सत्ता गठबन्धनका दुःख- संसद जोगायौं भन्नेले मन्त्री छान्न सकेनन् – Nepal Press

सत्ता गठबन्धनका दुःख- संसद जोगायौं भन्नेले मन्त्री छान्न सकेनन्

काठमाडौं । गत असार २८ गते सर्वोच्च अदालतले गरेको फैसलाबाट प्रतिनिधिसभा पुनःस्थापना मात्रै भएन, नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाको नेतृत्वमा सरकार गठन हुने निश्चित समेत भयो ।

संविधानको धारा ७६ (५) बमोजिम देउवालाई प्रधानमन्त्री नियुक्त गर्न परमादेश लगायतको माग गरेर कांग्रेससहित नेकपा माओवादी केन्द्र, जनता समाजवादी पार्टी नेपाल, राष्ट्रिय जनमोर्चा र नेकपा एमालेको माधव नेपाल समूह सर्वोच्च अदालत पुगेका थिए ।

माग बमोजिमको सबै आदेश भएपछि गठबन्धनले सर्वोच्चको फैसलाको स्वागत मात्रै गरेन, संविधानर लोकतन्त्र जोगाउन महत्वपूर्ण रहेको ठहर समेत गर्‍यो । संविधान जोगाउन सफल भएको निष्कर्षमा पुगेको ५ दलीय गठबन्धन ३ सातासम्म सरकार विस्तार गर्न भने असफल देखिएको छ । संविधान जोगाउन ‘एक’ देखिएका दलहरुभित्र सत्तामा जाने विषयमा ‘अनेक’ विवाद देखिएका छन् ।

गठबन्धनको मुख्य घटक नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले केहीदिन अघि नै ‘मन्त्री माग्नेहरुबाट आफू हैरान भइसकेको’ प्रतिक्रिया दिएका थिए । माओवादीमा सबै सांसद मन्त्रीको दावेदार रहेको र सबैले मन्त्री नबनाए ‘देखाइदिने’ घुर्की दिएको प्रचण्डले बताएका थिए ।

यही हैरानीका कारण माओवादीले सरकारमा जाने मन्त्रीहरुको नाम टुंगो लगाउन सकेको छैन । सरकारको नेतृत्व गरेको कांग्रेसको हालत उस्तै छ । आफ्नै शपथको दिन प्रधानमन्त्री देउवाले कांग्रेसका बालकृष्ण खाणलाई गृह र ज्ञानेन्द्रबहादुर कार्कीलाई कानून मन्त्रीमा नियुक्त गरेका थिए ।

सोही दिन माओवादीका जनार्दन शर्माले अर्थ र पम्फा भूसालले ऊर्जा मन्त्रीको जिम्मेवारी पाएका थिए । गत साउन १० गते कांग्रेस सांसद उमेश श्रेष्ठलाई प्रधानमन्त्री देउवाले स्वास्थ्य राज्यमन्त्रीको रुपमा शपथ गराए । व्यापारीक पृष्ठभूमिका श्रेष्ठलाई मन्त्री बनाएकोमा प्रधानमन्त्रीको तीव्र आलोचना भयो ।

असार २९ मा प्रधानमन्त्रीको शपथ लिएका देउवाले ३ सातासम्म मन्त्रिपरिषदलाई पूर्णता दिन नसक्नुमा कांग्रेसभित्रको विवाद पनि महत्वपूर्ण हो । कांग्रेसमा वरिष्ठ नेता रामचन्द्र पौडेल पक्षले सरकारमा सम्मानजनक हैसियत खोजेको छ ।

पौडेलले कम्तीमा चार मन्त्रालय पाउनुपर्ने दावी गरेका छन् । देउवा भने पौडेललाई बढीमा ३ र कृष्णप्रसाद सिटौला पक्षलाई १ मन्त्री दिने पक्षमा छन् । यसबारे कांग्रेसमा सहमति जुटिसकेको छैन ।

गठबन्धनमा सहभागि एमालेको माधव समूह पनि सरकारमा आउने भएमा भागबण्डा अझ जटिल बन्नेछ । अहिले कांग्रेसले ८ तथा माओवादी र जसपाले ७-७ मन्त्रालय लिने सहमति बनेको छ ।

जसपाले अध्यक्ष उपेन्द्र यादवको नेतृत्वमा सरकारमा सहभागि हुने तयारी गरेपनि मन्त्री बन्नेको नामावली तयार गरिसकेको छैन । यसरी सबै दलभित्रको आन्तरिक विवादका कारण मन्त्रिपरिषद विस्तारमै प्रधानमन्त्री देउवालाई सकस परेको छ ।

‘गठबन्धनमा भएका सबै दलको मात्रै होइन गुटको पनि चित्त बुझाइदिनुपर्ने बाध्यता प्रधानमन्त्रीसामु छ । त्यसैले मन्त्रिपरिषद विस्तारमा ढिलाई भएको हो’, प्रधानमन्त्रीनिकट कांग्रेस नेताले भने । ती नेताका अनुसार आज दिनभर सबैसंग परामर्श गरेर मन्त्रिपरिषद विस्तार गर्नेगरी तयारी भइरहेको छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर