राजनीतिका कारणमात्र विश्वविद्यालय बिग्रिएको भन्ने भाष्य गलत : सांसद विद्या भट्टराई – Nepal Press

राजनीतिका कारणमात्र विश्वविद्यालय बिग्रिएको भन्ने भाष्य गलत : सांसद विद्या भट्टराई

काठमाडौं । प्रतिनिधि सभाको शिक्षा समिति सदस्य रहेकी नेकपा एमाले नेता विद्या भट्टराईले राजनीतिका कारण विश्वविद्यालयको हालत बिग्रिएको भन्ने भाष्य बनाइनुले सुधार नहुने दाबी गरेकी छन् ।

अनेरास्ववियुको आयोजनामा काठमाडौंको भृकुटी मण्डमा जारी विद्यार्थी महोत्सव २०८१ को सन्दर्भमा आयोजित ‘विश्वविद्यालय सुधार किन र कसरी ?’ शीर्षकको संवादमा बोल्दै सांसद भट्टराईले राजनीति गलत नभएको बताइन् ।

विद्यार्थी राजनीतिबाट प्राध्यापन हुँदै हाल संसदमा पुगेकी भट्टराईले विश्वविद्यालयको सुधारका लागि पदाधिकारी नियुक्ति प्रक्रियादेखि पाठ्यक्रम परिमार्जन, क्यालेण्डर निर्माणदेखि छाता ऐनहरुका क्षेत्रमा काम गर्न बाँकी रहेको बताइन् ।

सांसद भट्टराईले भनिन्– विश्वविद्यालय राजनीतिकर्मी र दलीय हस्तक्षेपले गर्दा बिग्रियो भन्न सकिएला तर राज्य संयन्त्रको मुख्य अंग विश्वविद्यालय हो भन्ने बिर्सन हुन्न । राजनीतिकरणका कारण विश्वविद्यालयमा पढाइ हुँदैन, राजनीतिकरणले मात्रै बिग्रियो भन्ने भाष्य गलत हो । यस्तो एकांगी वहसले सुधारको मुख्य एजेण्डालाई कमजोर बनाउँछ ।

सांसद भट्टराईले विश्वविद्यालयहरुलाई नियमन गर्न एकीकृत ऐन आवश्यक रहेको र अहिले संसदमा त्यसबारे छलफल भइरहेको बताइन् । काठमाडौं विश्वविद्यालयकी प्राध्यापक डा.अमिना सिंहले पनि राजनीतिले विश्वविद्यालयलाई बौद्धिक बहसको थलो बनाउने भन्दै सुधारको क्षेत्र राजनीतिभन्दा बाहिर रहेको बताइन् ।

गण्डकी विश्वविद्यालयका कुलपति डा.गणेश गूरुङले भने विश्वविद्यालयमा विद्यार्थी संगठनहरु नराख्दा शैक्षिक स्तर सुधार हुन्छ भन्ने आफ्नो आफ्नो विश्वविद्यालयले प्रमाणित गरेको बताए । राजनीतिमा लागेकाहरुले पनि विश्वविद्यालयमा गएपछि दलको आबद्धता त्याग्न उनले सुझाव दिए ।

महोत्सव संयोजन गरेका अनेरास्ववियुका सचिव दिपक धामी र वागमती प्रदेश विशेष कमिटी अध्यक्ष विशाल न्यौपानेले विश्वविद्यालय सुधार विद्यार्थी संगठनहरुको पनि एजेण्डा भएको तर राजनीतिक संगठनहरुले बिग्रियो भन्ने भाष्य गलत रहेको बताए ।

 


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर