दलित संघका पूर्व केन्द्रीय सदस्य नेपालीद्वारा पार्टी केन्द्रीय सदस्यमा उम्मेदवारी घोषणा – Nepal Press

दलित संघका पूर्व केन्द्रीय सदस्य नेपालीद्वारा पार्टी केन्द्रीय सदस्यमा उम्मेदवारी घोषणा

काठमाडौं । दलित संघका पूर्व केन्द्रीय सदस्य युवा नेता पदम नेपालीले नेपाली कांग्रेसको १४ औँ महाधिवेशनमा पार्टीको केन्द्रीय सदस्यमा उम्मेदवारी दिने घोषणा गरेका छन् । नेपालीले १४ औँ महाधिवेशनमा केन्द्रीय सदस्य (समावेशी दलिततर्फ) उम्मेदवारी दिने घोषणा गरेका हुन् ।

नेपाली यसअघि नेपाली कांग्रेसको भ्रातृ संगठन नेपाल दलित संघको केन्द्रीय सदस्य तथा सेती अञ्चल संयोजक भइसकेका छन् । ‘स्वास्थ्य, शिक्षा र स्वरोजगारः मेरो राजनैतिक मूल आधार’ भन्ने प्रतिवद्धतासहित उम्मेदवारी घोषणा गरेका नेपालीले १४ औं महाधिवेशन प्रतिनिधि, प्रतिनिधिसभा क्षेत्रीय सभापति, जिल्ला सभापतिलगायत मतदातालाई आफूलाई मतदानका लागि अपिल गरेका छन् ।

उनले प्रतिनिधिको एक मतले समाज परिवर्तन र कांग्रेस रूपान्तरणमा महत्वपूर्ण योगदान हुने भन्दै सही र दीगो राजनीति गर्ने युवालाई मतदानका लागि आग्रह गरेका छन् । बाजुरा जिल्लाबाट महाधिवेशन प्रतिनिधि निर्वाचित नेपालीले आफ्नो समाजसेवाको मुख्य आधार राजनीति नै भए पनि विगत लामो समयदेखि कैलालीको धनगढीमा रहेर शिक्षा, कृषि फर्म र स्वरोजगारमूलक क्षेत्रमा लगानी गरेर उद्यमशीलतालाई पनि प्रवद्र्धन गरिरहेको बताएका छन् ।

‘राजनीति व्यापारका रुपमा लाञ्छित भइरहेका बेला मैले उद्यमशीलतामार्फत अर्थोपार्जन र राजनीतिमार्फत सेवा भन्ने मान्यतासहित काम गरिरहेको छु’ नेपालीले भने, ‘मैले जितेमा नेपाली कांग्रेस र राजनीतिमा मेरोजस्तै मान्यता राख्ने आम युवाहरुलाई हौसला मिल्ने छ र यसले नेपाली राजनीतिलाई सम्मानित बनाउन योगदान हुनेछ ।’  नेपाली कांग्रेसका प्रभावशाली नेता पूर्व महामन्त्री कृष्णप्रसाद सिटौला समूह निकट रहेका छन् ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *