हुवावेकी उच्च अधिकारी क्यानडाबाट रिहा भएलगत्तै चीन फिर्ता, वान्जूलाइ छुटाउन चीन र अमेरिकाबीच सम्झौता – Nepal Press

हुवावेकी उच्च अधिकारी क्यानडाबाट रिहा भएलगत्तै चीन फिर्ता, वान्जूलाइ छुटाउन चीन र अमेरिकाबीच सम्झौता

बेइजिङ । बैंक ठगी र प्रविधि चोरीको आरोपमा क्यानडामा पक्राउ परेकी अग्रणी चिनियाँ टेलिकम कम्पनी ह्वावेइकी आर्थिक मामिला प्रमुख मङ्ग वान्जू अमेरिकासँगको एक सम्झौता लगत्तै चीन फर्किएकी छन्।

सन् २०१८को डिसेम्बरमा अमेरिकाको अनुरोधमा क्यानडामा पक्राउ परेकी उनलाई क्यानडामै नजरबन्दमा राखिएको थियो । उनी ह्वावेइका संस्थापककी छोरी हुन् । वान्जू पक्राउ परेसँगै चीनको अमेरिका र क्यानडासँगको सम्बन्धमा तनाव उत्पन्न भएको थियो।

सम्झौतापछि शुक्रवार अमेरिकाको विदेश मन्त्रालयले उनको सुपुर्दगीका लागि क्यानडालाई गरिएको अनुरोध फिर्ता लिए लगत्तै उनी रिहा भइन्। वान्जूको पक्राउको बदलामा चीनले क्यानडेली नागरिकहरूलाई पक्राउ गरेको थियो।

चीनले त्यसलाई अस्वीकार गर्दै आए पनि क्यानडाका प्रधानमन्त्री जस्टिन ट्रुडोले चीनमा थुनामा रहेका दुई क्यानडेली नागरिक स्वदेश फर्कँदै गरेको बताएका छन्। वान्जू पक्राउ परे लगत्तै उनीहरूलाई जासुसीको आरोपमा चीनले पक्राउ गरेको थियो।

‘यो समय मेरो जीवनमा निकै विध्वंसात्मक रह्यो यसले मेरो जीवनमा निकै उथल पुथल ल्याएको छ’ क्यानडामा थुनामुक्त भएपछि उनले भनिन्, ‘कालो बादलमा पनि चाँदीको घेरा हुन्छ। विश्वभरका मानिसहरूबाट प्राप्त शुभेच्छाहरूलाई म कहिल्यै बिर्सने छैन ।’

एएफपी समाचार संस्थाका अनुसार लगत्तै वान्जू एयर चाइनाको विमान मार्फत सेन्जेन सहर फर्किएकी थिइन्। वान्जूलाई छुटाउन अमेरिका र चीनबीच भएको सम्झौताको विस्तृत विवरणहरू सार्वजनिक भइसकेका छैनन्। दुई देशका कूटनीतिज्ञबीचको समझदारीबाट त्यसको टुङ्गो लगाइने बताइएको छ।

विश्वको दोस्रो ठुलो स्मार्टफोन निर्माता कम्पनी ह्वावेइमाथि ब्याङ्कमा ठगी गरेको, न्यायमा वाधा उत्पन्न गरेको र अमेरिकी कम्पनी टी मोबाइलबाट प्रविधि चोरेको आरोप छ।

अमेरिकाले वान्जूले इरानको स्काइकम कम्पनीसँग ह्वावेइको सम्बन्धबारे झुटो विवरण पेस गरेर विश्वकै ठुलो मध्येको एचएसबीसी बैङ्कलाई अमेरिकी प्रतिबन्ध उल्लङ्घनको जोखिममा पारेको आरोप लगाएको छ।

अमेरिकाको न्यायालयले वान्जूमाथि लगाइएको अभियोजन तत्काललाई अघि नबढाउने सहमति भएको बताएपछि उनी रिहा भएकी थिइन्। अब उनीमाथि लागेको मुद्दा कम्तीमा सन् २०२२ को डिसेम्बरसम्म अघि बढाइने छैन।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर