टिम छाड्न लागेका निधि र शर्मासंग देउवाको छुट्टाछुट्टै छलफल – Nepal Press

टिम छाड्न लागेका निधि र शर्मासंग देउवाको छुट्टाछुट्टै छलफल

काठमाडौं । प्रधानमन्त्री एवं नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले १४ औं महाधिवेशनमा सभापति र महामन्त्रीमा उम्मेदवारी घोषणा गरेका उपसभापति विमलेन्द्र निधि र प्रवक्ता विश्वप्रकाश शर्मासंग छुट्टाछुट्टै भेटवार्ता गरेका छन् । शुक्रबार साँझ देउवाले निधि र शर्मासंग छुट्टाछुट्टै भेट गरेका हुन् ।

देउवाले नै निधिलाई उपसभापति र शर्मालाई प्रवक्ताको जिम्मेवारी दिएका थिए । १४ औं महाधिवेशनमा सभापतिमा आफूलाई सघाउन देउवाले यसअघि नै निधिसंग भनिसकेका छन् । निधिले भने आफू सभापतिको उम्मेदवारीबाट पछाडि नहट्ने बताउँदै आएका छन् ।

शर्माले पनि भदौ २४ गते महामन्त्रीमा उम्मेदवारी घोषणा गरेका थिए । उपसभापति निधिले देउवासंगको भेटमा जनकपुर–जयनगर रेल तत्काल सञ्चालनमा ल्याउन आग्रह गरेको जनाएका छन् ।

‘आजको भेटमा मुख्यतः जनकपुर–जयनगर रेलसेवा तत्काल सञ्चालनमा ल्याउनेबारे कुरा भयो । प्रधानमन्त्रीले रेलसेवा सुरु गर्ने विषयमा आवश्यक कदम चाल्ने बताउनुभएको छ’, भेटबारे निधिको सचिवालयले बताएको छ ।

भेटमा पार्टीको १४ औं महाधिवेशन र सरकार विस्तारको विषयमा पनि छलफल भएको बताइएको छ । त्यस्तै प्रवक्ता शर्माले प्रधानमन्त्रीसंगको भेटमा १४ औं महाधिवेशन, सरकारका कामकारवाही र कमजोरीबारे लामो संवाद भएको जनाएका छन् ।

सो क्रममा शर्माले पार्टीको प्रचार विभागले ‘चिन्तन चौधौ महाधिवेशन’ कार्यक्रम आयोजना गर्न लागेको बारे सभापति देउवालाई अवगत गराएका थिए । सभापति र महामन्त्रीमा उम्मेदवारी घोषणा गरेका निधि र शर्माबीच महाधिवेशनमा सहकार्यको चर्चा कांग्रेसवृत्तमा चुलिदो छ ।

आसन्न महाधिवेशनमा आफ्नो समूहमा नरहने निश्चित भएका नेतासंग देउवाले भेट गर्नुलाई अर्थपूर्ण मानिएको छ । बालुवाटार स्रोतका अनुसार प्रधानमन्त्री एवं सभापति देउवाले दुवै नेतालाई समेटेर लैजान आफू तयार भएकोले एकपटक सभापतिमा सहयोग गर्न आग्रह गरेका छन् ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर