निधि फेरि देउवाबाट अलग्गिए, यादवलाई जिताउन गृहमन्त्री जनकपुरमा – Nepal Press

निधि फेरि देउवाबाट अलग्गिए, यादवलाई जिताउन गृहमन्त्री जनकपुरमा

जनकपुरधाम । नेपाली कांग्रेसका नेता विमलेन्द्र निधिले नवनिर्वाचित सभापति शेरबहादुर देउवाको साथ छाडेका छन् । उनी प्रदेश २ अध्यक्षमा आफूनिकट रामसरोज यादवलाई जिताउन संस्थापनइतरसँग छलफलमा छन् ।

रामसरोज यादव प्रदेश २ का भौतिक पूर्वाधार विकास मन्त्री पनि हुन् । उनी पनि देउवा निकट नै थिए । तर निधिले देउवासँग विद्रोह गरेर राष्ट्रिय महाधिवेशनको पहिलो चरणमा सभापतिको उम्मेदवार बनेका थिए । दोस्रो चरणको चुनावमा उनले देउवालाई नै सघाए ।

तर देउवाले रामसरोजलाई नपत्याएपछि निधीले पुनः सम्बन्ध तोड्ने भएका छन् । स्रोतका अनुसार निधिले शेखर कोइराला र रामचन्द्र पौडेल समूहको सहयोगमा रामसरोजलाई प्रदेश सभापति बनाउन हिजोदेखि नै सक्रिय छन् । आज बन्दसत्र सुरु हुने भएकाले शेखर कोइराला समूहका रामकृष्ण यादवसहितका नेतासँगको छलफलमा निधि व्यस्त छन् ।

कोइराला समूहले उपसभापति १, महामन्त्री १ र सहमहामन्त्री २ लिएर सहमती गर्न तयार छ । तर निधिले महामन्त्री १ र सहमहामन्त्री १ मात्र दिने अडान लिएपछि सहमति जुट्न सकेको छैन । रामचन्द्र पौडेल समूहका एक नेता भन्छन्, ‘अहिले पद बाँडफाड भएको छैन । छलफल जारी छ । कुरा मिल्ने सम्भावना बलियो छ ।’

देउवा समूहका प्रदेश सभापतिका उम्मेदवार कृष्ण यादवलाई जिताउन गृहमन्त्री बालकृष्ण खाँड जनकपुर आएका छन् । सोमवार साँझ जनकपुर आइपुगेका गृहमन्त्री खाँड विभिन्न नेताहरुसँग छलफल गरिरहेको बुझिएको छ ।

प्रदेश निर्वाचन समितिले जनकपुरको गोपाल धर्मशालामा दिउँसो २ बजे मनोनयन पत्र दर्ताका लागि समय निर्धारण गरेको छ । अहिले जिल्लाका प्रतिनिधिहरुले नाम दर्ता गराइरहेका छन् । नाम दर्ता गराउन प्रतिनिधिले २ हजार नगद तिर्नुपर्छ ।

प्रदेश अधिवेशनका १ हजार ९२० प्रतिनिधि चयन भएका छन् । प्रत्येक प्रदेश निर्वाचन क्षेत्रबाट २५ जना प्रतिनिधि चयन भएका हुन् । प्रदेश २ को ८ जिल्लामा ६४ प्रदेशसभा निर्वाचन क्षेत्र रहेको छ । सबै प्रक्रिया पुरा गरी भोलि विहानदेखि मतदान सुरु गर्ने तयारी निर्वाचन समितिको छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर