पाकिस्तानी सुरक्षाकर्मीले भारतीय मछुवारको हत्या गरेपछि सम्बन्धमा पुनः तनाब – Nepal Press

पाकिस्तानी सुरक्षाकर्मीले भारतीय मछुवारको हत्या गरेपछि सम्बन्धमा पुनः तनाब

दिल्ली । पाकिस्तानको समुद्री सुरक्षा एजेन्सीले गत शनिवार भारतको मछुवार(माछा मार्ने मानिस)को डुङ्गामा फायरिङ गरेपछि दुई देशबिचको सम्बन्धमा पुनः तनाव चुलिएको छ ।

भारतको महाराष्ट्रमा बस्दै आएका एक मछुवारको उक्त घटनामा मृत्यु भएको थियो । घटनापछि भारत आक्रोशित हुँदै कूटनीतिक च्यानलबाट पाकिस्तानसँग कुरा उठाइने बताएको छ ।

साथै, उसले घटनाबारे अनुसन्धान समेत गर्ने भनेको छ ।

शनिवार केही भारतीय मछुवारहरु जलपरी नामक डुङ्गामा चढेर माछा मारिरहेका थिए । सोही समयमा पाकिस्तानको समुद्री सुरक्षा एजेन्सीको टीमले बिनाकारण भारतीय डुङ्गामा फायरिङ गर्न सुरु गरेको दावी भारतीय संचारमाध्यमले गरेका छन् ।

घटना हुँदा महाराष्ट्रका ३२ वर्षिय श्रीधर रमेश चामरे डुङ्गाको क्याबिनमा थिए । उनको छातीमा ३ गोली लागेपछि घटनास्थलमा नै मृत्यु भएको थियो ।

घटनामा डुङ्गा मालिक र अर्का एक मछुवार घाइते भएका छन् । भारत सरकारले घटनालाई गम्भीररुपमा लिएको जनाएको छ ।

घटनामा घाइते भएका मछुवारलाई उपचारका लागि गुजरातको ओखामा ल्याइएको छ । प्रहरीका अनुसार डुङ्गामा ७ जना सवार थिए ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर