राजनीतिमा होमिदै रमेश खरेलः गणतन्त्र मान्ने, ‘विचौलीया प्रदेश’ नमान्ने – Nepal Press

राजनीतिमा होमिदै रमेश खरेलः गणतन्त्र मान्ने, ‘विचौलीया प्रदेश’ नमान्ने

काठमाडौं । डेढ वर्षअघि ‘हाम्रो नेपाल सुशासन अभियान’ सुरुवात गरेका पूर्व डीआईजी रमेश खरेलले अब त्यसलाई पार्टीमा रुपान्तरण गर्ने तयारी गरेका छन् ।

नेपाल प्रहरीको डीआईजी बढुवाबाट असन्तुष्ट भएर अवकासअघि नै राजीनामा दिएर बाहिरिएका खरेलले २९ फागुन २०७६ मा अभियान शुरु गरेका थिए ।

राजधानीमा एउटा उद्घाटन समारोह आयोजना गरेका उनले देवेन्द्रप्रसाद सिटौला, डा. नारायण घिमिरे, राजकुमार यादव र रोशन श्रेष्ठ रहेको केन्द्रीय कार्यकारी परिषद बनाएका थिए ।

पार्टी निर्माणको प्रक्रिया

पार्टी निर्माणको प्रारम्भिक चरण अन्तर्गत खरेलले रत्नपार्कमा एउटा कार्यक्रम गरेर अपील गरेका छन् ।

‘शान्ति बाटिकामा अपील गरेका छौं,’ नेपाल प्रेससँग उनले भने, ‘यसलाई हामी पार्टीमा बदल्न चाहान्छौं । यो अपील लिएर हामी ठाउँ–ठाउँमा जान्छौं । सबैसँग छलफल गर्छौं अनि त्यसलाई कम्पाइल गर्छौं ।’

उनले थपे, ‘त्यसबाट हाम्रो अवधारणा पत्र बनाउँछौं । त्यसपछि त्यही विचारलाई बोक्ने पार्टीमा परिणत हुने हाम्रो चाहाना छ ।’

पार्टी घोषणाअघि अपील लिएर देशका मुख्य–मुख्य सहरमा पुग्ने र राष्ट्रिय पार्टी कस्तो हुनुपर्छ भनेर सुझाव संकलन गर्ने योजना रहेको उनले बताए ।

‘यो पार्टी घोषणा गर्ने पहिलो चरण हो,’ खरेलले भने, ‘पार्टी घोषणा गर्नुभन्दा पहिले देशका मुख्य–मुख्य ठाउँमा गएर सबैको विचार लिन्छौं । उहाँहरुले राष्ट्रिय पार्टी कस्तो हुनुपर्छ, कस्ता मान्छे सामेल हुनुपर्छ भन्ने सुझाव दिनुहुन्छ, त्यसलाई समेट्छौं ।’

‘राम्रा मान्छेहरुको टिम बनाउ भन्ने हाम्रो अभियान हो । टिम बनिसकेपछि यसलाई हामी पार्टीमा परिवर्तन गर्छौं,’ उनले भने ।

गणतन्त्रविरुद्ध नजाने, संघीयतामा ‘परिमार्जन’

नयाँ बन्ने पार्टीको नाम, यसले बोक्ने विचार र सांगठनिक संरचना कस्तो हुने भन्ने विषय खरेलले अझैं टुंग्याइसकेका छैनन् ।

छलफलबाट आएका विचारहरुलाई समेट्ने र अघि बढ्ने उनको योजना छ । ‘अहिले धेरै केही पनि सोचेका छैनौं, यसकै लागि हामी देशदौडाहा गर्छौं,’ खरेलले भने, ‘अरु साथीहरुले के भन्नुहुन्छ । यो गर्दा राम्रो होला, यो विचारले राम्रो होला, यो विचारले समृद्धि आउला भन्ने दृष्टिकोण उहाँहरुले दिनुहुन्छ । ती सबैलाई भेला पारेर अनि त्यसमा व्यापक छलफल गरेर हामी निचोड निकाल्छौं ।’

वैचारिक विषय प्रष्ट भइनसकेको भने पनि उनले गणतन्त्र मान्ने र केही परिर्माजनसहितको संघीयता अंगाल्ने बताए । राजतन्त्रको पक्षमा उनी उभिने खतिपयको आशंकालाई चिर्दै खरेलले भने, ‘अब हामी राजतन्त्रको पक्षमा जाँदैनौं । संघीयतामा पनि नेपाल जस्तो देशमा हिमाल, पहाड र मधेश जोड्नुपर्छ भन्ने हाम्रो मान्यता हो ।’

प्रदेशहरुले विचौलीयाको मात्रै काम गरेको भन्दै यो तह नै आवश्यक नहुने उनको भनाइ छ । ‘सातवटा प्रदेश हामीलाई आवश्यक पनि छैन,’ उनको भनाइ छ, ‘प्रदेश विचौलीया भयो, धेरै माननीय भए । दिनु भन्दा लिनुमा उहाँहरुको ध्यान केन्द्रित भयो ।’

प्रदेश हटाएको संघीयता कस्तो हुन्छ त भन्ने प्रश्नमा उनको जवाफ छ– ‘केन्द्रपछि सिधै स्थानीय तह बलियो हुन्छ । विचौलीया प्रदेश हटाउनुपर्छ भन्ने अहिलेसम्मको मान्यता हो । यसको कुनै उपादेयता देखिएन ।’

चुनौतीपूर्ण बाटो

देशको राजनीति पुराना पार्टीकै कब्जामा रहेका बेला नयाँ पार्टी स्थापित गर्नु आफैंमा चुनौतिपूर्ण हो । यस्तोमा खरेलले कसरी पार्टी स्थापना होला भन्ने प्रश्न उनीतिर सोझिन्छ । ‘यो त जनताले मुल्यांकन गर्ने कुरा हो,’ खरेल भन्छन्, ‘नागरिकहरु असाध्यै बाठो भइसके, उनीहरुले मुल्यांकन गर्ने हो ।’

सुशासनका पक्षमा उभिने र इमान्दारिताका साथ आफूहरुले काम गर्ने उनको भनाइ छ ।

‘हामी प्रतिवद्धताका साथ, इमान्दारिताका साथ, एउटा भिजनका साथ अगाडि बढ्न चाहन्छौं,’ उनी भन्छन्, ‘हाम्रो भनाइ र गराईमा एकरुपता हुन्छ । हामी जे भन्छौं, त्यो गर्छौं ।’

‘राष्ट्रियता, सुशासन र समृद्धिलाई मुल नारा दिएर नेपालवाद प्रवद्र्धन गर्ने हाम्रो मुल मन्त्र हुन्छ । हामी आयातलाई विस्थापनलाई प्राथमिकता दिन्छौं र नेपाली उत्पादनमै जोड दिन्छौं,’ उनले भने ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर