कञ्चनपुर-१ मा निर्वाचनमार्फत एमाले प्रतिनिधि चयन, अर्को क्षेत्रमा सहमतिको प्रयास हुँदै – Nepal Press

कञ्चनपुर-१ मा निर्वाचनमार्फत एमाले प्रतिनिधि चयन, अर्को क्षेत्रमा सहमतिको प्रयास हुँदै

कञ्चनपुर । मंसीर १०-१२ गते चितवनमा हुने नेकपा एमालेको १० औं महाधिवेशनको लागि कञ्चनपुरको क्षेत्र नम्बर १ मा निर्वाचनमार्फत प्रतिनिधिको टुंगो लागेको छ ।

खुलातर्फ ४ र महिलातर्फ १ जना गरी ५ प्रतिनिधि छनोटका लागि १० जनाले दाबी गरेका थिए । अन्तिम समयसम्म सहमति नभेटेपछि निर्वाचन गरिएको हो ।

खुलातर्फ निर्वाचित हुनेमा जिल्ला कमिटी अध्यक्ष बीरबहादुर थापा (पातल), सहसचिव पल्लबराज भट्ट, भक्तबहादुर अधिकारी, हिरासिंह विष्ट र महिलातर्फ भूमि सम्बन्धी समस्या समाधान आयोग कञ्चनपुरकी पूर्व अध्यक्ष कमला बोहरा रहेका छन् ।

निर्वाचित यी ५ जनासँग रोशन खड्का, खेम सुवेदी, रामचन्द्र नेपाल, खेमराज ओझा र चित्रादेवी चौधरीले प्रतिस्पर्धा गरेका थिए ।

तीन निर्वाचन क्षेत्र रहेको कञ्चनपुरमा निर्वाचन क्षेत्र नम्बर २ मा पनि अझै प्रतिनिधि छनोट भएको छैन । त्यहा आकांक्षीहरुले प्रतिनिधिको टुंगो लगाउने जिम्मा जिल्ला नेतृत्वलाई नै दिएका छन् ।

क्षेत्र नम्बर २ मा महाधिवेशन प्रतिनिधिका लागि संघीय सांसद नरबहादुर धामी, पूर्व सांसद कृपाराम राना, बेदकोट नगरका प्रमुख अशोककुमार चन्द, जिल्ला सहसचिव रणबहादुर महरा, युवा संघ नेपालका निवर्तमान अध्यक्ष बचनबहादुर सिंह र जिल्ला उपाध्यक्ष लक्ष्मी बुढालगायत १५ जना प्रतिस्पर्धामा छन् ।

क्षेत्र नम्बर ३ मा भने सर्वसम्मत ढंगले महाधिवेशन प्रतिनिधिको छनोट भइसकेको छ । १२ जना उम्मेदबारबाट ४ जना महाधिवेशन प्रतिनिधि छनोट गरिएको छ ।

संघीय सांसद दीपकप्रकाश भट्ट, भीमदत्त नगरका प्रमुख सुरेन्द्र विष्ट, सुदूरपश्चिम प्रदेश कमिटी सदस्य कृष्णदेव पन्त र जिल्ला कमिटी सल्लाहकार खिमा चन्दलाई महाधिवेशन प्रतिनिधि छनोट गरिएको हो ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर