शीर्ष राजनीतिक नेतृत्वसँग सभामुखको छलफल जारी, को-को गए बैठकमा ? – Nepal Press

शीर्ष राजनीतिक नेतृत्वसँग सभामुखको छलफल जारी, को-को गए बैठकमा ?

काठमाडौं । सभामुख अग्निप्रसाद सापकोटाले बोलाएको पूर्व प्रधानमन्त्री तथा प्रमुख राजनीतिक दलका शीर्ष नेताहरूसँगको बैठक शुरू भएको छ ।

पछिल्लो राजनीतिक परिस्थितिबारे छलफल गर्ने भन्दै सभामुख सापकोटाले छलफलका लागि आमन्त्रण गरेका थिए । नयाँ बानेश्वरस्थित संघीय संसद भवनको ल्होत्से हलमा बैठक चलिरहेको छ ।

बैठकमा नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा, नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड, एमाले नेता माधवकुमार नेपाल, जसपाका उपेन्द्र यादव र बाबुराम भट्टराई, नेमकिपाका प्रेम सुवाल, राप्रपाका दीपक बोहरालगायत सहभागी रहेको सभामुखको सचिवालयले जनाएको छ । झलनाथ खनाल भने भर्चुअल रूपमा सहभागी भएका छन् ।

प्रतिनिधिसभा विघटनपछि सभामुख सापकोटाले पूर्व सभामुख र कानून व्यवसायीहरुसँग छुट्टाछुट्टै छलफल गरेका थिए । आजको छलफललाई राजनीतिक रूपमा महत्त्वका साथ हेरिएको छ ।

यद्यपि सत्तारूढ नेकपा एमालेले सभामुखको अग्रसरतालाई अनावश्यक भनिसकेको छ । प्रधानमन्त्री ओलीलाई आमन्त्रण गरिएको भनिए पनि बैठकबारे थाहा नभएको उनको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर