काठमाडौंमा दुई दिने ‘विचार उत्सव’ हुँदै, नेपाल-भारतका ८० वक्ताहरु सहभागी हुने – Nepal Press

काठमाडौंमा दुई दिने ‘विचार उत्सव’ हुँदै, नेपाल-भारतका ८० वक्ताहरु सहभागी हुने

काठमाडौं । डिस्कोर्स डबली सुरूवात भएको दश वर्ष पुगेको उपलक्ष्यमा काठमाडौंमा दुई दिने विचार उत्सवको आयोजना हुने भएको छ ।

नेपाल ल क्याम्पस, रत्नराज्य क्याम्पस र विश्वभाषा क्याम्पसमा वैशाख २२ र २३ गते बहसका विभिन्न सत्र सञ्चालन गर्दै विचार उत्सव मनाइने कार्यक्रमका संयोजक तथा नेपाल ल क्याम्पसका स्ववियु सभापति विष्णु ढुंगेलले बताए ।

दुई दिन सञ्चालन हुने विचार उत्सवमा २० वटा सत्रमा नेपाल र भारतका करिब ८० वक्ता सहभागी हुनेछन् । समसामयिक राजनीति, विश्वविद्यालयका समस्या, युवा जनशक्तिको विदेश पलायन, सिनेमा, पर्यावरण, साहित्य, संगीत, कला, शहरी सौन्दर्य लगायत दुई दर्जन विषयमा बहस हुनेछ । कार्यक्रममा राजनीतिज्ञ, लेखक, विश्लेषक, प्राध्यापक, कलाकार, कवि, चलचित्र निर्देशक लगायतले बहस गर्नेछन् ।

कार्यक्रममा लेखक तथा विश्लेषक सिके लालले ’बौद्धिकताको कसीमा नेपाली समाज’ शीर्षकमा मूलप्रवचन दिने छन् । यस्तै, भारतको बदलिँदो राजनीतिबारे दिल्ली विश्वविद्यालयका सह–प्राध्यापक तथा विश्लेषक डा. सरोज गिरीले बहस गर्नेछन् ।

उत्सवमा वैचारिक बहसबाहेक नाटक प्रदर्शनी हुने छ । यस्तै, चित्रकला प्रदर्शनी, कार्टुन प्रदर्शनी र सांगितिक उत्सव पनि आयोजना गरिने ढुंगेलले बताए । डिस्कोर्स डबलीको सुरुवात २०७१ सालमा रत्न राज्य क्याम्पस, ल क्याम्पस लगायतका कलेजमा अध्ययनरत विद्यार्थीहरुको सक्रियतामा थियो ।

यसपछि मासिक रूपमा वहस श्रृंखला यस मञ्चले सञ्चालन गर्दै आएको थियो । दश वर्षमा करिब १०० वटा बहसका कार्यक्रम आयोजना गरिसकिएको डबलीका संस्थापक नरेश रेग्मीले बताए । विश्वविद्यालयमा वैचारिक अध्ययन र बहसलाई प्रोत्सिहत गर्न ’विचार उत्सव’ क्याम्पस परिसरमै गर्न लागिएको संयोजक ढुंगेलले बताए ।

 


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *