क्रान्तिकारी सम्मेलनमा माओवादी नेताहरूको शक्ति प्रदर्शन, प्रचण्डबाहेक सबैका आ-आफ्ना उम्मेदवार – Nepal Press

क्रान्तिकारी सम्मेलनमा माओवादी नेताहरूको शक्ति प्रदर्शन, प्रचण्डबाहेक सबैका आ-आफ्ना उम्मेदवार

काठमाडौं । नेकपा माओवादी केन्द्रको विद्यार्थी संगठन अनेरास्ववियू क्रान्तिकारीको २२ औं राष्ट्रिय सम्मेलनमा माउ पार्टीको आगामी पुसमा हुने राष्ट्रिय सम्मेलनको शक्ति प्रदर्शन हुन थालेको छ ।

अध्यक्ष प्रचण्डले विहीबार उद्घाटन गरेको सम्मेलनको बन्दसत्र शुक्रबार सुरू भएको छ । प्रतिनिधिहरूको ध्यान नेतृत्व चयनमा छ भने नेतृत्वका दाबेदारहरू माओवादी केन्द्रका दोस्रो तहका नेताहरूको बलमा अध्यक्ष पद हत्याउन प्रयासरत छन् ।

अखिल क्रान्तिकारीको अध्यक्षमा उपाध्यक्षहरू सुरेन्द्र बस्नेत,पञ्चा सिंह, तिलकराज भण्डारी, दीपक देवकोटा, विजय गौतम र महासचिव उत्तम अधिकारीको मुख्य दावी छ । अर्का उपाध्यक्ष दिपेश पुन पनि अध्यक्षका दाबेदार हुन् तर अरुभन्दा उमेरमा ३५ भन्दा तलका परेकाले उनलाई ४० उमेर समूहकाले अध्यक्ष पाउँदा महासचिव बनाउने तयारी छ ।

अखिल क्रान्तिकारीको राष्ट्रिय सम्मेलन माओवादीको मिनी सम्मेलनका रुपमा देखिएको छ । पुसमा हुने राष्ट्रिय सम्मेलनले माओवादीमा पदाधिकारी चयन गर्नेछ । प्रचण्डलाई चुनौती दिने नेता कोही नभए पनि महासचिवमा वर्षमान पुन र जनार्दन शर्माको सिधै दावी छ ।

यी दुई नेताको गुट जनसंगठनदेखि जिल्लासम्म प्रष्टरूपमै विभाजित छ । अखिलको सम्मेलनमा पनि दुई नेताले आ-आफ्ना उम्मेदवारलाई मैदानमा उतारेपछि प्रचण्डले मिलाउनुपर्ने भएको छ ।

वर्षको समर्थन सुरेन्द्र बस्नेतलाई छ । त्यस्तै वर्षमान र कृष्णबहादुर महराका साझा उम्मेदवारका रुपमा तिलक भण्डारी पनि अध्यक्षको मैदानमा कस्सिएका छन् । उता जनार्दन शर्माको पक्षबाट पञ्चा सिंह र दिपक देवकोटा छन् ।

विगतमा बादल समूहमा रहेका र हाल हितमान शाक्यको समर्थन रहेका महासचिव उत्तम अधिकारी पनि बलिया दाबेदार हुन् भने नारायणकाजी श्रेष्ठ पक्षबाट विजय गौतम छन् । पार्टी एकीकरणका १५ वर्ष बितिसक्दा पनि पूर्व एकताकेन्द्र पक्षले जनसंगठनको नेतृत्व गर्न नपाएको र दोस्रो दर्ताको व्यवहार भएको भन्दै गौतमलाई पनि सशक्त रूपमा अघि सारिएको छ ।

क्रान्तिकारीभित्र उमेर समूहको कुरा पनि उठेको छ । २८ वर्षे उमेर हदको विषय क्रान्तिकारीले नै उठाएको हुनाले ३५ वर्षमुनीको नेतृत्व स्थापित गरेर अरु सिनियरलाई पार्टीले २० प्रतिशत कोटा निर्धारण गरेको केन्द्रीय सदस्य बनाउनुपर्ने आवाज पनि उठेको छ ।

क्रान्तिकारीको नेतृत्वमा यसपटक चुनाव हुन नदिने प्रचण्डले बताइसकेका छन् । उनले अध्यक्षका दाबेदारहरुलाई बोलाएर एकचरण कुराकानी पनि गरिसिकेका छन् । दोस्रो तहका नेताहरुले आ-आफ्ना उम्मेदवार च्यापेका कारण अन्तिममा प्रचण्डले नै अध्यक्ष तोक्ने सम्भावना रहेको अखिल स्रोतले जनाएको छ ।

सम्मेलनबाट क्रान्तिकारीले १५ देखि १७ जनाको पदाधिकारीसहित १५१ जनाको केन्द्रीय कमिटी बनाउनेछ ।

यस्ता छन् ७ प्रतिस्पर्धी

सुरेन्द्र बस्नेत

अध्यक्षका दाबेदार मध्येका एक हुन् बस्नेत । झापाका सुरेन्द्र बस्नेत संगठनको प्रवक्ता मानिन्छन् । एमफिल तहको अध्ययन गरिरहेका उनी २२ औं सम्मेलन तयारीका लागि निकै सक्रिय थिए । बस्नेत यसका लागि देशभर पुगेका छन् । मिडियामा पनि उनी सक्रिय देखिने गरेका छन् ।

दिपेश पुन

अखिल (क्रान्तिकारी) का उपाध्यक्ष रहेका पुन पनि अध्यक्षका दाबेदारमध्येका एक हुन् । उपराष्ट्रपति नन्दबहादुर पुन ‘पासाङ’ का छोरासमेत रहेका उनी २२ औं सम्मेलनको तयारीका लागि देश दौडाहमा पुगेका थिए ।

आकांक्षीहरूमध्ये उमेरले कम भए पनि संगठनमा उनको पकड राम्रै छ । संगठनबाट बुढा पुस्तालाई बिदा गरेर युवालाई नेतृत्व दिनुपर्ने उनको जोड छ । रोल्पाका पुन सानै उमेरदेखि माओवादी युद्धमा सामेल थिए ।

पञ्चा सिंह

सिंह समावेशी कोटाबाट उपाध्यक्ष बनेकी थिइन् । उनी अध्यक्षको दावेदारी गर्ने एक मात्रै महिला नेता हुन् । कालिकोटकी सिंहको संगठनमा राम्रो पकड नभए पनि धेरै नेताहरूको उनीप्रति सद्भाव रहेको मानिन्छ । उनलाई अखिल (क्रान्तिकारी) को पहिलो महिला अध्यक्ष बन्ने अवसर छ ।

तिलकराज भण्डारी

संगठनमा राम्रो पकड रहेका भण्डारीलाई कुशल संगठक मानिन्छ । २०५६ पछि युद्धमा सहभागी भएका भण्डारी अखिलको १७ औँ सम्मेलनमा केन्द्रीय समितिमा प्रवेश गरेका थिए । सल्यानका भण्डारी ‘नेताको चाकडी नगर्ने’ विद्यार्थी नेताका रूपमा चिनिन्छन् ।

उनी २२ औं सम्मेलनका लागि उनी देशभर खटिएका थिए ।

दीपक देवकोटा

देवकोटा अध्ययनशील विद्यार्थी नेतामध्येमा पर्छन् । रसुवाका देवकोटा लामो जेल जीवन पनि बसेका थिए । २०५९ साउनमा गिरफ्तार परेका उनी तीन वर्ष ११ महिना जेल बसेका थिए । त्यसपछि पुनः विद्यार्थी राजनीतिमा सक्रिए भएर उपत्यकामा क्याम्पस जिल्लाको अध्यक्ष, केन्द्रीय समिति, वागमती प्रदेश इन्चार्ज हुँदै दुईपटक उपाध्यक्ष भइसकेका छन् । २२ औं जिल्ला सम्मेलनको तयारीमा उनी पनि देशभर पुगेको देखिन्छ ।

विजय गौतम

मकवानपुरका गौतमले कक्षा ६ पढ्दा २०५३ सालमा नै संगठनको सदस्यता लिएका हुन् ।  हेटौँडा क्याम्पसको स्ववियू सभापति समेत बनेका उनी भद्र, शालीन र अध्ययनशील नेता मानिन्छन् । उनी पनि २२ औं सम्मेलनको तयारीमा गाउँ-गाउँ पुगेको देखिन्छ ।

उत्तम अधिकारी

अधिकारी हालका महासचिव हुन् । उनको यसपटक अध्यक्षमा दावी छ । कूटनीतिक स्वभावका उनले पछिल्लो समय संगठनमा पकड जमाएको बताइन्छ । नुवाकोट अधिकारी यसअघि बादल समूहमा थिए । तर, बादलले पार्टी छोडे पनि उनी प्रतिनिधिसभा विघटविरुद्ध खरो उत्रिएका थिए ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *