२० जना पोजेटिभ भएपछि गाउँ नै ‘सील’ – Nepal Press

२० जना पोजेटिभ भएपछि गाउँ नै ‘सील’

रुपन्देही । पूर्वी पाल्पाको रामपुर ३ बोटेगाउँमा समुदायमा कोरोना परीक्षण गर्दा संक्रमणको धेरै संक्रमित भेटिएपछि गाउँ क्षेत्र नै शील गरिएको छ । गाउँमा ज्वरो आउने र रुघा लाग्ने लक्षण भएका तथा केही बिरामीको निधन भएका घरपरिवारका सदस्यको कोरोना परीक्षण गरिएको थियो ।

बोटेगाउँमा बिहीबार गरिएको ५० जनाको परीक्षणमा २० जनामा पोजेटिभ देखिएको छ भने ३० जनाको रिपोर्ट नेगेटिभ आएको थियो । रामपुर नगरपालिका-३ का वडाअध्यक्ष दिनेशकुमार खनालको अध्यक्षतामा बसेको भेलाले साउन ७ गते राती १२ बजेदेखी साउन १४ गते राती १२ बजेसम्मका लागि गाउँ पूर्णरुपमा सील गर्ने निर्णय गरेको हो ।

गत साउन ४ गते कोरोना पोजेटिभ भएका एकै गाउँका २ जनाको मृत्यु भएपछि स्थानीयको आग्रहमा स्वास्थ्यकर्मी गएर गाउँमा एन्टिजेन परीक्षण गरिएको थियो ।

‘गाउँघरमा कोरोना संक्रमणको लक्षण देखिएका धेरै छन् । कतिपय परीक्षण गर्नै मान्दैनन्,’ वडाध्यक्ष खनालले भने ।

कोरोना पोजेटिभ देखिएका २ जनाको ज्यान गएपछि स्वास्थ्यकर्मीको व्यबस्था गरेर खटाएको रामपुर नगरपालिकाका स्वास्थ्य शाखा प्रमुख गिरिराज घिमिरेले बताए । नगरपालिकाले परिक्षण गर्ने वडा र गाउँमा शंका लागेका बिरामीले अनिवार्य एन्टिजेन गरी सघाउन उनले अनुरोध गरे ।

कोरोना पोजेटिभ देखिएकाहरु अहिले होम आइसोलेसनमा छन् । एक हप्ता शिल गरिएको क्षेत्रमा वडाअध्यक्ष, स्वास्थ्यकर्मीको रोहबरमा समिति निर्माण गरेर शिललाई पूर्ण कार्यान्वयन गराउने स्थानीय खगेश्वर बोटेले जानकारी दिए ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर