राप्रपामा कमल थापाको प्रस्तावः गणतन्त्रवादी पनि अटाउने राजतन्त्र ! – Nepal Press

राप्रपामा कमल थापाको प्रस्तावः गणतन्त्रवादी पनि अटाउने राजतन्त्र !

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष कमल थापाले संवैधानिक राजतन्त्रबारेको नयाँ प्रस्ताव पार्टीमा अघि सारेका छन् । भृकुटीमण्डपमा जारी पार्टीको महाधिवेशनमा उनले पेश गरेको राजनीतिक दस्तावेजमा संसदको नियन्त्रणमा हुने गरी राजतन्त्र स्थान गर्नुपर्ने प्रस्ताव गरिएको छ ।

हिजो महाधिवेशन उद्घाटन समारोहमा थापाले नेपालमा राजादेखि विप्लवसम्मलाई स्पेस दिने गरी मौलिक खालको प्रजातन्त्र कायम राख्नुपर्ने बताएका थिए । उनको कार्यपत्रमा पनि राजतन्त्रदेखि गणतन्त्र पक्षधरहरु पनि अटाउने नयाँ मोडलको संवैधानिक राजतन्त्र जरुरी रहेको उल्लेख छ ।

‘सार्वभौमसत्ता जनतामा निहित रहने, देशको शासन जनताबाट निर्वाचित प्रनितिनिधिहरूले गर्ने तथा संसदको परिधि र नियन्त्रणअन्तर्गत राष्ट्रियता र साँस्कृतिक एकताको प्रतीकका रुपमा संवैधानिक राजसंस्था रहने मान्यतालाई राप्रपाले आत्मसात गर्नेछ,’ कार्यपत्रमा भनिएको छ ।

यो कार्यपत्रमाथि राप्रपाको बन्दसत्रमा छलफल जारी छ । थापाले राष्ट्रियता र सांस्कृतिक एकताको प्रतिकको रुपमा संवैधानिक राजसंस्था आवश्यक रहेको भन्दै सबैलाई अटाउन संसदको नियन्त्रणमा राजसंस्था जरूरी रहेको बताएका छन् ।

पार्टीको सिद्धान्त सम्वद्र्धनवाद भएको उल्लेख गर्दै थापाले पेस गरेको कार्यपत्रमा भनिएको छ, ‘राप्रपा सम्वद्र्धनवादमा विश्वास गर्ने पार्टी भएकोले एक प्राचीन संस्थाको रुपमा राजसंस्थालाई समयानुकुल परिमार्जन गर्दै कायम राख्नुपर्छ भन्ने दृढ मान्यता राख्छ ।’

विगत १२ वर्षको राजनीतिक घटनाक्रम तथा राजनीतिक अभ्यासले समेत राजसंस्थाको औचित्य पुष्टि हुँदै गएको कार्यपत्रमा उल्लेख छ । ‘प्राचीन संस्था भएको कारणले मात्र होइन नेपालको भू–राजनीतिक स्थिति, धार्मिक सामाजिक परिवेश एवं वर्तमान राजनीतिक अवस्थाको पृष्ठभूमिमा राजासहितको प्रजातन्त्रको सान्दर्भिकता पुष्टि हुन्छ,’ थापाले पेस गरेको राजनीतिक कार्यपत्रमा उल्लेख छ ।

राप्रपाले कुनै पनि शक्तिलाई निषेध गरेर दीगो शान्ति र स्थायित्व कायम हुन नसक्ने भन्दै कार्यपत्रमार्फत भनेको छ, ‘त्यसर्थ, राजादेखि माओवादीलगायतका सबै पक्ष, वर्ग र समुदाय अटाउन सक्ने नेपाली संस्करणको मौलिक प्रजातन्त्रको विकास नै वर्तमान समयको आवश्यकता हो र त्यो सम्भव छ भन्ने राप्रपाको दृढ विश्वास छ ।’

नेपालको संविधान जारी भएपछि नेपाल वैधानिक रुपमा गणतन्त्रमा प्रवेश गरेको तथ्यलाई स्वीकार गरिएको कार्यपत्रमा भनिएको छ ।

‘२०६२/६३ को जनआन्दोलनपछिको परिवर्तन एवं नेपालको संविधान २०७२ जारी भएपश्चात नेपाल वैधानिक रुपमा गणतन्त्रमा प्रवेश गरेको तथ्यप्रति पनि राप्रपा सचेत रहेको छ । त्यसर्थ, अबको राजसंस्था परिवर्तनका पक्षधरहरूलाई समेत चित्त बुझ्ने सहमति र सम्झौताको साझा संस्था हुनेछ ।’

राप्रपाले पार्टीको मुल सिद्धान्त र कार्यदिशा सम्वद्र्धनवाद भएको बताएको छ । थापाले सम्वद्र्धनवादलाई कार्यपत्रमा यसरी व्याख्या गरेका छन्ः
सनातन धर्म, संस्कृति, मर्यादा, परम्परा, संस्थाहरूको संरक्षण र सम्वद्र्धन गर्दै तथा राष्ट्रियता र प्रजातन्त्रलाई सुदृढ तुल्याउँदै सबल र समृद्ध राष्ट्रनिर्माण गर्ने अवधारणालाई सम्वद्र्धनवाद भन्न खोजिएको हो ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर