सडकमा उत्रिने कांग्रेसको निर्णयमा एमाले- आज सहमति नभए मुठभेड नै चाहेको ठहर्छ – Nepal Press

सडकमा उत्रिने कांग्रेसको निर्णयमा एमाले- आज सहमति नभए मुठभेड नै चाहेको ठहर्छ

'उहाँहरूलाई बुझ्न सकिएन'

काठमाडौं । सहकारी प्रकरणमा संसदीय छानबिन समितिको कार्यादेश (टीओआर) बनाउन वार्ता चलिरहेको बेलामा प्रमुख प्रतिपक्ष दल नेपाली कांग्रेस सडक आन्दोलनको घोषणा गरेपछि सत्तापक्षले असन्तुष्टि जनाएको छ ।

कांग्रेसको हिजो बसेको केन्द्रीय समिति र संसदीय दलको संयुक्त बैठकले उपप्रधान तथा गृहमन्त्री रवि लामिछानेको राजीनामा माग्ने तहसम्मको छलफल गरेर सडक आन्दोलनको घोषणा गरेको थियो ।
तर, कांग्रेसको यो घोषणापछि टीओआर टुंग्याउन आज बस्ने कार्यदलको बैठकमा सहमति जुट्न सम्भावना कमजोर बन्दै गएको छ ।

कार्यदलका सदस्य तथा रास्वपा सांसद शिशिर खनालका अनुसार बैठक आज दिउँसो ३ बजे कानून मन्त्रालयमा बस्दैछ ।

उनले भने, ‘आज छलफल गर्दैछौं । अस्तिको बैठकमा हामीले सहमति जुट्ने विश्वासको साथ उठेका थियौं । उहाँहरू सहमति गर्ने ढंगबाट आउनुहुन्छ भन्ने विश्वास राखेका छौं ।’

कार्यदल सदस्य तथा एमालेका प्रमुख सचेतक महेश बर्तौला आजको बैठकमा निर्णायक छलफल हुने बताउँछन् ।

उनले भने, ‘कांग्रेस सहमतिको लागि तयार भएर आयो भने आजको बैठकमा निष्कर्ष निस्कन्छ । सहमति भएन भने अन्तिम त नभनौं आज एउटा ट्रनिङ प्वाइन्ट हुन्छ ।’

यता वार्ता चलिरहेको बेलामा कांग्रेसले सडक आन्दोलनको घोषणा गर्‍यो, अब कसरी अगाडि बढ्छ ? भन्ने नेपाल प्रेसको जिज्ञासामा उनले भने, ‘एकातिर सहमति गर्न सरकार अगाडि बढिसक्यो । तर, कांग्रेसलाई बुझ्न सकिएन । एकातिर मुद्दा नभएको विषयमा मुद्दा लगाउनुपर्‍यो भनेर अदालतमा मुद्दा हाल भनेर नाराजुलुस लगाउँछ । अर्कोतिर अदालतले गरेको कामलाई किन गरेको भन्छ ।’

उनले गृहमन्त्रीको नाम राखेर छानबिन समिति नबन्ने दोहोर्‍याए ।

उनले थपे, ‘पीडितको न्याय होइन, नामै अडान हो भनेर आउनुहुन्छ भने लेखर राख्नुस् नेपाली कांग्रेसले सदन खुलाउन चाहँदैन, मुठभेड चाहन्छ । अस्थिरता चाहन्छ भन्ने आज हामी निष्कर्ष निकाल्छौं ।’

उनले कांग्रेससँग सहमति नभएपनि भोलिदेखि सरकारले सदन चलाउने सुनाए ।

बर्तौलाले थपे, ‘हामी सहमति गरेर जाऔं भनेर प्रयास गरेका छौं । तर, उहाँहरू मैले भनेकै हुनुपर्छ भनेर चरम अहंकार राखेको छ । आज सहमति नभएपछि सरकारले नीति तथा कार्यक्रममाथिको छलफल र बजेट सदनबाटै ल्याउँछ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर