एमसीसीलाई करेक्सन गर्न अमेरिका तयार : प्रधानमन्त्री देउवा – Nepal Press

एमसीसीलाई करेक्सन गर्न अमेरिका तयार : प्रधानमन्त्री देउवा

काठमाडौं । प्रधानमन्त्री शेरबहादुर देउवाले अमेरिकी अनुदान सम्झौता (एमसीसी)मा करेक्सन गर्न अमेरिका तयार रहेको बताएका छन् ।

केही तत्वले एमसीसी अनुमोदनमा बखेडा झिकेकोप्रति असन्तुष्टि व्यक्त गर्दै प्रधानमन्त्री देउवाले एमसीसी ऋण नभएर अनुदान रहेको स्पष्ट पारे ।

सरकार गठनको सयदिन पुगेको अवसरमा सरकारी संचारमाध्यम गोरखापत्रसँगको कुराकानीमा उनले भने, ‘एमसीसी विशुद्ध नेपालको हितमा छ । त्यही पनि एमसीसीमा करेक्सन गर्न अमेरिकाले तयार छु भनेको छ । अमेरिकाले नेपालको कानूनभन्दा माथिको होइन भनेर भनिसकेको छ ।’

प्रधानमन्त्री देउवाले एमसीसी नेपालको हितमा भएकाले चाँडोभन्दा चाँडो पारित गर्नुपर्ने पनि बताए । तर, गत महीना नेपाल भ्रमणमा आएकी एमसीसी उपाध्यक्ष फतिमा सुमारले एमसीसीमा संशोधन हुन नसक्ने बताएकी थिइन् ।

भारत र चीनसँगको सम्बन्ध राम्रो हुनु नै राष्ट्रिय हितमा रहेको बताउँदै प्रधानमन्त्री देउवाले दुबै मुलुकसँग सम्बन्ध राम्रो राख्नु नेपालको आवश्यकता रहेको समेत बताए ।

वर्तमान सरकार परमादेश र जनादेश दुबै प्राप्त सरकार भएको र आगामी चैतभित्र सबै नागरिकलाई खोप लगाउने सरकारको योजना रहेको बताए । गठबन्धनमा कुनै संकट नरहेको समेत प्रधानमन्त्रीले बताए ।

देउवाको नेतृत्वमा संयुक्त सरकार बनेको कात्तिक ३ गते अर्थात आज सय दिन पुरा भएको छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर