सैन्य ‘कू’पछि नियन्त्रणमा लिइएका सुडानका प्रधानमन्त्री रिहा, हिंसामा सातजनाको मृत्यु


खार्तुम । सैन्य ‘कू’पछि अज्ञात स्थानमा नजरबन्दमा राखिएका सुडानका प्रधानमन्त्री अब्दल्ला ह्यामडक रिहा भएका छन् ।
त्यहाँको प्रधानमन्त्री कार्यालयका अनुसार सेनाले सत्ता नियन्त्रणमा लिएको एकदिनपछि नजरबन्दमा राखिएका ह्यामडकलाई घर फर्कन अनुमति दिइएको छ ।
प्रधानमन्त्री ह्यामडक र उनकी पत्नीलाई सेनाले घर फर्कन अनुमति दिएको हो । सैन्य प्रमुख जनरल अब्देल फताह अल–बुरानले अन्तर्राष्ट्रिय समुदायको विरोधका बाबजुदपछि पनि मुलुकको कार्यकारी शक्ति आफ्नो हातमा लिएका छन् ।
सैन्य कूपछि अमेरिकाले दिँदै आएको सहयोगलाई रोक्ने घोषणा गरेको छ भने युरोपेली युनियनले पनि यस्तै प्रकारको चेतावनी दिएको छ । राष्ट्रसंघीय महासचिव एन्टोनियो गुटरेसले पनि प्रधामन्त्री ह्यामडकलाई तत्काल रिहा गर्न माग गरेका थिए ।
प्रधानमन्त्री कार्यालयले विज्ञप्ति जारी गर्दै बर्खास्त गरिएका प्रधानमन्त्री र उनकी पत्नीलाई राजधानी खार्तुमस्थित घरमा कडा सुरक्षाबीच राखिएको जनाएको छ । कूपछि पक्राउ गरिएका अन्य नागरिक नेताहरुलाई पनि अज्ञातस्थलमा राखिएको छ ।
सैन्य कूपछि सुडानमा मच्चिएको हिंसामा सातजनाको मृत्यु भएको अन्तर्राष्ट्रिय संचारमाध्यमले जनाएका छन् ।