महामारीमापनि शिक्षा क्यालेन्डरलाई निरन्तरता दिन आवश्यक निर्देशन र नियमावली बनाएका छौं : मन्त्री पौडेल – Nepal Press

महामारीमापनि शिक्षा क्यालेन्डरलाई निरन्तरता दिन आवश्यक निर्देशन र नियमावली बनाएका छौं : मन्त्री पौडेल

काठमाडौं । महामारीको प्रतिकूल प्रभावका बाबजुद पनि शिक्षा क्यालेन्डरलाई निरन्तरता दिन आवश्यक निर्देशन र नियमावली बनाएको शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री देवेन्द्र पौडेलले बताएका छन् । वैकल्पिक शिक्षामा राम्रो अनुभवका लागि आफूहरू डिजिटल प्लेटफर्म डिजाइन र कार्यान्वयनको प्रयासमा रहेको उनको भनाइ छ ।

पौडेलले कोरोनाभाइरस (कोभिड–१९) महामारीको समयमा पनि नेपालले बालबालिकाको शिक्षालाई निरन्तरता दिएको बताएका छन् ।

फ्रान्सको पेरिसमा जारी युनेस्कोको ४१औं महासभालाई सम्बोधन गर्दै मन्त्री पौडेलले महामारीको समयमा कम प्रविधिको प्रयोग हुने टेलिभिजन, सामुदायिक रेडियो र घरमा आधारित सिकाइ सामग्रीको प्रयोग गरेर बालबालिकाको शिक्षालाई निरन्तरता दिएको जानकारी गराए । महामारीले आफूहरूलाई शिक्षामा डिजिटल डिभाइसको महत्त्वको बारेमा सोच्न बाध्य बनाएको उनको भनाइ छ ।

शिक्षा, स्वास्थ्य, लैंगिक समानता र महिला सशक्तिकरण जस्ता प्रमुख क्षेत्रहरूमा नेपालले महत्त्वपूर्ण सफलता हासिल गरिसकेको बताउँदै मन्त्री पौडेलले दिगो विकासका लक्ष्यहरूलाई अपनाएको जानकारी गराए । विकासका प्रयासहरूलाई निर्देशित गर्न सरकारले ‘सुखी नेपाली, समृद्ध नेपाल’को राष्ट्रिय नारा बनाएको पनि उनले बताए ।

साथै, ‘सिकाइ कहिल्यै रोकिँदैन’ भन्ने दृढ प्रतिबद्धताका साथ सरकारले स्थानीय निकायहरूलाई उपयुक्त निर्णय लिन अनुमति दिने आवश्यक कानुनी प्रक्रियाहरू तयार गरिसकेको उनले बताए ।

विज्ञान र प्रविधिको विकासलाई सरकारले प्राथमिकता दिएको उल्लेख गर्दै मन्त्री पौडेलले आविष्कार र अनुसन्धानलाई बढावा दिनुका साथै युवा वैज्ञानिकहरूलाई ‘आर्टिफिसियल इन्टेलिजेन्स’मा अर्को कदम चाल्न प्रोत्साहित गर्ने प्रतिबद्धता व्यक्त गरे ।

त्यसैगरी, हरितगृह ग्यास उत्सर्जनमा नगण्य हिस्सा भए पनि जलवायु परिवर्तनको प्रतिकूल असरबाट नेपाल नराम्ररी प्रभावित बनेको मन्त्री पौडेलले बताए । पेरिस सम्झौताको कार्यान्वयनमा प्रतिबद्ध रहेको जानकारी गराए ।

मूर्त र अमूर्त सम्पदाको संरक्षण नेपालको राष्ट्रिय प्राथमिकता रहेको बताउँदै उनले सन् २०१५ को भूकम्पका कारण ध्वस्त भएका राष्ट्रिय तथा विश्व सम्पदाको सन् २०२२ सम्ममा पुनर्निर्माणका लागि नेपालले सबै प्रयास गरिरहेको जानकारी गराए । महासभामा शिक्षा सचिव रामप्रसाद थपलिया, नेपालका स्थायी प्रतिनिधि राजदूत दीपक अधिकारी र युनेस्कोका लागि नेपालका सहायक महासचिव डा. बाबुराम अधिकारी सहभागी छन् ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *