दुई महामन्त्रीका लागि १० नेताको दाबी, कसरी होला व्यवस्थापन ? – Nepal Press
कांग्रेस महाधिवेशन

दुई महामन्त्रीका लागि १० नेताको दाबी, कसरी होला व्यवस्थापन ?

काठमाडौं । शुक्रबारदेखि सुरु हुने नेपाली कांग्रेसको १४ औं महाधिवेशनबाट चुनिने नेतृत्वबारे आमचर्चा छ । वडादेखि नै प्रष्ट दुईधारबीच प्रतिस्पर्धा भएकाले केन्द्रीय नेतृत्व चयनका लागि पनि प्यानलै बनाएर चुनाव हुने निश्चित छ ।

अहिले नेपाली कांग्रेसको संस्थापन, संस्थापनइतर र कृष्ण सिटौला पक्ष आफ्नो प्यानल बनाउने गृहकार्यमा जुटिरहेको छ । तीनै समूहलाई प्यानल बनाउन सकस परिरहेको छ । सिटौला पक्षलाई आफ्नो पक्षमा पार्न संस्थापन र संस्थापनइतर पक्षले भरसक प्रयास गरिरहेको छ ।

सभापतिसँगै पदाधिकारी र सदस्यहरुमा तीनै पक्ष प्यानल बनाएर चुनावमा जाने सम्भावना भने कम छ । सिटौला पक्षले लिने निर्णयले समीकरण फेरबदल हुनसक्ने सम्भावना छ । यद्यपि, त्यसबाहेक पनि पदाधिकारीको प्यानल बनाउन सकसै पर्ने देखिन्छ ।

संस्थापन पक्षबाट सभापतिमा शेरबहादुर देउवा निश्चित भए पनि पदाधिकारीको टिम बनाउन उनले छलफललाई तीव्रता दिएका छन् । संस्थापनइतर पक्षले अझैसम्म साझा उम्मेदवार तय गर्न सकेको छैन । उपसभापति रामचन्द्र पौडेल, महामन्त्री शशांक कोइराला, सहमहामन्त्री प्रकाशमान सिंह र नेता शेखर कोइरालाबीच सभापति उम्मेदवारको विषयमा सहमति भइसकेको छैन । उनीहरु सकेसम्म साझा उम्मेदवार बनाउने कसरतमा लागेका छन् ।

त्यस्तै उपसभापतिका लागि पनि तीनै पक्षका नेताहरुले अकांक्षा व्यक्त गरिरहेका छन् । सभापतिपछि ठूलो र प्रभावशाली मानिने महामन्त्रीका लागि अरु पदाधिकारीमाभन्दा बढी आकांक्षी देखिएका छन् । र, महामन्त्रीको रेस पेचिलो बनेको छ ।

संस्थापन पक्षबाट मात्रै आधा दर्जन आकांक्षी

अहिलेसम्म संस्थापन पक्षबाट छ नेताले महामन्त्रीमा उम्मेदवारी दिने घोषणा गरिसकेका छन् । अहिले सहमहान्त्री भएकाले महामन्त्रीमा प्रकाशरण महतको स्वभाविक दाबी छ । त्यस्तै देउवाका विश्वासपात्र मानिने हालका गृहमन्त्री बालकृष्ण खाँडले पनि महामन्त्रीमा सशक्त दाबी गरिरहेका छन् ।

संस्थापन पक्षबाटै सञ्चारमन्त्री ज्ञानेन्द्रबहादुर कार्की, पार्टी प्रवक्ता विश्वप्रकाश शर्मा र केन्द्रीय सदस्यहरु एनपी साउद र रमेश लेखकले पनि महामन्त्रीका लागि लबिङ गरिरहेका छन् ।

संस्थापन पक्षको प्यानलमा पर्न सबैले दौडधुप गरिरहेका छन् । यसबाट उपसभापतिमा उचाल्ने सम्भावना कम छ । तर, कसैले पनि सहमहान्त्रीमा झर्ने सम्भावना पनि नभएको बताइरहेका छ । अझ सिटौला पक्षको साथ लिँदा देउवा पक्षलाई झन् कठिन हुने देखिन्छ । देउवा–सिटौला पक्ष मिल्ने हो भने सिटौला पक्षले महामन्त्रीमा दाबी गर्ने देखिन्छ ।

सिटौला पक्षबाट महामन्त्रीमा युवा नेता प्रदिप पौडेलले दाबी गरिरहेका छन् ।

संस्थापनइतर पक्षबाट तीनजनाको दाबी

सभापतिका लागि साझा उम्मेदवार तय गर्न सकस परिरहेको कांग्रेस संस्थापनइतर पक्षमा महामन्त्रीका दाबेदार संस्थापन पक्षका भन्दा कम छन् । यद्यपि, उनीहरुबीच पनि भागबण्डा मिलाउन कठिन नै हुने देखिन्छ ।

अहिलेका रक्षामन्त्री मीनेन्द्र रिजाल उक्त पक्षका शक्तिशाली दाबेदार हुन् । त्यस्तै यसअघि कृष्ण सिटौला प्यानलबाटै महामन्त्री उठेर हारेका गगन थापा पनि अहिले उक्त पक्षबाट महामन्त्री हुन चाहिरहेका छन् । त्यस्तै नेता धनराज गुरुङले पनि महामन्त्री हुने आकांक्षा व्यक्त गरेका छन् ।

सिटौला पक्षलाई आफूतिर तान्न पनि संस्थापनइतर पक्षले प्रयास गरिरहेको छ । त्यसोहुँदा प्रदिप पौडेललाई व्यवस्थापन गर्ने विषय कठिन देखिन्छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर