारमा इँटाको अभाव हुने गरेको छ ।

त्यस्तै इँटाको मूल्यमा वृद्धि हुँदा उपभोक्तासमेत मारमा पर्ने गरेका छन् । वर्षेनी इँटा नष्ट हुँदासमेत यसतर्फ सम्बन्धित निकायको ध्यान जानसकेको छैन । उद्योगीले काँचो इँटाको बीमा तथा कोइलाको सहजरुपमा आपूर्ति हुनुपर्ने माग गर्दै आएका छन् । तर उद्योगीले उठाएका माग सम्बोधन हुन सकेको छैन । दुई वर्षदेखि कोरोना महामारीका कारण संकटमा परेको उद्योग/व्यवसाय बैमौसमी वर्षाका कारण थप समस्या थपिएको इँटा उद्योगीको गुनासो छ ।

न्यू कामना ईट्टा उद्योग सियारी गाउँपालिका–७ रुपन्देहीका सञ्चालक टंक अधिकारीले ४ महिना चल्ने उद्योगमा बैमौसमी वर्षाले क्षति हुने गरेको बताए । ‘काँचो इँटा राम्रोसँग सुकेर गोदामभित्र लैजान जाडोमा करिब १०–१५ दिन र गर्मीमा ५ दिन लाग्छ,’ उद्योगी अधिकारीले भने, ‘१२ दिन इँटा केही गरी पनि जतन गर्न सक्दैनौं ।’ यस वर्ष सोचे भन्दा बढी वर्षा भएकाले नोक्सान बढेको अधिकारीले बताए ।

व्यवसायीले इँटामा नोक्सानी गरेर मूल्यवृद्धि गर्न कहिल्यै नचाहेको उनको प्रष्टोक्ति छ । ‘अहिले मूल्य बढाउने मनसायमा छैनौं, तर कोइला, मजदूरको लागत बढ्दै गएकोले मूल्यवृद्धि हुन सक्छ,’ उनले भने ।

प्रतिगोटा १८ रुपैयाँमा विक्री गर्दा पनि खासै मुनाफा हुने स्थिति नरहेको उनले बताए । ‘एउटा इँटा उद्योग स्थापना गर्न कम्तीमा ५÷६ करोड लाग्छ, रुपन्देहीमा सञ्चालित इँटा उद्योगमा करिब १० अर्ब लगानी छ भने ८ हजार बढी मजदूर कार्यरत छन्,’ उनले भने, ‘वर्षेनी करोडौंको क्षति व्यहोर्दै आएका ईट्टा उद्योगीलाई राहत दिन सरकारकै पहलमा काँचो इँटाको बीमा गर्नुपर्छ ,’

अप्रत्यासित रुपमा वर्षा हुँदा गोदाममा स्टक गरेर भट्टामा पोल्ने अवस्थामा रहेको काँचो इँटा ठूलो मात्रामा नोक्सान भएको लुम्बिनी इँटा उद्योग व्यवसायी संघका महासचिव अजयकुमार गुप्ताले बताए । अब नयाँ इँटा उत्पादन गर्न एक महिना ढिलाई हुने गुप्ताले बताए । ‘पानी परेको छ, पानी सुक्न पनि जाडोमा धेरै समय लाग्छ त्यसैले नयाँ उत्पादन एक महिना धकेलिएको छ’ उनले भने ।

जिल्लामा कोइलाको आपूर्ति सहजरुपमा हुन नसक्दा पनि यसको अभाव रहेको उनले बताए । कोइलाको आपूर्ति सहज र सुपथ मूल्यमा हुनुपर्ने उनको माग छ ।

नेपाल इँटा उद्योग महासंघका केन्द्रीय सदस्य रमेश खनालले सरकारले योजना नबनाउँदासम्म बीमा कम्पनीले केही गर्न नसक्ने बताए । ‘जबसम्म राज्यले चाहँदैन, काँचो इँटाको बीमा हुँदैन, त्यसैले यसतर्फ राज्यले नै पहलकदमी लिनुपर्छ,’ उनले भने ।

एक साताको वर्षाले रुपन्देही जिल्लामा मात्रै ८ करोड मूल्य बराबरको काँचो इँटा नष्ट भएको उद्योगीको दावी छ । वर्षाले जिल्लामा रहेको ५० वटा उद्योगमध्ये सञ्चालनमा रहेका ४७ वटा उद्योगमा ३ करोड २५ लाख वटा इँटा नष्ट भएको हो ।

 


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर