पूर्ववर्ती सरकारले कागजी बजेट ल्याउँदा रुपन्देहीको विकास बजेट कटाैती भयो : गृहमन्त्री खाण – Nepal Press

पूर्ववर्ती सरकारले कागजी बजेट ल्याउँदा रुपन्देहीको विकास बजेट कटाैती भयो : गृहमन्त्री खाण

रूपन्देही । गृहमन्त्री बालकृष्ण खाँणले पूर्ववर्ती सरकारले कागजी बजेट ल्याउँदा विकास बजेट कटौती भएको बताएका छन् । रुपन्देहीमा विकास बजेट कटौती भएको भन्दै प्रश्न उठेपछि उनले पूर्ववर्ती सरकारले कागजी घोडाको बजेट ल्याउँदा समस्या भएको बताएका हुन ।

तिहार मनाउन गृह जिल्ला रुपन्देही पुगेका खाँणले शुक्रवार तिलोत्तमा गौशालामा आयोजित पूजालाई सम्बोधन गर्दै गृहमन्त्री खाँणले आफूहरूले वर्तमान सरकारले यथार्थ बजेट ल्याएकाे बताए । उनले श्रोतको व्यवस्थापन नगरी सेतो कागजमा मसीले लेखेर मात्रै नहुने बताए ।

‘अहिले विदेशी सहयोग पनि आएको छैन, एमसीसीबाट बजेट ल्याउन पनि सकिएको छैन,’ उनले भने, ‘पूर्ववर्ती सरकारले बजेट कागजको घोडा हो । दाना पनि खाँदैन, सवारी पनि बोक्दैन, त्यसैले हामीले दाना पनि खाने, सवारी पनि बोक्ने बजेट ल्याएका हौं ।’

उनले पूर्व प्रधानमन्त्री एवं प्रमुख प्रतिपक्षी एमाले आफैँले ल्याएको बजेट पारित गर्नमा समेत अवरोध गरेको बताए । एमसीसी पारित गर्ने सवालमा प्रमुख विपक्षी एमालेको दोहोरो भूमिका देखिएको आरोप लगाए । ‘एक जनासँग पास गरिदिन्छु भन्दिनुहुन्छ, अर्कोसँग हुँदैन भन्नुहुन्छ,’ उनले भने ।

पुरानो सरकारको निरन्तरता नै अहिलेको सरकारले गर्न खोज्दा समेत अवरोध गरेको खाणले टिप्पणी गरे । उक्त अवसरमा तिलोत्तमा नगरपालिकाका प्रमुख वासुदेव घिमिरेले रुपन्देहीका ठुला आयोजनाको बजेट कटौती गरिएको भन्दै गृहमन्त्रीको ध्यानाकर्षण गराएका थिए । गृहमन्त्री खाँण शुक्रबार गोवर्द्धन पूजाका लागि देवदह भलुहीस्थित कामधेनु गौशालामासमेत पुगेका थिए ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर