कपिलवस्तुबाट हराएका बालकको ७ महिनापछि मुम्बईबाट उद्धार – Nepal Press

कपिलवस्तुबाट हराएका बालकको ७ महिनापछि मुम्बईबाट उद्धार

रुपन्देही । गत फागुन २९ गतेदेखि घरदेखि हराएका कपिलवस्तुका १४ बर्षीय बालकलाई प्रहरीले फेला पारी आफन्तको जिम्मा लगाएको छ । कपिलवस्तु नगरपालिका–३ का रामविक्रम तेलीको छोरा वर्ष १४ को काशीराम तेली गत फागुन २९ गतेदेखि हराएका थिए ।

उनलाई प्रहरीले भारतको मुम्बईबाट उद्धार गरि आफन्तको जिम्मा लगाएको हो । बुवा रामबिक्रमले छोरा हराएको भन्दै हुलिया सहितको जिल्ला प्रहरी कार्यालय कपिलवस्तुमा निवेदन दिएपछि प्रहरीले बालकको खोजी शुरु गरेको थियो ।

खोजी गर्दै जाँदा ती बालक भारतको मुम्बई डोगरीस्थित बालगृहमा रहेको पत्ता लागेपछि सुंयक्त नेपाली महासंघ मुम्बई संस्थाको सहयोगमा उनलाई नेपाल ल्याइएको हो ।

उक्त संस्थाका महासचिब पुरन कँुवरले बालकलाई मुम्बईदेखि ल्याई जिल्ला प्रहरी कार्यालय कपिलवस्तुमा बुझाएका थिए । प्रहरीले बालकलाई कपिलबस्तु नगरपालिका–३ का वडाअध्यक्ष प्रकाश गैरे र साथी संस्थाका संयोजक विमला घिमिरेको रोहवरमा बुबा विक्रम तेली र आमा जोखनी तेलीलाई जिम्मा लगाई पठाइएको जनाएको छ ।

बालकलाई मुम्बईबाट ल्याउने संयुक्त नेपाली महासंघ मुम्बई संस्थाजा महासचिप पुरन कँुवरलाई कपिलवस्तुका प्रहरी प्रमुख प्रहरी उपरीक्षक दानबहादुर कार्कीले प्रशंसा पत्र प्रदान गरेका थिए ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर