कोरिया जाने श्रमिक बसेको होटलमा श्रममन्त्री श्रेष्ठको ‘स्टिङ अपरेसन’, असुलेको बढी रकम फिर्ता (भिडिओसहित) – Nepal Press

कोरिया जाने श्रमिक बसेको होटलमा श्रममन्त्री श्रेष्ठको ‘स्टिङ अपरेसन’, असुलेको बढी रकम फिर्ता (भिडिओसहित)

काठमाडौं । मंगलबार राति श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री किसान श्रेष्ठलाई टेलिफोन गर्दै एक पत्रकारले भने– एयरपोर्टको बाल्टिक होटलमा भोलि कोरिया उड्न लागेका नेपाली श्रमिकलाई होटलले प्याकेजको नाममा बसेको दुईदिन बढीको भाडा असुलिरहेको छ ।

त्यसपछि मन्त्री श्रेष्ठ राति नै होटलमा पुग्न खोजे । तर राति डिस्टर्ब होला भनेर बुधबार बिहानै उक्त होटल पुगे । मन्त्री पुगेपछि पीडितहरुले गुनासो पोखे । मन्त्री श्रेष्ठले होटल सञ्चालकलाई पनि बोलाए, र कुराकानी सुरु गरे ।

कुराकानीका क्रममा काठमाडौं टिकाथलीका लक्ष्मण लामाले भने– मलगायत कसैलाई पनि कोरिया जानुअघि नेपालमा पनि क्वारेन्टाइन बस्नुपर्छ भन्ने थाहा थिएन । तर, अजय शोडारी भन्ने मान्छेले क्वारेन्टाइन नबस्ने हो भने तिमीहरुको फ्लाइट नै क्यान्सिल गरिदिुन्छु भन्यो । त्यसैले मलगायत साथीहरु बाध्य भएर यस होटल क्वारेन्टाइनमा बसिरहेका छौ । आज पाँच दिन भयो । आज साझ हामी उडान छ । हामी बसेको पाँच दिन भयो, तर हामीले सात दिनको प्याकेजको पैसा तिरेका छौं । एक्लै कोठामा बस्ने भए दिनको २५ सय र दुईजना बसेमा २२ सय रुपैयाँ दिनको तिरेका छौं । यसरी हामीले पाँच दिनको १२ हजार पाँच सय हुनुपर्नेमा सात दिनको १७ हजार पाँच सय तिरेका छौं । अलिकति मिलाउनुस् भन्दा पनि नमिलाउने कुरा गर्छन् । तिरे तिर नत्र कोरिया जान पाउदैनौ भन्छन् ।

त्यसपछि मन्त्री श्रेष्ठले होटल सञ्चालकलाई प्रश्न गर्दै भने, ‘यस्तो कसले भनेको हो । तिरे तिर नत्र होटलबाट जान पाउदैनौ भनेर ? तपाईंसँग कसले सम्झौता गरेको यस्तो ? बढी लिएको पैसा तुरुन्त फिर्ता गर्नुस् !’

त्यसपछि श्रमिकलाई सम्बोधन गर्दै मन्त्री श्रेठले भने, ‘यहाँहरुको आजै उडान रहेछ । यहाँहरुले जाने बेला तनाव खेप्नुपर्यो । यसका लागि म सरकारको तर्फबाट माफी चाहन्छु ।’

मन्त्रीसमक्ष लामाले भने, ‘यतिमात्र होइन, हाम्रो यसै होटलमा पीसीआर परीक्षण पनि दुईपटक परिक्षण गरिएको छ । हामीले प्रतिव्यक्ति दुई हजार रुपैयाँ तिरेका छौ । सबैजनासँग दुई हजार तिरेको बिल नै छ । तपाईंले १२ सय भनिरहनुभएको छ । हामीले २ हजार तिरेका छौ । यो के हो ?

मन्त्री श्रेष्ठले भने, ‘पहिले दुई हजार नै थियो । तर, म आइसकेपछि १२ सयमा झारिएको छ ।

अर्का व्यक्ति सलमान लामा भने, ‘एक हप्ताअघि मात्रै मैले कोरिया जनमैत्री अस्पतालमा एक हजारमा पीसीआर गरेको थिएँ । तर, मैले फेरि यहाँ आएर दुई हजारमा पीसीआर गरेको छु । यस्तो किन ?

त्यसपछि मन्त्रीले आश्वासन दिए– जे नहुनु थियो, भयो । अब त्यस्तो हुने छैन । तपाईंहरुबाट बढी लिएको रकम फिर्ता हुन्छ ।

त्यति भन्दै मन्त्री श्रेष्ठ बाहिरिए ।

यसअघि कोरिया रोजगारी खुलाउनुपर्छ भन्दै अभियान चलाएका अजय शोडारीले आज कोरिया उड्ने तयारीमा रहेका ८२ जनालाई होटलमा थुनेर पैसा असुलेका थिए ।

मन्त्री श्रेष्ठको सचिवालयका अनुसार शोडारी यसअघिका श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री गौरीशंकर चौधरीको सचिवालयमा कार्यरत थिए ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *