चितवन एमाले- ३ स्थानीय तहमा सर्वसम्मत, ३ मा सहमतिको प्रयास – Nepal Press

चितवन एमाले- ३ स्थानीय तहमा सर्वसम्मत, ३ मा सहमतिको प्रयास

महानगरको अधिवेशन उद्घाटन गर्न ओली आउने

चितवन । नेकपा एमालेले चितवनका तीन स्थानीय तहमा सर्वसम्मत नेतृत्व चयन गरेको छ । ७ स्थानीय तहमध्ये भरतपुर महानगर कमिटी अधिवेशन १५ गते हुँदैछ । ५ वटा नगर कमिटीको अधिवेशन मंगलबार भएका थिए । इच्छाकामना गाउँपालिकाको गाउँ कमिटी अधिवेशन बुधबार गरिएको थियो ।

रत्ननगर नगरपालिका, इच्छाकामना गाउँपालिका र खैरहनी नगरपालिकामा सर्वसम्मत नेतृत्व चयन भएका हुन् । मंगलबार नगर अधिवेशन भए पनि रत्ननगर र खैरहनीमा आकांक्षी पदाधिकारीबीच बुधबारमात्रै सहमति जुटेको थियो । माडी, कालिका र राप्ती नगरपालिकामा अझै सहमति जुट्न सकेको छैन ।

इच्छाकामनामा भने बुधबारनै अधिवेशन भएर सर्वसम्मत नेतृत्व चयन भएको हो । अध्यक्षहरुमा रत्ननगर नगर कमिटीमा ईश्वरीप्रसाद अर्याल, खैरहनी नगर कमिटीमा पूर्णप्रसाद डल्लाकोटी, इच्छाकामना गाउँ कमिटीमा कृष्णप्रसाद सिलवाल चयन भएका छन् ।

रत्ननगरमा अर्याल नेतृत्वमा ७५ सदस्यीय कमिटी बनेको हो । जसमा उपाध्यक्ष पुष्प जोशी, सचिवमा शिवराज सुवेदी, उपसचिवमा सागर मिश्र, अरुणा कट्टेल चयन भएका छन् ।

मंगलबारै ५७ सदस्यीय खैरहनी नगर कमिटी घोषणा गरे लगत्तै सोही कमिटिमा परेका उपाध्यक्ष छत्रनाथ सुवेदीको अध्यक्षतामा ६५ सदस्यीय समानान्तर कमिटी बनेपछि विवाद चुलिएको थियो । तर सुवेदीले एक दिन पूरा नहुँदै समानान्तर कमिटीमा नरहेको र मंगलबार घोषणा भएकै कमिटीमा रहने बताएपछि समानान्तर कमिटी खारेज भएको छ । खैरहनीमा २ उपसचिव पछि चयन गर्ने निर्णय भएको छ ।

डल्लाकोटीको नेतृत्वमा रहेको कमिटिको उपाध्यक्षमा छत्रनाथ सुवेदी, सचिवमा गोपाल परियार चयन भएका छन् ।

इच्छाकामनामा सिलवाल नेतृत्वमा बनेको ७५ सदस्यीय कमिटीमा उपाध्यक्षमा नरबहादुर नेपाल, सचिवमा अञ्जना अधिकारी, उपसचिवमा बोधबहादुर गोले, लक्षमण चेपाङ चयन भएका छन् ।

माडीमा अध्यक्षमै ४ जना सहित पदाधिकारीमा २२ जना आकांक्षी देखिएका छन् । श्रीप्रसाद दवाडी, रेशमलाल आचार्य, नारायण अधिकारी र रामेश्वर चौधरी अध्यक्षको आकांक्षी छन् । मंगलबारनै ७१ सदस्यीय नगर कमिटी बनेपनि पदाधिकारीमा सहमति नजुटेपछि अधिवेशन सकिन अझै समय लाग्ने देखिएको छ ।

कालिका नगरपालिकामा पनि अध्यक्ष बाहेकका सबै पदमा सहमति जुटेको छ । अध्यक्षमा केशव लामा र भीष्मप्रसाद खनालबीच सहमति बनेलगत्तै नगरकमिटिले पूर्णता पाउनेछ ।

राप्तीमा पनि अध्यक्षमट पूर्ण बहादुर थापा र श्यामसुन्दर उप्रेतीबीच समझदारी बनेलगत्तै राप्ती नगरकमिटीले पनि पूर्णता पाउने जनाइएको छ । भरतपुर महानगर कमिटी अध्यक्षमा प्रल्हाद प्रधान र शंकर थपलियाको नाम चर्चामा छ । एमाले चितवनले ९२ वटा वडाहरुमा सर्वसम्मत नेतृत्व चयन गरिसकेको छ । बाँकी ६ वडामा पनि सर्वसम्मतको प्रयास भइरहेका छन् ।

महानगरको अधिवेशन उद्घाटन गर्न ओली आउने

यसैबीच भरतपुर महानगर कमिटिको अधिवेशन उद्घाटन गर्न एमाले अध्यक्ष तथा पूर्वप्रधानमन्त्री केपी शर्मा ओली चितवन आउने सम्भावना बढेको छ । चितवनमा गर्ने भनिएको पार्टीको केन्द्रीय महाधिवेशनको तयारीलाई गति दिन पनि उनी आउने सम्भावना बढी छ ।

एमाले भरतपुर महानगर अध्यक्ष रामप्रसाद न्यौपानेले महानगर कमिटिको अधिवेशन उद्घाटन पार्टी अध्यक्षबाट गराउने तयारी भएको स्वीकारे । ‘केन्द्रीय अध्यक्ष ज्यू सँग कुराकानी गरेका छौं,’ उनले भने । महानगर कमिटी अधिवेशन क्यान्सर सभाहल वा तारापुञ्ज रिसोर्टमा गर्ने तयारी छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर