नेपाल निकट वार्ताकारहरुले कोटेश्वर पुगेर सोधे : अब के गर्ने हो ? – Nepal Press

नेपाल निकट वार्ताकारहरुले कोटेश्वर पुगेर सोधे : अब के गर्ने हो ?

काठमाडौं । एमाले एकताका लागि अनौपचारिक छलफलमा रहेका दोस्रो तहका नेताहरुबीच सिंहदरवारमा करीव ४ घण्टाको छलफलपछि शनिवारी केपी ओली पक्षका नेताहरु तुलसीलाल स्मृति प्रतिष्ठानको भवनमा गए भने माधव नेपाल पक्षका नेताहरु नेपाल निवास कोटेश्वर पुगे ।

सिंहदवारको छलफलमा एकताका लागि सम्भावित उपायबारे छलफल भएको थियो । १० बुँदे सहमति गरेका नेताहरुबीच त्यसलाई कार्यन्वयन गर्दै अर्को अध्यक्षमा माधव नेपाललाई सहमत गराएर एमाले एकता कायम गर्न सहमत भएको छलफलपछि गोकर्ण विष्टले बताएका थिए ।

शनिवारको छलफलमा सुवास नेम्वाङ र बिष्णु पौडेलले माधव नेपालसँग भएका सबै कुरा जस्तोको त्यस्तै सुनाए । उनीहरुले माधव नेपाल १० बुँदे सहमति मान्न तयार नभएको र अर्को अध्यक्ष पनि बन्दिँन भनेको बताए । त्यतिमात्र होइन ओली अध्यक्ष कायम राखेर एकता नहुने नेपालको अडान पनि सुनाएका थिए ।

नेपालले नै आफू निकट वार्ता टोलीका नेताहरुसँग आफूले सुवास नेम्वाङ र विष्णु पौडेलसँग कुरा गरेपछि निर्णय दिने बताएका थिए । सोही बमोजिम नेम्वाङले विहीवार नेपाललाई भेटेका थिए भने पौडेलले शुक्रवार । दुवै नेतासँग नेपालले आफ्नो बटम लाइन सुनाएका थिए : १० बुँदे सहमति मैले भने अनुसार नभएकाले मान्दिन र ओलीले अध्यक्ष नछाडेसम्म एकता पनि हुँदैन ।

यहि कुरा वार्ता टोलीका नेताहरुबीचको अनौपचारिक छलफलमा भएपछि माधव नेपाल पक्षधर नेताहरुले अब अन्तिम कुराकानी हुन्छ भन्दै शनिवारको स्थायी कमिटी बैठक रोक्न आग्रह गरे । उनीहरुले त्यहिँबाट माधव नेपाललाई फोन गरेर भेट्ने समय मागे । अखिल फोर्सको घोषणामा गएका नेपालले साढे ३ बजेको समय दिएका थिए ।

ओली पक्षका नेताहरु ३ बजेलाई निर्धारित बैठकमा सहभागी हुन च्यासल पुगे । बैठक शुरु हुनासाथ ओलीले ‘वार्ता के भइरहेको छ?’ भनेर सोधे । नेम्वाङले माधव नेपालसँग भएका कुरादेखि शनिवार वार्ता टोलीका नेताहरुसँग भएको छलफलको विवरण सुनाएपछि एक दिनलाई बैठक रोकौं भन्ने कुरा भयो ।

बैठकपछि नेम्वाङले नेपाल प्रेससँग भने : हामीले छलफलमा भएका कुरा बैठकमा सुनायौं । पार्टीको विधान महाधिवेशन ढिला गर्न हुँदैन । फागुनमा स्थानीय चुनाव हुने भएकाले दशौं महाधिवेशन त्यसअघि नै गर्नुपर्ने चाप पनि भएकाले पार्टी काम रोक्न हुँदैन तर पनि साथीहरुको आग्रह अनुसार आइतवार दिउँसोसम्म बैठक रोकौं भनेपछि अध्यक्षले मान्नुभयो । उहाँहरुले माधव कमरेडसँग भेटेर के कुरा भयो थाहा छैन ।

नेपाल पक्षधर नेताहरुले स्थायी कमिटी बैठक रोक्न लगाएर माधव नेपालसँग लामो छलफल गरेका छन् । छलफलमा सहभागी नेताहरुले नेपालसँग के कुरा भयो भन्ने बताउन चाहेका छैनन् । भीम रावल,घनश्याम भुसाल,सुरेन्द्र पाण्डे,गोकर्ण विष्ट,रघुजी पन्त लगायतका नेताहरुले शनिवार नेपालसँग भेटेका थिए ।

स्रोतका अनुसार उनीहरुले १० बुँदे सहमति मान्ने कि नमान्ने ? भन्ने प्रश्न नेपालसँग राखेका थिए । ओलीले १० बुँदे सहमति स्थायी कमिटी र केन्द्रीय कमिटीबाट अनुमोदन गरिसकेको भन्दै १० बुँदेमा टेकेर ओलीसँग पावर शेयरिङको लागि कुरा गर्न नेपाललाई सुझाएका थिए ।

तर नेपालले ओलीको जालझेल र षडयन्त्रमा आफू नफस्ने भन्दै दोस्रो अध्यक्ष जसलाई बन्न मन छ बने हुन्छ भन्ने जवाफ दिएको बताइएको छ । नेपाल आफूलाई भेट्न पुगेका विघटित वार्ता टोलीका नेताहरुप्रति पनि शन्तुष्ट नदेखिएको स्रोतले जनाएको छ ।

एमाले एकताका लागि आइतवार सम्भवतः निर्णायक हुनेछ । आइतवारै प्रधानमन्त्री शेरवहादुर देउवाले मन्त्रीपरिषद विस्तार गर्दैछन् । त्यसमा माधव नेपाल पक्षबाट पनि मन्त्री बनाउने चर्चा चलिरहेका बेला दोस्रो तहका नेताले त्यसो नगर्न नेपाललाई सुझाव दिएका छन् । तर नेपालले भने आफू धेरै अघि बढिसकेको र देशभरका कार्यकर्ताको साथ रहेको बताएका छन् ।

नेपाललाई भेटेर फर्केका एक नेताले भने : हामीले तपाई के गर्ने ? भनेर सोध्यौं तर उहाँले हामीप्रति नै भरोसा देखाउनुभएन । उहाँको छलफल अचेल अरुसँगै बढी हुने गरेको छ । आजसम्म पनि हामी माधव नेपालसँगै छौं तर घटनाक्रमहरु हामीले सोचे जस्तो भइरहेका छैनन् ।

वार्ता टोलीका नेताहरु फर्के लगत्तै नेपालले आफूलाई साथ दिएका केही सांसदहरुसँग छलफल गर्दा वार्ता टोलीका नेताहरु ओलीको जालमा परेको सुनाएका छन् । ओली पक्षले माधव नेपालबाहेक अरु नेताहरुलाई बैठकमा सहभागी गराएर पार्टी अघि बढाउन खोजेको छ । तर ती नेताहरुले आँट गरिसकेका छैनन् ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर