सदन सुचारुका लागि ४ बजेसम्म सहमति जुट्ने सांसदहरूको दाबी, को के भन्छन् ? (भिडिओ) – Nepal Press

सदन सुचारुका लागि ४ बजेसम्म सहमति जुट्ने सांसदहरूको दाबी, को के भन्छन् ? (भिडिओ)

काठमाडौं । सांसदहरूले आज अपराह्न ४ बजे बस्ने प्रतिनिधि सभा बैठक अगावै दलहरूका बीचमा सहमति जुट्ने दाबी गरेका छन् ।

बिहीबार बिहान ११ बजेका लागि बोलाइएको प्रतिनिधि सभा बैठक दलहरूका बीचमा सहमति जुट्न नसक्दा बस्न सकेन । प्रमुख प्रतिपक्ष दल नेपाली काँग्रेसले सहकारी ठगी प्रकरणमा गृहमन्त्री रवि लामिछानेमाथि छानबिन गर्न संसदीय छानबिन समिति बनाउने माग निरन्तर राख्दै आएको छ ।

यता सत्तारुढ दल छानबिन समिति बनाउन तयार देखिएको छैन । यसै कारण प्रतिनिधि सभाको बिहानको बैठक बस्न सकेन । सूचना टाँस गरेर आजै दिउँसो ४ बजे बस्ने गरी प्रतिनिधि सभा बैठक स्थगित गरिएपछि सांसदहरूले सो बैठक अगावै सहमति जुटेर बैठक सहज रूपमा सञ्चालन हुने दाबी गरेका हुन् ।

सञ्चारकर्मीहरूसँग कुराकानी गर्दै नेकपा (एमाले) का प्रमुख सचेतक महेश बर्तौलाले ४ बजेको प्रतिनिधि सभा बैठक अगाडि बढ्ने दाबी गरे । उनले प्रमुख प्रतिपक्ष दल नेपाली काँग्रेससँग समझदारी गर्नका लागि बैठक सरेको बताए । उनले ४ बजे बस्ने बैठकमा गृहमन्त्रीलाई बोल्न समय दिइनुपर्ने बताए ।.

नेपाली काँग्रेसका सांसद रामहरि खतिवडाले प्रधानमन्त्री संसदीय छानबिन समिति गठनमा सकारात्मक देखिएको भए पनि सत्तारुढ अन्य दलका कारण प्रधानमन्त्रीले निर्णय गर्न नसकेको बताए ।

उनले संसदीय छानबिन समिति गठनको सम्बन्धमा निर्क्यौल निकालेर संसद् चलाउने बाटोमा जानुपर्ने आफूहरूको धारणा रहेको बताए । उनले सरकार संसदीय छानबिन समिति गठन गर्न तयार भएर आएमा बैठक अगाडी बढ्ने बताए ।

सञ्चारकर्मीहरूको जिज्ञासाको जवाफ दिँदै सांसद खतिवडाले गिरिबन्धु टी—स्टेटमा केपी शर्मा ओली प्रधानमन्त्री हुँदा अर्बौँ रुपैयाँको नीतिगत भ्रष्टाचार भएको बताए । उनले सो प्रकरणको छानबिन गर्नुपर्ने र काँग्रेसका कोही दोषी भएमा कारबाही भोग्न तयार रहेको बताए ।

नेकपा (माओवादी केन्द्र) का सांसद लेखनाथ दाहालले सत्तारुढ दलको तर्फबाट प्रधानमन्त्रीले नेपाली काँग्रेससँग संसदको अवरोध हटाउने सम्बन्धमा अन्तिम पटक छलफल गर्न लागेको जानकारी दिए ।

उनले कांग्रेससँग सहमति भएर ४ बजेको संसद् खुल्ने दाबी गए । उनले संकटग्रस्त सहकारीहरूको छानबिन गर्न सरकार प्रतिबद्ध रहेको बताए ।

त्यस्तै नेपाल समाजवादी पार्टीका अध्यक्ष महिन्द्रराय यादवले प्रतिपक्ष दलले उठाएको कुराको सम्बोधन हुनुपर्ने बताए । उनले सरकारले समझदारी र समन्वय गरेर समस्याको हल गर्नुपर्नेमा जोड दिए ।

नेपाली कांग्रेसका सांसद शेखर कोइरालाले पनि ४ बजेसम्म सहमति जुट्नेमा आफू आशावादी रहेको बताए ।

संसद् बैठक स्थगित गरेर सभामुख तथा दलका नेताहरू आ–आफू संसद् खुलाउनका लागि छलफल तथा संवादमा लागेका छन् ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर