ओलम्पिकमा २ सयभन्दा बढी स्पर्धाको फाइनल सकियो, चीनको अग्रता – Nepal Press

ओलम्पिकमा २ सयभन्दा बढी स्पर्धाको फाइनल सकियो, चीनको अग्रता

एजेन्सी । टोकियोमा जारी ३२ औं ग्रिष्मकालीन ओलम्पिक उत्तराद्र्धतिर आएको छ । चार दिनको प्रतिस्पर्धा बाँकी रहँदा अहिलेसम्म २ सय २७ स्वर्ण पदकको छिनोफानो भइसकेको छ ।

समूहगत खेलका फाइनल हुन बाँकी रहे पनि बाँकी सबै खेलमा कुनै न कुनै स्पर्धाको फाइनल भइरहेको छ ।

आज बुधबार पनि १० खेलका १७ स्पर्धाको फाइनल हुँदैछ । अर्टिस्टिक जिम्न्यास्टिकको युगल, एथलेटिक्समा महिला ४ सय मिटर हर्डल्स र ३ हजार मिटर स्टिपलचेस, पुरुष ह्याम्मर, ८ सय मिटर र २ सय मिटर दौडमा स्वर्णको छिनोफानो हुनेछ । बक्सिङमा पुरुष लाइटहेवीको फाइनल हुनेछ ।

साइक्लिङमा पुरुष टिम पर्सुइट, घोडचढीमा एकल, म्याराथन पौडी (१० किमि)मा महिलतर्फ, सेलिङमा पुरुष र महिला, स्केटबोर्डिङमा महिला पार्क, भारोत्तोलनमा पुरुष १ सय ९ केजीमाथि, कुस्तीमा महिला ६२ केजी, पुरुष ६७ र ८७ केजी तौलसमूहको फाइनल आजै हुनेछ ।

यता पदकतालिकामा चीनको अग्रता यथावत छ । चीनले अहिलेसम्म ३२ स्वर्ण, २१ रजत र १६ कांस्य गरी ६९ पदक जितेको छ । चीनभन्दा ८ स्वर्ण कम जितेको अमेरिकाले २८ रजत र २१ कांस्य गरी ७३ पदक जितेको छ ।

आयोजक जापान १९ स्वर्णसहित तेस्रो र अस्ट्रेलिया १४ स्वर्णसहित चौथो स्थानमा छन् । कुल ५२ पदक जितेको रुस ओलम्पिक कमिटीले स्वर्ण भने १३ वटामात्रै जितेको छ । बेलायतले पनि समान १३ स्वर्ण जितेको छ ।

जर्मनीले ८ स्वर्ण जितेको छ भने फ्रान्स,नेदरल्याण्ड्स, दक्षिण कोरिया र न्युजिल्याण्डले ६–६ स्वर्ण जितेका छन् । इटलीले ५ स्वर्ण जितेको छ ।

हंगेरी ब्राजिल, क्युबा र चेक रिपब्लिकले ४–४ तथा क्यानडा, स्वीट्जरल्याण्ड र क्रोएसियाले ३–३ स्वर्ण जितेका छन् ।

अहिलेसम्म १२ देशले २ स्वर्ण जितेका छन् भने एउटामात्र स्वर्ण जित्ने देशको संख्या २६ छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *