विमानमा सँगै यात्रा गरेकालाई कोरोना संक्रमण पुष्टि भएपछि क्वारेन्टाइनमा ब्रेथवेट – Nepal Press

विमानमा सँगै यात्रा गरेकालाई कोरोना संक्रमण पुष्टि भएपछि क्वारेन्टाइनमा ब्रेथवेट

काठमाडौं । आफूसँगै विमानमा यात्रा गरेकालाई कोरोना संक्रमण पुष्टि भएपछि वेस्ट-इन्डिजका क्रिकेटर कार्लोस ब्रेथवेट बाध्य भएर आइसोलेसनमा बसेका छन् ।

इङ्ल्यान्डमा पहिलो पटक आयोजना भएको दी-हन्ड्रेड खेलेर सेन्ट किट्स एन्ड नेभिस जाने क्रममा उनीसँगै विमानमा यात्रा गरेका एक यात्रुमा कोरोना भाइरस संक्रमण परीक्षणको नतिजा पोजेटिभ आएको थियो ।

त्यसैले ब्रेथवेट अर्को सूचना नआउनजेलसम्म आइसोलेसनमा बस्न भनिएको छ । उनी क्यारेबियन प्रिमियर लिग (सीपीएल) खेल्न इङ्ल्यान्डबाट सेन्ट किट्स एन्ड नेभिस गएका हुन् ।

शुक्रबार हुने सीपीएलको उद्घाटन खेलमा जमाइका तल्लवाजबाट खेल्छन् वा खेल्दैनन् भन्ने निश्चित भएको छैन ।

‘मलाई थाहा भएसम्म मेरो कोरोना परीक्षणको रिपोर्ट नेगेटिभ आएको छ,’ ब्रेथवेटलाई उद्धृत गर्दै क्रिकइन्फोले लेखेको छ, ‘हामीलाई क्वारेन्टाइनमा बस्न भनिएको छ । र, मलाई पहिला होटलको वरिपरि हिँड्न अनुमति थियो । तर, भर्खरै वरिपरि नहिँड्न र क्वारेन्टाइन जारी राख्न भनिएको छ । यसबारे तपाईंलाई मलाई थप केही थाहा छैन ।’

आगामी बिग ब्यास लिग (बीबीएल)का लागि सिड्नी सिक्सरसँगको सम्झौता नवीकरण गरेको जानकारी पनि ब्रेथवेटले क्वारेन्टाइन बसिरहेकै स्थानबाट दिएका छन् ।

‘म शुक्रबार सेन्ट लुसिया किङ्सविरुद्धको उद्घाटन खेल खेल्छु या खेल्दिन अझै अनिश्चित छ,’ उनले भने, ‘पहिलो दिन कहिले थियो र कति दिनको क्वारेनटाइन हो मैले अझै कुनै आधिकारिक जानकारी पाएको छैन । त्यसैले मैले खेल्न पाँए भने शारिरिक रूपमा तयार रहन कोठामै स्किपिङ् र सिट-अप गर्दैछु ।’

ब्रेथवेट सेप्टेम्बरमा हुने चौथो संस्करणको एभरेष्ट प्रिमियर लिग (ईपीएल) खेल्न नेपाल आउने चर्चा छ । तर, उनले कुन टोलीबाट खेल्ने भने टुङ्गो लागिसकेको छैन ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर