प्रशिक्षक र पत्रकारबीचको चुरोट काण्डः के भएको थियो एन्फा कम्प्लेक्समा ? – Nepal Press

प्रशिक्षक र पत्रकारबीचको चुरोट काण्डः के भएको थियो एन्फा कम्प्लेक्समा ?

काठमाडौं । नेपालमा आएदेखि फुटबल समर्थकहरुबाट माया र समर्थन पाइरहेका प्रशिक्षक अब्दुल्लाह अल्मुताइरीबारे केही दिनअघि एउटा अनलाइनले आलोचनात्मक समाचार छाप्यो । ‘मेरो खेल डटकम’ मा प्रकाशित समाचारमा भनिएको थियो– प्रशिक्षक अल्मुताइरीद्वारा पत्रकारमाथि दु वहार ।

समाचारमा दावी गरिएअनुसार सोही अनलाइनका दुई पत्रकार बिभा थापा र बिभु श्रेष्ठमाथि अब्दुल्लाहले अपशब्दसमेत प्रयोग गर्दै दुव्र्यवहार गरेका थिए । घटना गत साउन ८ गतेको हो । आज प्रशिक्षक अब्दुल्लाहले एन्फामा दिएको निवेदनमा दुई पत्रकारमाथि छानविन गर्न गरेको माग सोही घटनासँग जोडिएको छ ।

घटनाविवरण अनुसार त्यस दिन एन्फा कम्प्लेक्समा प्रशिक्षण चलिरहेको थियो । त्यसैबीचमा प्रशिक्षक अब्दुल्लाह एन्फा कम्प्लेक्स बाहिर आएर सडकमा धुम्रपान गर्न थाले । बाहिर प्रशिक्षकले चुरोट पिइरहेको सूचना पाएर कम्प्लेक्सभित्र रहेका दुई पत्रकारहरु क्यामरासहित बाहिर आएका थिए ।

मेरो खेलको समाचारमा जनाइएअनुसार विभाले प्रशिक्षकलाई ‘सार्वजनिक स्थलमा धुम्रपान गर्न पाइन्छ ?’ भन्दै प्रश्न गरेकी थिइन् । यसबाट आक्रोशित भएर प्रशिक्षकले अपशब्दसहित अंग्रेजीमा गाली गरेको दावी पत्रकारद्वयले गरेका छन् ।

‘हु दी ब्लडी हेल आर यु टु क्वेस्चन मि’ भन्दै बिभामाथि जाइलाग्ने प्रयास गरेको उनीहरुले बताएका छन् । बिभुले भिडियो बनाउन लाग्दा प्रशिक्षकले क्यामेरा खोस्ने प्रयत्न गरेको र कुस्ती खेल्ने हो ? भन्दै थर्काएको समेत समाचारमा उल्लेख गरिएको छ । यद्यपि, यस विषयमा प्रशिक्षकका तर्फबाट कुनै बयान सार्वजनिक भएको छैन ।

नेपाल खेलकुद पत्रकार मञ्च तथा नेपाल पत्रकार महासंघले त्यस सम्बन्धमा छानविन गरी दोषीलाई कारबाही गर्न एन्फासमक्ष माग गरेका थिए । यो स्क्यान्डल साम्य हुन नपाउँदै गत आइतबार अब्दुल्लाहले एन्फा वरिष्ठ उपाध्यक्ष पंकजविक्रम नेम्बाङमाथि दोषारोपण गर्दै प्रशिक्षक पदबाट राजीनामा दिने घोषणा सामाजिक सञ्जालमार्फत गरे । यद्यपि, उनले अहिलेसम्म लिखित राजीनामा बुझाएका छैनन् । बरु एन्फामा निवेदन दिएर वरिष्ठ उपाध्यक्ष नेम्वाङ र ती दुई पत्रकारमाथि छानविनको माग राखेका छन् ।

एन्फाका प्रवक्ता किरण राईका अनुसार यो विषयमा भोलि (शुक्रबार) बस्ने कार्य समिति बैठकमा छलफल हुनेछ । प्रशिक्षकको राजीनामाबारे पनि सोही वैठकले टुंगो लगाउनेछ । उपाध्यक्ष नेम्बाङले आफू दोषी ठहरिए तुरुन्तै पदबाट राजीनामा दिने बताइसकेका छन् ।

नेपाली राष्ट्रिय फुटबल टोलीका मुख्य प्रशिक्षकका रुपमा करिब पाँच महिनाअघि नियुक्त भएका अल्मुताइरीले त्यसयता फुटबल समर्थकहरुबीच निकै लोकप्रियता कमाइसकेका थिए । यसबीचमा राष्ट्रिय टिम छनोटका क्रममा लिएको बोल्ड निर्णय, एनएसएल च्याम्पियन काठमाडौं रेजर्जका खेलाडी टोलीमा नपर्नु, मैदानमा नेपालको आक्रामक शैलीजस्ता कुराले अब्दुल्लाललाई बारम्बार चर्चामा ल्याइरह्यो ।

स्पष्ट रणनीति, बोल्ड निर्णय र सामाजिक सञ्जालमा सक्रिय अब्दुल्लाहको प्रभाव नेपाली राष्ट्रिय टोलीमा पनि सकारात्मक नै छ । इराकविरुद्धको मैत्रीपूर्ण खेल र विश्वकप तथा एएफसी एसिया कपको संयुक्त छनोट गरी नेपालले उनको नेतृत्वमा चार खेल खेलेको छ । ती चार खेलका लागि ‘मिडिल–इस्ट’ भ्रमणमा जाने नेपाली टोलीमा ६ नयाँ अनुहार समेटेका अब्दुल्लाहले अप्रिलमा दशरथ रंगशालामा थ्री नेसन्स कप जितेका १३ खेलाडी परिवर्तन गरेका थिए ।

सामाजिक सञ्जालमा सक्रिय अब्दुल्लाहले ‘वान् टिम–जय नेपाल’ स्लोगनलाई नेपाली फुटबल जमातमा स्थापित गरेका छन् । समर्थक तथा आममानिससँग पनि अन्तरक्रिया गर्न रुचाउने उनी आफ्नो पोस्टमा आएका कमेन्टमा रिप्लाइ गर्न समेत समय निकाल्छन् । फ्यान ग्रुपमा पसेर पोस्टसमेत गर्छन् ।

अहिले नेपाली राष्ट्रिय टोली साफ च्याम्पियनसिप र एसिया कप छनोटका लागि निरन्तर अभ्यासमा छ । प्रशिक्षकले छाडेर हिँडेको खण्डमा नेपाली टिमको तयारी प्रभावित हुन सक्छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर