सन्तोषीको दुखान्त : बास दिन्छु भन्नेले सास चुँड्यो – Nepal Press

सन्तोषीको दुखान्त : बास दिन्छु भन्नेले सास चुँड्यो

काठमाडौं । गत असार ५ गते दक्षिणकालीको एउटा होटलमा खाना खान बसेकी थिइन् सन्तोषी सुब्बा । त्यही होटलमा भेटिएका एक युवक सुरुमा उनको सहयोगीका रुपमा प्रस्तुत भए । तर, त्यही रात ती युवकले उनको ज्यान लिए ।

सन्तोषी कहिले, कसरी र किन दक्षिणकाली पुगिन् भन्ने खुल्न बाँकी छ । दिउसो तिरको समयमा होटलको एउटा वेञ्चमा बसेर उनी खाजा खाँदै थिइन् । अर्कोतिर कुनामा सुरेश तिमिल्सेना पनि खाजा खाँदै थिए ।

प्रहरीका अनुसार होटलमा खाजा खाइरहेका बेला सन्तोषीले आफूसँग पैसा नभएको भन्दै सहयोग मागेकी थिइन् ।

‘के गर्नु खाजा खाने र खाना खाने पैसा पनि छैन, सबै सकियो । मलाई सहयोग गर्नुपर्‍यो । बस्ने व्यवस्था पनि गरिदिनुपर्यो,’ उनले होटलमा बसेका सबैसँग अपिल गरिन् । युट्युवमा चराचुरुङ्गीको आवाज निकालेर भाइरल भएकी हुँदा उनलाई केही व्यक्तिले चिने ।

अर्को बेञ्चमा बसिरहेका सुरेशलाई औंल्याउँदै एकजनाले भने, ‘उहाँ बैनीलाई समस्या परेको रहेछ । यसो बासको व्यवस्था मिलाइदिनु न ।’

सुरेशले त्यतिबेला खासै प्रतिकृया नदिइ टाउको हल्लाए । पेशाले सहचालक सुरेश कोरोना महामारीका कारण निषेधाज्ञा जारी भएयता गाडी नचलेकाले फुर्सदिला थिए । सहयोग पाउने आशामा सन्तोषी उनीसँग नजिक भइन् । उनीहरु दिनभरी एकसाथ समय गुजारे ।

साँझ परेपछि सन्तोषीले त्यही होटलमा खाना खाइन् भने सुरेशले खाना खानुअघि रक्सी पिउन थाले । उनले करिब ४-५ गिलास रक्सी खाए । त्यसपछि खाना पनि खाए ।

दुवै जनाले खाना खाइसकेपछि सुत्न कहाँ जाने भन्ने विषयमा छलफल भयो । सुरेशले आफ्नो बस खाली रहेकाले त्यहिँ जाउँ भने । होटलबाट अलिकति टाढा रहेको बसतिर उनीहरु हिँडे ।

होटलबाट अलिकति टाढा पुगेपछि सुरेशले सन्तोषीको हात समात्न खोजे । सन्तोषी डराइन् । तर्किन खोजिन् । त्यसपछि सुरेशले उनलाई यौन प्रस्ताव राखे । उनले ठाडै अस्विकार गरिन् । रक्सीले मातेका सुरेशले सन्तोषीलाई जबरजस्ति गर्न खोजे । सन्तोषीले प्रतिकार गरिन् । प्रतिकारका क्रममा सुरेशको हातमा चोट लागेको छ ।

सुरेशले जबरजस्ति गर्न नछाडेपिछ सन्तोषी गुहार माग्दै कराइन् । अनि अरुले थाहा पाउने डरले सन्तोषीकै पछ्यौरी उनको घाँटीमा कसेर आवाज बन्द गराएको सुरेशले प्रहरीमा बयान दिएका छन् । त्यति गर्दा पनि सन्तोषीले प्रतिकार गर्न नछोडेपछि तिमिल्सेनाले अनुहार क्षतिविक्षत हुने गरी ढुंगाले हाले । सन्तोषीको आवाज मात्रै बन्द भएन, प्राणपखेरु नै उड्यो ।

त्यसपछि करिव ४ सय मिटर टाढा रहेको सार्वजनिक शौचालयमा शवलाई फ्याकिदिए ।

हत्या गरिसकेपछि उनलाई त्यहाँ बस्न असहज भयो । अनि बाहिर निस्किएर ट्याक्सी खोजे । एउटा ट्याक्सी भेटिने बित्तिकै आमा बिरामी भएको बहानामा राति नै आफ्नो डेरा रहेको ठाउँ असनमा आए र मोवाइल अफ गरेर बसे ।

प्रहरीले उक्त घटनाको २४ घण्टामा अनुसन्धान गरेर हत्यारा भनिएका तिमिल्सेनालाई पक्राउ गरेको छ । अहिले हिरासतमा रहेका तिमिल्सेनाले अनुसन्धानमा खटिएका प्रहरीसमक्ष आफ्नो अपराध कबुल गरिसकेका महानगरीय अपराध महाशाखाका प्रमुख, प्रहरी बरिष्ठ उपरीक्षक (एसएसपी) चन्द्रकुवेर खापुङले नेपाल प्रेससँग बताए ।

उनका अनुसार प्रहरीले सबै सुचना संकलन गरेपछि उनी नै हत्यारा भएको हुनसक्ने आशंका गरेर उनको खोजी गरेको थियो । सुरेश बसेको कोठामा नै सन्तोषीको मोबाईल फोन पनि फेला परेको महाशाखाका प्रवक्ता समेत रहेका प्रहरी उपरीक्षक (एसपी) कृष्णप्रसाद कोइरालाले नेपाल प्रेसलाई जानकारी दिए ।

उनका अनुसार प्रहरीले अनुसन्धान प्रतिवेदन तयार गरेर सरकारी वकिलको कार्यालयलाई बुझाउने तयारी गरेको छ । सुरेशले हत्या गरेको स्विकार गरे पनि बलात्कार गरे-नगरेको खुलेको छैन । तर हत्या भइसकेकी सन्तोषीको भेजाइनल स्वाव परिक्षणका लागि पठाइसकिएको छ । परिक्षणको रिर्पोट आएपछि उनले हत्या मात्रै गरेका हुन् वा बलात्कारपछि हत्या गरेका हुन् भन्ने खुल्ने जनाइएको छ ।

बलात्कार गरेर हत्या गरे पनि वा हत्या मात्रै गरेको भए पनि उनलाई जन्मकैद हुने प्रहरीले जनाएको छ । तर सरकारी वकिलको कार्यालयले अदालतमा मुद्धा कसरी पेश गर्छ र नमुना परिक्षणको रिपोर्ट के आउँछ त्यसमा भर पर्नेछ । तर उनले क्रुर तरिकाले हत्या गरेको स्विकार गरिसकेकाले पनि उनलाई जन्मकैद हुने प्रहरी अधिकारीको दावी छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर