सोमपाल र रोहितको साझेदारी टिकेपछि पीएनजीमाथि नेपालको रोमाञ्च‍क जित – Nepal Press

सोमपाल र रोहितको साझेदारी टिकेपछि पीएनजीमाथि नेपालको रोमाञ्च‍क जित

काठमाडौं । तल्लो क्रमका ब्याट्सम्यान रोहित पौडेल र सोमपाल कामीले उत्कृष्ट साझेदारी गरेपछि नेपालले पपुवा न्युगिनीमाथि २ विकेटको रोमाञ्जक जित हात पारेको छ । हारको संघारमा पुगेका नेपाललाई उनीहरूले धैर्यतापूर्वक ब्याटिङ गर्दै जिततर्फ डोहोर्‍याए ।

डेब्युट्यान्ट ओपनरद्वय कुशल भुर्तेल र आशिफ शेखले राम्रो सुरुआत दिलाए पनि त्यसपछि सम्हालिन नसक्दा नेपाल कठिन अवस्थामा पुगेको थियो ।

नेपालका लागि भुर्तेलले १५ तथा आशिफले ३० रनको योगदान गरेका थिए । कप्तान ज्ञानेन्द्र मल्ल ६, आरिफ शेख ९, सरद भेसावकर ६, कुशल मल्ल १ तथा पवन सर्राफ शून्यमा पेभेलियन फर्किँदा नेपाल हार नजिक पुगेको थियो ।

तर, सोमपाल र रोहितले आठौं विकेटका लागि ५२ रनको साझेदारी गर्दै नेपाललाई रोमाञ्जक जित दिलाए । रोहित ६५ बलमा २ चौकासहित ४१ रन जोडेर आउट हुँदा सोमपाल ३२ बलमा १ चौका र १ छक्कासहित २२ रनमा अविजित रहे ।

पिएनजीका लागि गाउडी टोकाले ४.३ ओभरमा १८ रन खर्चेर १ मेडनसहित सर्वाधिक ३ विकेट लिए । त्यस्तै, चाड सोपर र डामिनियन राभुवले २/२ तथा नोसइना पोकनाले १ विकेट लिए ।

टस जितेर ब्याटिङ रोजेको पिएनजीका लागि लेगा  सियाकाले ३०, गाउडी टोकाले २२ तथा चार्ल्स अमिनीले २३ रन बाहेक अन्य ब्याट्सम्यानले उल्लेख्य प्रदर्शन गर्न सकेनन् ।

नेपालका लागि सन्दीप लामिछानेले सर्वाधिक ४ तथा विक्रम शोब र कुशल मल्लले २/२ विकेट लिएका थिए ।

ट्राई नेसन एकदिवसीय सिरिजका लागि ओमान पुगेको नेपालले तयारी स्वरुप पिएनजीसँग दुई एकदिवसीय खेल्ने तय गरेको हो ।

दोस्रो एकदिवसीय शुक्रबार हुनेछ भने ट्राइ नेसन सिरिज सेप्टेम्बर १३ देखि सुरु हुनेछ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर