प्रदेश २ मा माओवादी विवाद अझै मिलेन, बन्दसत्र प्रभावित हुनसक्ने – Nepal Press
माओवादी सम्मेलन

प्रदेश २ मा माओवादी विवाद अझै मिलेन, बन्दसत्र प्रभावित हुनसक्ने

अध्यक्षका लागि साह र शर्माको सशक्त दाबी

जनकपुरधाम । प्रदेश २ का धेरै पालिकाको अधिवेशन विवादित बनेपछि नेकपा मओवादी केन्द्रको प्रदेश अधिवेशन प्रभावित हुने भएको छ ।

माओवादी प्रदेश २ को अधिवेशन अन्तर्गत उद्घाटनसत्र मंसिर २५ मै जनकपुरधाममा सम्पन्न भयो । भोलिदेखि सर्लाहीको लालबन्दीमा प्रदेश अधिवेशनको बन्दसत्र हुने भनिएको छ । तर धेरै पालिकामा विवाद नमिलेपछि प्रदेशको बन्दसत्र प्रभावित हुने देखिएको छ ।

प्रदेश अधिवेशनको उद्घाटनसत्रका बेला माओवादी प्रदेश इन्चार्ज प्रह्लाद बुढाथोकीले १३६ मध्ये ३० पालिकामा मात्र अधिवेशन गर्न बाँकी रहेको बताएका थिए । ती पालिकाहरुको विवाद भने अझै समाधान हुन सकेका छैन । आज बेलुकासम्म अधिवेशन सकेर प्रदेश प्रतिनिधिको नाम नपठाएपनि बन्दसत्र अगाडि बढाउने प्रदेश इन्चार्ज बुढाथोकीले बताए ।

उनका अनुसार सप्तरीका सबै पालिका, धनुषाको सबैला र पर्साको वीरगञ्ज महानगरपालिकामा मात्र विवाद देखिएको छ । अन्य पालिकाको अधिवेशन आजै बेलुवासम्म सकिन्छ । ‘विवादका कारण अधिवेशन नहुने पालिकालाई छाडेर भएपनि बन्दसत्र अगाडि बढाइन्छ,’ उनले भने ।

यस प्रदेशमा नारायणकाजी श्रेष्ठ र मातृका यादव समूह सक्रिय छन् । दुवै नेताले प्रायः हरेक पालिकाको नेतृत्व र प्रतिनिधिमा बर्चश्व कायम गर्न खोजेपछि विवाद भएको छ । मातृका यादवकै गाउँ सबैला नगरपालिकाको अधिवेशन समेत हुन सकेका छैन । विवादकै कारण सबैलामा दुईवटा नगर कमिटी बनेको छ ।

सप्तरीमा पूर्वमन्त्री उमेश यादव र अमर मण्डलबीच विवाद देखिएको छ । उमेशविरुद्ध मातृका यादवले मण्डललाई सक्रिय पारेको स्रोतको दाबी छ । मण्डलले सप्तरीका सबै पालिका र जिल्लामा समेत समानान्तर कमिटी बनाएका छन् । बिहीबारसाँझ केन्द्रीय नेताहरुले मण्डललाई ५५ र यादवलाई ४५ प्रतिशत प्रतिनिधि दिनेगरी सहमतिको प्रयास गरेपनि सफल नभएको बुझिएको छ ।

को–को छन् अध्यक्षका आकांक्षी ?

माओवादी प्रदेश अध्यक्ष र अन्य पदाधिकारीका लागि अहिलेसम्म कुनै नेताले पनि औपचारिक उम्मेदवारीको घोषणा गरेका छैनन् । अध्यक्षका आकांक्षी भने आधा दर्जन बढी नेता छन् ।

प्रदेश २ का आन्तरिक मामिला तथा सञ्चारमन्त्री भरतप्रसाद साह, पूर्वमन्त्री रामकुमार शर्मा, वर्तमान प्रदेश अध्यक्ष प्रह्लाद बुढाथोकी, प्रदेश सचिव श्रवण बरबरिया र प्रदेश सांसद जगत यादव प्रदेश अध्यक्षका आकांक्षी रहेको बताइएको छ । तर उनीहरुमध्ये प्रदेश मन्त्री साह र पूर्वमन्त्री शर्माले प्यानल बनाएर प्रतिस्पर्धामा उत्रने एक नेताले बताए ।

ती नेताका अनुसार प्रदेश मन्त्री साहलाई मातृका यादवले प्रदेश अध्यक्ष बनाउन चाहेका छन् । यादवबाहेकका नेताको साथ पूर्वमन्त्री शर्मालाई छ । नारायणकाजी श्रेष्ठले पनि शर्मालाई नै साथ दिएका छन् । साह र शर्मा प्यानल खडा गरेर प्रतिस्पर्धामा उत्रने सम्भावना छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर