नायव महालेखापरीक्षक काफ्ले र अधिकारी उप–महालेखापरीक्षकमा बढुवा – Nepal Press

नायव महालेखापरीक्षक काफ्ले र अधिकारी उप–महालेखापरीक्षकमा बढुवा

नेपाली सेनाका उपरथी राणा रथीमा बढुवा

काठमाडौं । सरकारले राजपत्रांकित प्रथम श्रेणीका दुई नायव महालेखापरीक्षकलाई उप–महालेखापरीक्षक अर्थात बिशिष्ट श्रेणीमा बढुवा गरेको छ । बिहीबार बसेको मन्त्रिपरिषद बैठकले कार्यसम्पादन तथा मुल्यांकनका आधारमा दुइ पद रिक्त रहेको उप–महालेखापरीक्षकमा नायव महालेखापरीक्षक महेश्वर काफ्ले र बामदेव अधिकारीलाई बढुवा गर्ने निर्णय गरेको हो ।

लोक सेवा आयोगका अध्यक्ष माधवप्रसाद रेग्मीको अध्यक्षतामा मंगलबार सिंहदरबारमा बसेको बढुवा सिफारिस समितिको बैठकले कार्यसम्पादन तथा मुल्यांकनका आधारमा बढुवाका लागि क्रमश काफ्ले, अधिकारी र बिन्दु बिष्ट गरेर तीन जनाको नाम सिफारिस गरेको थियो ।

मन्त्रिपरिषद् बैठकले पहिलो नम्बरमा सिफारिस भएका काफ्ले र दाेस्राे नम्बरमा सिफारिस भएका अधिकारीलाई बढुवा गर्ने निर्णय गरेको सरकारका प्रवक्ता समेत रहेका सञ्चार तथा सूचना प्रविधि मन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले पत्रकार सम्मेलनमार्फत जानकारी गराए । यसअघि एक जनालाई कार्यसम्पादन तथा मुल्यांकनका आधारमा बिशिष्ट श्रेणीमा बढुवा गर्दा तीन जनाको नाम सिफारिस हुने गरिएको थियो ।

तर, यसपटक भने अरु नायब महालेखापरीक्षकको बढुवा सिफारिसका लागि योग्यता पुगिनसकेकाले दुई जना बढुवा गर्दा पनि तीन जना नायब महालेखापरीक्षकको नाम मात्रै सिफारिस भएको हो । उप–महालेखापरीक्षक बाबुराम गौतम र ईश्वर नेपालले कात्तिक ५ गते नै अनिवार्य अवकाश पाएपछि एक सातादेखि दुई उप–महालेखापरीक्षकको पद रिक्त रहेको थियो ।

बिहीबार नै बसेको मन्त्रिपरिषद् बैठकले नेपाली सेनाका उपरथी सरोजप्रताप राणालाई रथीमा बढुवा गर्ने निर्णय गरेको छ। बैठकले प्रधानसेनापति प्रभुराम शर्माको भारत भ्रमणलाई स्वीकृति दिने निर्णय पनि गरेको छ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *