कांग्रेस महाधिवेशन रोक्न रिट दर्ताको तयारी – Nepal Press

कांग्रेस महाधिवेशन रोक्न रिट दर्ताको तयारी

काठमाडौं । भदौ १८ देखि महाधिवेशनको कार्यतालिका प्रारम्भ गर्ने नेपाली कांग्रेसको निर्णयविरुद्ध सर्वोच्च अदालतमा रिट दर्ताको तयारी भएको छ ।

कोभिड १९ को संक्रमण उच्च दरमा फैलिएको, अधिकांश स्थानमा निषेधाज्ञा जारी रहेको तथा कोभिड १९ संकट व्यवस्थापन अध्यादेशविपरीत रहेको भन्दै महाधिवेशन रोक्न अन्तरिम आदेश माग गर्दै रिट दर्ता गर्ने तयारी भएको छ ।

रिट दर्ता गर्न कांग्रेसनिकट वरिष्ठ अधिवक्ताहरूसँग पनि छलफल भइरहेको छ । डेमोक्रेटिक लयर्स एशोसियसनमा आवद्ध केही वरिष्ठ अधिवक्ताहरूले रिट निवेदन दर्ता गर्न अस्वीकार गरेका छन् । रिटमा जनस्वास्थ्यमा गम्भीर असर उत्पन्न हुनसक्ने भन्दै महाधिवेशन रोक्न माग गरिएको छ ।

‘महाधिवेशन रोक्न अन्तरिम आदेश मागौं भनेर केही साथीहरू आउनुभएको थियो । मैले संवैधानिक दृष्टिले बलियो आधार नहुने भन्दै रिटमा नाम हाल्न मानिन’, कांग्रेसनिकट एक वरिष्ठ अधिवक्ताले भने । रिट निवेदन तयार रहेको र तत्कालै दर्ता गर्ने तयारी भएको एक अधिवक्ताले जानकारी दिए । ‘रिट लेखिसकेका छौं । सकभर सिनियर वकिलको पनि साथ खोजेका हौं । आज भोलिमा सर्वोच्च जान्छौं’, मुद्दाको तयारीमा रहेका एक अधिवक्ताले भने ।

कांग्रेसले १४ औं महाधिवेशन आगामी मंसिर ९ देखि १३ गतेसम्म गर्ने निर्णय गरेको छ । कांग्रेसको वडा अधिवेशन भने भदौ १८ गतेका लागि तोकिएको छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर